कोरोना खोपमा स्थानीय तहका स्वास्थ्य शाखाको मनपरी
शनिबार, जेठ २९, २०७८ मा प्रकाशित

तोकिएको लक्षित उमेर समुहका व्यक्ति नै खोपबाट बञ्चित

राम प्रसाद चौहान

बर्दिया, जेठ २९ / गुलरिया नगरपालिका स्वास्थ्य शाखाको नेतृत्वमा लगाईएको कोभिड विरुद्धको खोपमा चरम दुरुपयोग भएको स्रोतले दाबी गरेको छ । लक्षित समुहको नाममा आएको खोपमा मनपरी लगाईएको पाईएको हो । गुलरिया नगरपालिका स्वास्थ्य शाखाले वडा मार्फत लक्षित समुहलाई प्राथामिकता साथ लगाउन पर्ने भ्याक्सिन दुरुपयोग गरेको चौतर्फी आलोचना भईरहेको छ । कोभिड महामारीबाट बच्न सरकारले लक्षित उमेर समुहलाई दिएको भ्याक्सिन लक्षित समुह नै यसबाट बञ्चित भएको गुनासो गरेका छन् ।

गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले ६२ वर्ष नाघेका १ हजार २८ जनालाई कोरोना संक्रमण विरुद्धमा भ्याक्सिन गुलरिया नगरपालिकालाई उपलब्ध भएको बताए । तर, नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको भ्याक्सिन चरम दुरुपयोग भएको स्थानीयको आरोप छ ।

खोप लगाउनका लागि भ्याक्सिन प्राप्त भएपनि लक्षित समुह उपस्थित नभएको गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेले बताए । ‘हामीले घर घरै गएर बोलाउने फुर्सद भएन,’उनले भने,‘जो आए तिनले लगाए, नआएका ठाउँमा अरुले लगाए ।’

मुस्लिम र मधेसी सामुदायबाट खोप लगाउन लक्षित बर्ग नआएको पाण्डेको भनाई छ । गुलरिया नगरपालिकाको स्वास्थ्य शाखाले सामाजिक संजाल फेसबुकमा प्रकाशित सुचनामा १० बजेदेखि ४ बजेसम्म समय तोकिएको छ । तर सामुदायबाट व्यक्तिहरु ३ बजेसम्म खोप लगाउन नआएपछि हामीले अन्य व्यक्तिलाई खोप लगाएको पाण्डेले स्वीकारे । पाण्डे गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख हुन् । उनी कोरोना कहरमा सम्पर्क बिहिन भएकाले संक्रमित स्वास्थ्य सेवा परामर्शबाट समेत बञ्चित रहेकाले पाण्डेसँग गुलरिया वासी रुष्ट देखिएका छन् । ‘पाण्डे सर कोरोना कहरमा सम्पर्क बिहिन हुनु भयो, अहिले पाण्डे सरको नेतृत्वमा लगाईएको भ्याक्सिनको समेत चरम दुरुपयोग भयो,’एक स्थानीयले भने ।

लक्षित समुह बाहेकका सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, बैंकका कर्मचारी र स्थानीयलाई खोप लगाएको पाण्डेले दाबी गरे । तर, जनप्रतिनिधि, बैकका कर्मचारी र कर्मचारीले यसअघिको भारतीय कोभिड शिल भ्याक्सिन लगाई सकेका छन् । लक्षित समुदाय, बर्ग वा जेष्ठ नागरिकलाई आएको भ्याक्सिन दुरुपयोग गर्नेलाई कारबाहीको लागी स्थानीय तह सरकारसँग स्थानीयले माग गरेका छन् । अधिकांश स्थानीय तहमा स्वास्थ्य कार्यालय मार्फत लगाईएको भ्याक्सिन २५ प्रतिशत लक्षित बर्गमा पुगेको दाबी गर्छन् । जनताको लागि आएको खोप बचाए कहाँ हुन्छ, त्यसैले लक्षित उमेर समुह बाहेकका व्यक्तिलाई खोप लगाएको पाण्डेको दाबी छ । जिल्लाका अधिकांश स्थानीय तहमा यस्तै गरी भ्याक्सिन लगाएकोमा पालिका प्रति स्थानीय रुष्ट छन् ।

 

तोकिएको लक्षित समुहका नगरवासीलाई खोप लगाउन स्वास्थ्य शाखाले सामाजिक फेसबुक मार्फत खोप लगाउन अनुरोध गर्दा ईन्टरनेटको पहुँचमा नरहेका व्यक्ति छुटेको उनीहरु बताउँछन् । तोकिएको लक्षित समुह ६२, ६३ र ६४ वर्ष पुरा भएका उमेर समुहलाई खोपको पहिलो मात्र लगाउने सामाजिक संजालमा प्रकाशित भएको सुचनामा उल्लेख भएपनि व्यवहारमा लुकाई छिपाई भ्याक्सिन लगाईएको पाईएको हो । लक्षित उमेर समुहका एक व्यक्तिले भने,‘हामीलाई खोप लगाउने कुनै पनि जानकारी नभएकोले खोप लगाउन छुटेका हौ ।‘

गुलरिया नगरपालिकाका वडा नम्बर १,२ र ३ वडाको खैरापुर स्वास्थ्य चौकीमा खोप लगाए भने ४ र ५ सोहेलवा स्वास्थ्यचौकीमा, ६ र ७ गुलरिया मदरसामा, ८, ९ र १० मथुराहरद्वार स्वास्थ्य चौकीमा र ११ र १२ महम्मदपुर स्वास्थ्य चौकीमा खोप लगाएको स्वाथ्य शाखाले जनाएको छ । फरक समाचारका संवाददाताले खोप लगाईएको बारेमा विस्तृत जानकारी लिन पटक पटक फोन गर्दा स्वास्थ्य शाखाका प्रमुख पाण्डेको फोन उठेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय