मुक्तकमैया शहदेवको अवस्था जटिलबाट सामान्य हुँदै
शनिबार, भदौ २६, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, भदौ २५

मधुवन नगरपालिका–२ रजवाराका मुक्तकमैया शहदेव थारुको अवस्था सामान्य हुँदै गएको छ । जिल्ला अस्पताल जनरल वार्डको ३९ नम्बर शैयामा उपचाररत थारुको डिसचार्ज हुने तयारी भईरहेको छ । बर्दिया अस्पतालमा एपन्डिक्सको अप्रेशन गराएका थारुको अवस्था जटिलबाट सामान्य हुँदै गएको डाक्टर विजय उपाध्यायले बताए ।

उनका अनुसार आईतबार बिरामीको डिसचार्ज गर्ने तयारी छ । ‘बिरामीको आर्थिक अवस्था हेरी बाहिर रिफर नगरी अस्पतालमा अप्रेशन गरेका छौ,’ उनले भने ‘सुरुमा बिरामीको अवस्था जटिल थियो, उपचार पश्चात सामान्य हुँदै गएको छ ।’

बिरामी शहदेवले स्वास्थ्य बिमा गराएका डा. उपाध्यायले बताए । स्वास्थ्य बिमाको मापदण्डमा पर्ने सबै सेवा सुविधा अस्पतालले निशुल्क दिए पनि बिमाको मापदण्डमा नपर्ने औषधी बाहिरबाट किनेर खानुपर्ने शहदेवले बताए ।

सरकारले जग्गा दिएको तर जग्गा धनि पुर्जा नभएका मुक्त कमैया शहदेव यतिबेला बिलखबन्दमा छन् । थारु आफु बिरामी हुँदा पनि ऋणको चिन्ताले पिरोलीरहेको बताए । उपचारको लागि शहकारीबाट १५ हजार लिएको ऋण उपचारको क्रममा सकिएको छ । उपचारको लागि बिपन्न बस्तीबाट ६ हजार संकलन भएको र आफुसंग रहेको रुपैँया गरी अहिलेसम्म ३० हजार खर्च भएको बताए । शहकारीबाट ऋण लिएको कसरी तिर्ने होला भनि थारु चिन्तामा छन् ।

शहदेवको पेट चिरेको छ । पाँच परिवारको जिम्मेवारी काँधमा रहेका थारु आफै थलिएपछि घरमा चुलो जल्न सकेको छैन । २ छोरी र एक छोरा बिहान साँझको जोहो गर्न छिमेकिको साहारा चल्नु परेको छ ।

बिमाको मापदण्डमा पर्ने सम्पुर्ण औषधी बिरामीलाई उपलब्ध गराईरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेले बताए । ‘सानो अस्पतालले ठुलो समस्या हल गरेको छ ।’ ‘काठमाण्डौ वा नेपालगंज गएर अप्रेशन गराएको भए, बिरामीले लाखौ रुपैया खर्च गर्नु पथ्¥र्यो,’ उनले भने ।आर्थिक स्थिती कमजोर भएका बिरामीलाई स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिन अस्पतालमा सामाजिक सेवा इकाई छ । आर्थिक अवस्था कमजोर, गरिब, अशक्त, द्वन्द्व पिडित, महिला स्वयमसेविका, जेष्ठ नागरिक र अभिभावक बिहीनलाई बजेटले भ्याएसम्म सम्पुर्ण सेवा निशुल्क दिन अस्पतालमा ईकाई संचालनमा छ ।

आर्थिक स्थिती कमजोर र उपचार गर्न नसक्ने बिरामीलाई अस्पतालको फार्मेसीमा उपलब्ध सम्पुर्ण औषधी निशुल्क दिईरहेको डाक्टर पाण्डेले बताए । अस्पतालको सामाजिक सेवा ईकाईबाट स्वास्थ्य बिमा, आमा सुरक्षा आकस्मिक रेफरल, दम र ब्रोमकाइटिस, सिकलसेल र जेष्ठ नागरिक सेवा कार्यक्रम संचालन भएका छन् ।

आमा सुरक्षा आकस्मिक रेफरल कार्यक्रमले कुनै करणबस अन्तै रिफर वा रिफर भएर आएकालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गरेको सामाजिक सेवा ईकाईका सहजकर्ता हेमन्त चौधरीले बताए । ईकाईले गत आर्थिक वर्ष ८७ जनालाई र चालु आर्थिक वर्षमा १० जनालाई सेवा यस कार्यक्रमले दिएको छ ।

दम र ब्रोमकाइटिसका जुन सुकै उमेर समुहका बिरामीलाई वर्षमा ५० हजार बराबरको निशुल्क सेवा दिने गरेको छ । गत वर्ष १ सय १६ जनालाई ३ लाख ५५ हजार ४ सय ९३ बराबरको सेवा दिएको र चालु आर्थिक वर्षमा १३ जनालाई रु २५ हजार ९ सय ३२ बराबरको सेवा अस्पतालको रेकर्डमा उल्लेख छ । सिकलसेल रोगको सम्पुर्ण उपचार निशुल्क गरिरहेको जानकारी दिए ।

अस्पतालले ३ वर्षको अवधिमा १३ जनालाई ९१ हजार ९ सय ६७ बराबरको सेवा दिएको छ । जेष्ठ नागरिक सेवा अन्तर्गत उमेर अनुसार ५० प्रतिशत देखि सय प्रतिशत छुट दिने व्यवस्था छ । भाइरल ज्वरोका बिरामी यतिबेला इमरजेन्सी वार्डमा बढी आउने गरेको इमरजेन्सीका स्वास्थ्य सहायक रुपेन्द्र सोनकरले बताए ।

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा पूर्व अस्पतालको ईन्चार्ज अंमर खड्काले औषधी अभावमा विरामीको उपचारमा समस्या भए जतिखेर पनि औषधि खरिदका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार विमा गरेका विरामीलाई बिमा कम्पनीले हालसम्म अस्पताललाई स्वास्थ विमा वापतको भुक्तानी गर्न पर्ने रकम भुक्तानी नगरेको कारण अस्पतालले समयमा औषधी खरिद गरी सेवा प्रवाह गर्न नसकेको अबस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय