टोकियो ओलम्पिक : नेपाली खेलाडी खेल्ने सम्पूर्ण विवरण
बुधबार, साउन ०६, २०७८ मा प्रकाशित

काठमाडौं,साउन ६ / विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक आगामी शुक्रबारदेखि जापानमा आयोजना हुदैछ । टोकियो ओलम्पिक २०२० का लागि विश्वभरका खेलाडी तथा अफिसियलहरु जापानमा भेला हुने क्रममा रहेका छन् ।

८ अगस्टसम्म सञ्चालन हुने टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुनेछ । त्यसअघि २१ जुलाईदेखि फुटबल लगायतका सामूहिक खेलहरु शुरु भइसक्नेछन् । नेपालबाट यसपटम टोकियो ओलम्पिकमा ४ खेलबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । युनिभर्सियालिटी प्लेस अन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।

वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छानिएका हुन् । पौडी, सुटिङ र जुडोका खेलाडीहरु जापान पुगिसकेका छन् । एथ्लेटिक्स टोली २४ जुलाईमा जापान प्रस्थान गर्नेछन् ।

टोकियो ओलम्पिक २०२० को उद्घाटन भएको भोलिपल्ट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले नेपालको चुनौती पेश गर्नेछन् । सोनियाले महिला ४८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । उनको तौल समूहको खेल दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ । पहिलो चरण पारे गरे लगातार खेलको अन्य चरण त्यसै दिन हुनेछ ।

यस्तै सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल विहान ११:१५ बजेदेखि सुरु हुनेछ । छनोट चरण पार गरे अन्तिम चरण साँझ नै हुनेछ । ओलम्पिकमा नेपाली टोलीको लक्ष्य पदक भन्दा पनि आफ्नो प्रदर्शन सुधार गर्नु नै हुनेछ ।

२७ जुलाईमा नेपाली पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । यस इभेन्ट रातको १०:१५ बजेपछि सुरु हुनेछ । हिट चरण पार गर्न सकेमा २८ जुलाईमा अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरणमा २९ जुनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

२८ जुलाईमा जलपरी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् । उनको हिट चरण रातको १०:१५ बजेपछि सुरु हुनेछ । हिट चरणपछि २९ र ३० जुलाईमा यस इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । यस इभेन्टमा गौरिकाको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।

३० जुलाईमा एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । खेल दिनको ३ बजेपछि सुरु हुनेछ । यो टोकियो आलेम्पिकका नेपालको लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । सुरुवाटमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने भनिएपनि अन्तिम समयमा सरस्वती चौधरीले १ सय मिटर दौडमा खेल्ने अवसर पाएकी हुन् । हिट चरण पार गरे जुलाई ३१ मा यस इभेन्टको सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुनेछ ।

गौरिका सिंह दोस्रोपटक तथा एलेक्स, सरस्वती, कल्पना र सोनियाले पहिलोपटक ओलम्पिकको अवसर बटुल्नेछन् । गौरिका रियो ओलम्पिक २०१६ मा सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् । यसपटक नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसहित २४ जनाको टोली जापान पुग्नेछन् ।

नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तथा नेपाल ह्यान्डबलका अध्यक्ष तेज गुरुङ र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव उपाध्यक्षले अन्तिम समयमा जापान नजाने निर्णय गरेका छन् । सेभ दि मिसनको रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल रहेका छन् ।हाम्रोखेलकुदबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय