पुलमुनि कसरी फस्यो एयर इण्डियाको जहाज ?
बुधबार, असोज २०, २०७८ मा प्रकाशित

काठमाडौं, असोज २० / तपाईंले हवाईजहाज आकाशमा उडेको र रनवेमा गुडेको त देख्नु भएको छ तर कुनै पुलमुनि फसेको त पक्कै देख्नु भएको छैन होला । तर,भारतको राजधानी नयाँदिल्लीमा एउटा जहाज पुलमुनि फसेको भिडियो भाइरल भएको छ ।

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको जहाज दिल्ली-गुरगाउँ राजमार्गको एक ओभर हेड ब्रिज (आकाशे पुल) मुनि अड्किएको हो ।

यो स्क्रेप्ड अर्थात् कवाड भइसकेको जहाज हो र एयर इण्डियासँग यसकोसम्बन्ध अब छैन । बिक्री भइसकेको यो जहाजलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतै लैजाने क्रममा आकाशे पुलमुनि फसेको हो । भारतका एक पत्रकार अशोक राजले ट्वीटरमा सार्वजनिक गरेको भिडियोमा सो जहाजका पंखा देखिंदैन । त्यसको नजिकबाट गाडीहरु ओहोरदोहोर गरिरहेका देखिन्छन् ।

यो भिडियो ट्वीटर र युट्युबमा हजारौंले हेरेका छन् । भिडियो हेर्नेहरुले विभिन्न प्रतिक्रिया पनि पोष्ट गरेका छन् । कतिपयले यो जहाज कसरी फस्यो भनेर जिज्ञासा राखेका छन् भने केहीले विमान लैजानुभन्दा अगाडि त्यसको रुट राम्रोसँग जाँच्नुपर्थ्यो भनेका छन् ।

कतिपयले भने यो घटनालाई पश्चिम बंगालमा सन् २०१९ को घटनासँग तुलना पनि गरेका छन् । त्यतिबेला पनि एउटा कवाडी जहाज पुल मुनि फसेको थियो ।

अर्का एक ट्विटर प्रयोगकर्ताले जहाज लरीमा लोड गरेर लैजाँदै गरेको भिडियो पोष्ट गर्दै यो घटना ३ अक्टोबरको भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय