भैरहवासँगको अन्तिम खेल रद्द भएपछि काठमाडौं प्लेअफमा, ललितपुर बाहिरियो
मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित

काठमाडौं, असोज १९ / बजाज एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत मंगलबार काठमाडौं किंग्स-११ र भैरहवा ग्लाडिएटर्सबीच तय भएको अन्तिम लिग खेल रद्ध भएको छ ।

खेल हुन नसकेपछि भैरहवासँग अंक बाँड्दै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं प्लेअफ पुगेको छ । उता साविक विजेता ललितपुर प्याट्रिओट्स भने काठमाडौं समान अंक रहे पनि नेट रनरेटमा पछि पर्दै लिग चरणबाटै बाहिरिएको छ ।

काठमाडौं र भैरहवाबीच मंगलबार ९ : ३० बजे खेल सुरु हुने तालिका थियो । तर सोमबार परेको भारी वर्षाका कारण टीयू मैदानको आउटफिल्ड भिजेर गिलो भएकोले खेल खेल्न लायक नभएपछि खेल रद्ध भएको हो ।

खेल नभएपछि काठमाडौं र भैरहवाले १-१ अंक बाँडे । पाँच खेलबाट तीन अंक जोडेको काठमाडौं चौथो स्थानमा रहेर प्लेअफ पुगेको हो । भैरहवालाई भने खेल नहादा घाटा लाग्यो । भैरहवा र पोखरा राइनोजको समान सात अंक रहेपनि भैरहवा रनरेटमा अघि थियो । तर लिगमा धेरै खेल जितेको आधारमा अंकतालिकामा अघि रहने प्रावधान रहेकोले पोखरा दोस्रो र भैरहवा तेस्रो स्थानमा रह्यो ।

पोखराले तीन खेल जित्दा एक खेलमा अंक बाँडेको थियो । भैरहवाले दुई खेल जित्दा तीन खेलमा अंक बाँडेको थियो ।

पोखरा र भैरहवाबीचको खेल वर्षाले अवरुद्ध हुँदा अंक बाँडिएको थियो । यस्तै भैरहवाले ललितपुरसंगको खेल टाई हुँदा अंक बाँडेको थियो ।

लिगमा पाँचमध्ये ४ खेल जित्दै ८ अंक जोडेको चितवन टाइगर्स पहिलो स्थानमा रह्यो । साविक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने लिग चरणबाटै बाहिरिएका छन् ।

अब बुधबार हुने पहिलो क्वालिफायरमा चितवन र पोखराबीच खेल हुनेछ । यस खेलको विजेता फाइनल पुग्नेछ । खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।

यस खेलमा पराजित हुने टोलीले दोस्रो एलिमिनेटर खेल्न पाउनेछ । बुधबारै पहिलो एलिमिनेटरमा भैरहवा र काठमाडौं बीच खेल हुनेछ । यस खेलको विजेता दोस्रो एलिमिनेटरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । भैरहवा र काठमाडौंबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय