असोज ११ / सोमबार बिहान काठ" />
जब विराटनगर उडेका ७३ यात्रु दुई घण्टापछि काठमाडौं ओर्लिए…
सोमबार, असोज ११, २०७८ मा प्रकाशित

काठमाडौं, असोज ११ / सोमबार बिहान काठमाडौंको आकाशमा एउटा सनसनीपूर्ण खबर फैलियो । नेपाल एयरलाइन्सका एकजना क्याप्टेनले फोन गरेर भने, ‘त्रिभुवन विमानस्थलको आकाशमा बुद्ध एयरको एउटा जहाज घुमिरहेको छ । दायाँ तर्फको पाङ्ग्रा बाहिर निस्कन नसकेका कारण रनवेमा अवतरण हुन नसकी विमानले आकाशमै फन्को लगाइरहेको हामीले तलबाट हेरिरहेका छौं ।’

विमानको पाङ्ग्रा नै ननिस्किएपछि अब कसरी अवतरण गर्ने ? विमानस्थलमा हल्लीखल्ली मच्चिइसकेको थियो । कसरी फोर्स ल्यान्डिङ गराउने होला भन्ने चिन्ता एकाएक बढेको थियो । विमानस्थलमा दमकल र एम्बुलेन्स तैनाथ गर्न थालिएको थियो ।

बुद्ध एयरको एनआई कल साइनको उडान नम्बर–७०१ को विमानमा सवार ७३ यात्रुमध्ये २ जना बालबालिका र ३ जना नवजात शिशु थिए । ४ जना क्रु मेम्बर जहाजमा सवार थिए । यात्रुहरु यस अर्थमा चिन्तित थिए कि सो विमान पाङ्ग्रामा समस्या भएकै कारण विराटनगरमा अवतरण हुन नसकेर काठमाडौं फर्किएको थियो ।

ल्यान्डिङ गियरमा संकेत नदेखेपछि विमानका क्याप्टेन एजी शेर्पाले विमान काठमाडौं फर्काउने निधो गरेका थिए । विराटनगर विमानस्थलमा फोर्स ल्याण्डिङका लागि आवश्यक तयारी नभएको हुनाले विमान काठमाडौं फर्काइएको थियो । विमान बिहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको थियो । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि विमान काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयको भनाइ छ ।

ल्यान्डिङ गियर भित्र–बाहिर नगरेका कारण विमान विराटनगरमा अवतरण हुन नसकी काठमाडौं फर्किएको सो विमान काठमाडौंको आकाशमा आधा घण्टा होल्ड भयो । र, पाङ्ग्रा निस्केको पुष्टि भएपछि सफलतापूर्वक अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख प्रतापबावु तिवारीले बताए ।

काठमाडौं विमानस्थलमा फ्युल बर्न गराएर फोम ओछ्याएर फोर्स ल्याण्डिङको तयारी गरिएको थियो । दमकल र फायर फाइटर तयारी अवस्थामा थिए । एम्बुलेन्स पनि तयारी हालतमा राखिएको थियो । तर, चक्का खुलेपछि विमान सामान्य तरिकाले १० बजेर ३७ मिनेटमा ल्याण्ड गरिएको छ ।

आकाशमा तनावपूर्ण २ घण्टा ५ मिनेट फन्को मारेपछि विमान अवतरण गरिएको हो । यात्रुहरुलाई काउन्सिलिङ गरेर गन्तव्यमा पठाइएको विमानस्थल प्रशासनले जानकारी दिएको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय