इंग्ल्याण्ड लकडाउन मुक्त हुँदै, संक्रमणदर दैनिक ५० हजारसम्म पुग्ने
मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित

लन्डन , असार २२। लामो समयदेखि लकडाउनको पीडा भोगिरहेका इंग्ल्याण्डवासीहरु अन्ततः लकडाउन मुक्त हुने भएका छन् । गत महिना नै लकडाउन अन्त गर्ने सरकारी रोडम्याप तय भएपनि ‘डेल्टा भेरियन्ट’ को संक्रमण तीव्र रुपमा बढेपछि थप चार हप्ताको लागि पछि धकेलिएको थियो ।

तर, संक्रमण दर निरन्तर बढ्दै गएपछि लकडाउन पुनः लम्बिन सक्ने अनुमान धेरैले गर्दै आएका थिए ।

तर,बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार अपरान्ह प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा १९ जुलाईदेखि इंग्ल्याण्डमा लागू कोभिड सम्बन्धि बाँकी प्रतिवन्ध हटाइने जानकारी दिएसँगै इंग्ल्याण्डमा जारी लकडाउनको अन्त हुने पक्का भएको हो ।

तर, विपक्षी लेबर पार्टीका नेता सर कियर स्टामरले भने सबै प्रतिबन्धहरु  एकैचोटी हटाउने सरकारको निर्णयको  विरोध गरेका छन् ।

हाल जारी प्रतिबन्धहरु अनिवार्य मास्क लगाउनुपर्ने, एक मिटर प्लस दुरी राख्नुपर्ने र रेष्टुरेन्टमा क्यू आर कोड साइन गर्नुपर्ने जस्ता  नियमहरु हटाइने जोन्सनले बताए ।

यद्यपि,  यसबारेमा आउँदो साता १२ जुलाईको दिन पछिल्लो तथ्यांकको आधारमा समिक्षा गरिने बताइएको छ । सरकारको पूर्व निर्धारित ‘रोडम्याप’ अन्तर्गत चौंथो तथा अन्तिम चरणमा ६ जना भन्दा बढी जमघट गर्न नपाइने हालको नियम, पब र रेष्टुरेन्टमा टेबल सर्भिस, थिएटर र सिनेमा हलमा सिमित दर्शकको नियम पनि १९ जुलाईदेखि हट्नेछ ।

साथै, हालसम्म बन्द नाइट क्लब खुल्नेछन् भने घरैबाट काम गर्ने निर्देशिका पनि १६ महिनापछि  हटाइने भएको छ । विवाह, अन्त्येष्टी र अन्य इभेन्टमा जति पनि सहभागी हुन पाउनेछन् । स्कुल बबल, ट्राभल र सेल्फ आइसोलेसन बारे छिट्टै अपडेट गरिने प्रधानमन्त्री जोन्सनले जनाए ।

लकडाउन हटाउने मितिसम्म बेलायतमा दैनिक संक्रमण दर दैनिक ५० हजार सम्म पुग्नसक्ने चेतावनी दिंदै प्रधानमन्त्रीले भने ‘ संक्रमण दर बढे पनि खोपका कारण मृत्युदर र अस्पताल भर्ना हुनेको संख्यामा कमि आएको छ’ ।

खोपकै कारण जनजीवन सामान्य बनाउन सम्भव भएको बताउँदै कोरोनासँगको लडाई अझै जारी रहेको प्रधानमन्त्रीले बताए । खोप वितरण कार्यलाई तीव्रता दिंदै आगामी सेप्टेम्बर सम्ममा १८ वर्ष माथिका सबैलाई खोप लगाइसक्ने सरकारको लक्ष्य रहेको छ ।

गत डिसेम्बर पहिलो साताबाट खोप वितरण शुरु भएयता बेलायतमा ७ करोड ९० लाख ७८ हजार भन्दा बढी डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५३ लाख ५१ हजार ७१९ जनाले पहिलो र तीन करोड ३७ लाख २६ हजार ३६२ जनाले दोस्रो डोज लगाएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २७  हजार ३३४ नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्या एक सातामा २१ प्रतिशतले वृद्धि भएको हो । तर, मृतक संख्यामा भने खासै वृद्धि भएको छैन  पछिल्लो २४ घन्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ  ।  बेलायतमा हालसम्म एक लाख २८ हजार २३१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय