आगामी वर्ष तीन ठाउँमा सुरुङमार्ग सुरु हुने
आइतबार, जेठ २३, २०७८ मा प्रकाशित

सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर–लाप्चे, धरान–लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका थिए। यी तीनवटामध्ये सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ आगामी आर्थिक वर्षमा तीनवटा सुरुङमार्ग निर्माण कार्यले गति लिने बताउँछन्।

‘नागढुंगा सुरुङमार्गको निर्माणको काम सुरुआत भइसक्यो,’ मन्त्री नेम्बाङले भने, ‘आगामी असार मसान्तसम्म तीनवटै सुरुङमार्गको आवश्यक कार्ययोजना निर्माण गरेर सुरुङको निर्माण प्रक्रिया अघि बढ्नेछ।’ लामाबगर–लाप्चे र धरान–लेउतीको तुलनामा सिद्धबाबा सुरुङमार्गको निर्माण प्रक्रिया धेरै अगाडि बढिसकेको छ। सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले गत जेठ ९ गते ग्लोबल टेन्डर आह्वान गरिसकेको छ।

सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि आर्थिक स्रोत सुनिश्चित भइसकेको छ। गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन (इपिसी) मोडलमा निर्माण गर्ने गरी टेन्डर आह्वान गरिसकेको छ। अर्थ मन्त्रालयले गत वर्ष नै यो सुरुङमार्ग निर्माणको लागि आर्थिक स्रोत सुनिश्चित गरिसकेको छ। केन्द्रका निर्देशक विजय जैसीले पाँच वर्षभित्रै सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको बताए। ‘सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ,’ उनले भने, ‘लामाबगर–लाप्चे र धरान–लेउतीको काम पनि आगामी आवभित्रै अघि बढ्ने छ।’

सिद्धबाबा सुरुङमार्गको एउटा मुख बुटबल–तानसेन खण्ड अन्तर्गतको सिद्धबाबा मन्दिरको उत्तरतर्फ चिडियाखोलाको छेउमै रहनेछ। अर्काे मुख दोभाननजिकै रहनेछ। यो सुरुङमार्गको लम्बाइ १.१२६ किलोमिटर हुनेछ। सुरुङमार्ग दुई लेन (साढे सात मिटर चौडा) को हुनेछ। ठेकेदार कम्पनीले सुरुङमार्गसँगै ७ सय ८० मिटर क्षेत्रको सडकमा रकसेटको संरचना तयार पार्नु पर्नेछ। अहिलेको सडकलाई दुई लेनमा विस्तार गरिनेछ। केन्द्रका निर्देशक जैसीले यो खण्डमा सुरुङमार्ग मात्रै नभएर दुई लेनको सडक समेत विस्तार गरिने बताए। ‘पहिरोको जोखिम भएको एरियामा रकसेटको साथै सम्भावित पहिरो खस्ने ठाउँलाई समेत सुरक्षित गरिनेछ,’ उनले भने।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७७ मंसिर १ गते मन्त्रीस्तरीय निर्णय गरेर सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि १० अर्ब १५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेका थिए।

सडक विभागका अनुसार उत्तर–दक्षिण जोड्ने लामाबगर–लाप्चे सुरुङमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ। हाइड्रो टनेलिङ एन्ड रिसर्च कम्पनीले करिब आधा वर्ष लगाएर यो सुरुङमार्गको अध्ययन प्रतिवेदन तयार पारेको हो। यो सुरुङमार्गले लामाबगर र लाप्चेलाई जोड्नेछ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरुङमार्गलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ। बजेटमा प्राथमिकता दिइए पनि कार्यान्वयनमा भने चासो नदिने परिपाटी छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा टोखा–छहरे, बेत्रावती–स्याफ्रुबेसी, खुर्कोट–चियाबारी र थानकोट–चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य सुरु गर्ने घोषणा गरेको छ। सरकारले आगामी आवमा एक दर्जनभन्दा धेरै सुरुङमार्गको अध्ययन प्रतिवेदन बनाउन एक अर्ब ९९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा पृथ्वी राजमार्गको मझिमटार–शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गको हेम्जा–नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ–वाङसिङ, पूर्व–पश्चिम राजमार्गको दुम्कीबास–बर्दघाट, कोहलपुर–सुर्खेत राजमार्गको बबई–छिन्चु, सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट, पाल्पा–तम्घास सडकको प्रभास–जोर्ते र बिपीनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने घोषणा गरेको छ। सरकारले काठमाडौं, कोटेश्वरको सवारी चापलाई व्यवस्थित गर्न तीनकुने–जडीबुटी खण्डमा सुरुङमार्ग निर्माण गर्न एक अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेको छ।साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय