पेनाल्टी नभएको भए खेलको नतिजा फरक हुन्थ्यो : प्रशिक्षक अलमुताइरी
मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित

२५ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले जोर्डन विरुद्ध पेनाल्टी नभएको भए खेलको नतिजा फरक हुन सक्ने प्रतिक्रिया दिएका छन् ।

फिफा विश्वकप र एएफसी एसियन कपक छनोट अन्तर्गत जोर्डन विरुद्ध सोमबार ३-० ले पराजित भएपछि प्रशिक्षक अलमुताइरीले पेनाल्टीपछि खेल परिवर्तन भएको प्रतिक्रिया दिएका हुन् । ‘हामीले राम्रो खेल्यौँ । पहिलो हाफमा एउटै गल्ती भनेको पेनाल्टी दिनुभयो । सायद त्यो पेनाल्टी नभएको खेल खेलको नतिजा फरक हुन सक्थ्यो ।’ खेलपछि अलमुताइरीले पोष्ट म्याच कन्फ्रेन्समा भने । त्यसपछि जोर्डनले धेरै आराम पाएर खेल्यो र गोल थपे ।’

उनले हारपछि खेलाडीलाई दोष नदिन र धैर्य गर्न फेरी भने । ‘खेलाडीलाई दोष नदिनुस् । उनीहरु भर्खर रियल फुटबल खेल्दैछन् । हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका हौँ ।’ उनले भने । ‘आगामी खेलमा सुधारिएको प्रदर्शनको आशा छ ।’

अलमुताइरीले अब अष्ट्रेलिया विरुद्ध हुने खेलमा ब्यालेन्स्ड फुटबल खेल्ने बताए । यसअघि जोर्डनको घरेलु मैदान अम्मानमा २०१९ मा भएको खेलमा नेपाल ३-० ले नै पराजित भएको थियो ।

जोर्डनका प्रशिक्षक भिटाल बोर्केन्मान्सले आफ्नो टोलीले कडा मिहिनेत गरेर खेलेको र अझै धेरै गोल हुनुपर्ने बताए । ‘हामीले अझै धेरै गोल गर्नुपर्ने थियो । खेलाडीले मैदानमा कडा मिहिनेत गरेका थिए । अझै ३ गोल गर्नुपर्ने थियो ।’ यस्तै भिटालले जितबाट सन्तुष्ट रहेको बताए । ‘३ अंक हाम्रो लागि महत्वपूर्ण हो । अब कुवेत विरुद्धको खेलको लागि हेरिरहेका छौँ ।’

जोर्डन जितपछि ६ खेलबाट १३ अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ र विश्वकपको तेस्रो चरणको छनोटमा पुग्ने र एसिया कपमा सिधै छनोट हुने सम्भावना कायमै राखेको छ । जोर्डनले अब बाँकी दुई मध्ये एक खेल जितेमा पनि एसिया कपमा सिधै छनोट हुने सम्भावना छ । त्यसका लागि ८ समूहमा दोस्रो हुने मध्ये उत्कृष्ट चारमा पर्नुपर्नेछ ।

जोर्डनले अब कुवेत र अष्ट्रेलियासंग खेल्न बाँकी छ । नेपालले भने अष्ट्रेलियासंग मात्र खेल्न बाँकी छ । नेपाल भने हारपछि ७ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ ।साभार अनलाईन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय