कोभिडपछि सहयोगीको खोजीमा बर्दिया पर्यटन
सोमबार, असोज ११, २०७८ मा प्रकाशित

प्रेम विश्वकर्मा

बर्दिया, असोज ११

बाघ, गैडा, हात्ति, कृष्णसार, ग्रामिण होमस्टे, ताल सहित विभिन्न पर्यटकिय स्थलका रुपमा चिनिएको बर्दिया कोभिड पछि अप्ठेरो परिस्थितीमा पुगेको छ । लगातार फस्टाउँदै गएको पर्यटन ब्यवसायमा एक्कासी कोभिडको संकट आइलागेपछि डोनर बेसको कन्जरवेस फन्ड पनि घटेको छ ।

लुम्बिनी प्रदेश अन्र्तगत पर्ने बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ डल्ला होमस्टेमा कोभिड अघि निकै चहल पहल हुने गर्थ्यो । यहाँका २० घरले पालै–पालो आन्तुक पाहुँनालाई स्वागत, सत्कार गर्न पाउँथे । तर कोभिड–१९ को विश्वब्यापी महामारी शुरु भएयता कतिले पाहुँना नै भेट्टाउन सकेका छैनन् ।

डल्ला होमस्टेका अध्यक्ष समेत रहेका मधुवन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पर्शुराम चौधरी भन्छन, ‘कोभिडले पर्यटन ब्यवसाय चुरलुम्मै डुबायो, सबै जिरोमा पुग्यो । बैंकको ऋण लिई ब्यवासाय शुरु गरेकाहरु ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका छन ।’

चौधरीका अनुसार वडामा कोभिडबाट दुई जनाले ज्यान गुमाए । त्यसपछि झन पर्यटकहरुको आउजाउ नै बन्द भयो । ग्रामिण पर्यटन ब्यवासाय र आगन्तुक आन्तरिक तथा बाह्य पर्यटकहरुको स्वास्थ्य सुरक्षालाई ध्यान दिई वडाले पर्यटन ब्यवासायिलाई ३ दिने तालिम दिएको वडा अध्यक्ष चौधरीले बताए । उनले भने, ‘हामीले तालिम सगैं स्वास्थ्य सुरक्षा सामाग्री पनि वितरण गर्यौं, यति के पुग्छ र, पर्यटन ब्यवसायिलाई अझै प्राविधिक सहयोगको आवाश्यकता छ ।’

बारबर्दिया नगरपालिका अन्र्तगत पर्ने पर्यटकिय स्थल सत्खलुवा सिमसार क्षेत्र छेउमा रहेको होमस्टे खरैनीमा पनि १७ वटा जति होमस्टे संञ्चालनमा थिए । तर अहिले कोभिडले गर्दा धेरै होमस्टे बन्द गर्नुपर्ने अवस्थामा पुगेको स्थानीय बासुदेव चौधरीले बताए ।

ग्रामिण होमस्टे, स्थानीय उत्पादनको खपत सगैं प्रत्यक्ष रोजगारी सँग पनि जोडिएकाले बन्द हुने अवस्थामा पुगेका होमस्टे, र बर्दियाको पर्यटन ब्यवासायमा अहिले सहयोगको आवाश्यकता रहेको बासुदेवले बताए ।

बर्दियाको प्रमुख पर्यटकिय स्थल बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र पनि कोभिडको महामारी यता ठप्प छ । यहाँ पुग्ने पर्यटकहरुको संख्या ह्वातै घटेको छ । विगतका बर्षहरुको तुलनामा अहिले पर्यटकिय गतिविधिहरु संञ्चालन गर्न नसकिएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी असिम थापाले बताए ।

उनले भने, ‘डोनर बेसको कन्जरवेश फन्ड पनि घट्यो । पर्यटकिय गतिविधि कम हुँदा राजस्व पनि आधा मात्र उठ्न सकेको छ । मनसुन सकिए लग्तै केही पर्यटकिय गतिविधि संञ्चालन गर्न सकिन्छ की भनेर छलफल भईरहेको छ ।’

कोभिड शुरुभए यता खास गरी निकुञ्जसँग जोडिएका स्थानीय सरकारले जनचेतना फैलाउन, स्थानीय उत्पादन बढाउन, मानव बन्यजन्तु बीचको द्धन्द्ध न्युनिकरण गरी आन्तरिक र बाह्य पर्यटकको ध्यानाकर्षण गर्न मद्दत गरिरहेको सूचना अधिकारी थापाले बताए ।

स्थानीय सरकारको लगानी

बर्दियाका ८ वटै पालिकाहरु पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण मानिन्छन । तर बढी चर्चामा आइरहने ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिका नै हुन ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घन नारायण श्रेष्ठले आफनो नगरपालिका जिल्लाकै प्रमुख पर्यटकिय स्थलसँग जोडिएकाले यहाँको पर्यटन ब्यवसायलाई डुब्न नदिने तर्क गरे । उनले भने, ‘कोभिड अघि पनि हामीले गरेका हौं, कोभिड पछि पनि यहाँको पर्यटन ब्यवासायलाई उकास्न बृहत प्रवद्र्धन र्याली आयोजना गर्ने योजनामा छौं ।’

ग्रामिण होमस्टे सगैं साना ठुला गरी करिब ३० वटा होटल कोभिडकै कारण राम्ररी संञ्चालन हुन नसकेको बताउदै नगरप्रमुख श्रेष्ठले सहकारी मार्फत ब्यवसायिक प्रवद्र्धनका लागी कर्जा उपलब्ध गराउने सम्बन्धमा छलफल चलिरहेको बताए ।

साथै उनले पर्यटकिय स्थल सम्म पुग्नका लागी जिर्णा अवस्थामा रहेका सडक बनाउने लगायतका पर्यटन सँग सम्बन्धित कार्यका लागी करिब २० लाखको हाराहारी बजेट ब्यवस्था स्थानीय सरकारले गरेको जानकारी दिए ।

यस्तै जैविक मार्ग निर्माण तथा सांस्कृतिक डबली निर्माणका लागी संघ र प्रदेशसँग समन्वय गरिरहेको नगरप्रमुख श्रेष्ठ बताए ।

यता मधुवन नगरपालिकाले कोभिड पछिको पर्यटनकै लागी भनेर निश्चित बजेट, नीति तथा कार्यक्रम नतोकेता पनि नियमित कार्यक्रम सरह नै पर्यटकिय पूर्वाधारण निर्माणका लागी करिब १ करोड रुपैंया भन्दा बढी बजेट सुनिश्चित गरिएको जनाएको छ ।

मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले कुम्राघाटमा पार्क निर्माणका लागी संघबाट ७० लाख रुपैंया बजेट बिनियोजन भई डीपीआरको काम सकिएको बताए ।

यस्तै स्थानीय सरकारको पहलमा कोठियाघाट छेउमा धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने, जैविक पार्क निर्माण तथा ग्रामिण होमस्टे डल्ला जोड्ने स्थानीय बाटोको स्तरउन्नती गर्ने लगायतको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिए ।

बर्दियाको बाँसगढी नगरपालिका अन्र्तगत पर्ने पर्यटकिय स्थलका रुपमा स्थापित बबई भ्याली, ऊँ केदारेश्वर धाम सहित निर्माणधिन अवस्थामा रहेका अन्य पर्यटकिय क्षेत्रका लागी ६० लाख रुपैंयाभन्दा बढी बजेट चालु आर्थिक बर्षमा ब्यवस्था गरिएको नगरप्रमुख सालिकराम अधिकारीले बताए ।

उनले भने, ‘हाम्रो नियमित बजेट, कार्यक्रम छ । पर्यटकिय पूर्वाधार निर्माणधिन अवस्थामै छन । कोभिडले बाँसगढी नगरपालिका क्षेत्रको पर्यटनमा असरै परेको छ, भन्ने छैन ।’

दुर्लव जनवार कृष्णसारको प्राकृतिक अवस्थामै बासस्थान समेत रहेको क्षेत्र गुलरिया नगरपालिकाले पर्यटन प्रर्वद्धन, पर्यटकिय गन्तब्य पहिल्याउनका लागी बार्षिक नीति त बनाईएको छ । तर पर्यटन क्षेत्रकै लागी भनेर निश्चित बजेट, कार्यक्रम नछुट्टाईएको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय