सबैभन्दा पहिला चन्द्रमासम्म यान उडाएर पुर्‍याउने माइकल कोलिन्सको निधन
बिहिबार, बैशाख १६, २०७८ मा प्रकाशित

बैशाख १६,(फरक समाचार)/ अपोलो ११ मिशनका पाइलट तथा अन्तरिक्षयात्री माइकल कोलिन्सको २८ अप्रिल बुधवारका दिन ९० वर्षको उमेरमा निधन भएको छ । ३२ अक्टोबर १९३० मा जन्मेका कोलिन्सलाई अपोलो ११ मिशनलाई सफलतापूर्वक चन्द्रमामा पुर्‍याउने प्रमुखयान ‘कमान्ड  मोड्यूल   कोलम्बिया’  (Command Module Columbia) का पाइलटका  रुपमा  चिनिन्छ ।

यसै अभियानअन्तर्गत सन् १९६९ को २१  जुलाईका दिन  अपोलो ११ अभियानका कमान्डर निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेक्ने विश्वको पहिलो नागरिक हुने सौभाग्य पाएका थिए ।   निलले पाइला टेकेको केही मिनेट पछि अर्का सहयात्री  चंद्रयान ‘अपोलो  लूनर  मोड्यूल   ईगल’ (Apollo Lunar Module Eagle) का चालक  एल्ड्रिन बजले चन्द्रमाको सतहमा पाइला टेकेका थिए ।

माइकल कोलिन्सको उत्तरदायित्व भने अपोलो ११ मिसनको प्रमुखयान  कोलम्बियालाई  सही तथा सुरक्षित तवरले चन्द्रमाको अर्बिटसम्म पुर्‍याउने मात्रै रहेको थियो । अर्थात् कोलिन्सले चन्द्र अर्बिटसम्मको यात्रा मात्रै गरे ।


प्रमुखयान चन्द्र अर्बिटमा स्थापित भएपछि  चन्द्रमामा अवतरण गर्ने विशेष यान ईगल यसबाट पृथक भएर चन्द्र अवतरण हेतु अघि बढेको थियो ।  कोलिन्स भने ईगल यानमा नगई प्रमुखयान कोलम्बियालाई चन्द्र अर्बिटमा ‘ड्राइभ’ गरिरहे ।

ईगललाई ‘ड्राइभ’ गर्दै एल्ड्रिन बजले चन्द्र सतहमा अवतरण गराएका थिए । हुन त ईगल यानले २० जुलाई १९६९ को  राति  २० बजेर १७ मिनेट  मा नै चन्द्र सतहमा अवतरण  गरेको थियो । ईगलले चन्द्र सतहमा अवतरण गरेको झण्डै ६ घण्टा ३९ मिनेट पछि २ बजेर ५६ मिनेट जाँदा निल ईगलबाट ओर्लिएर चन्द्र धरातलमा पाइला राखेका थिए । उनले चन्द्र धरातलमा पाइला राख्दा पृथ्वीको क्यालेन्डरमा मिति परिवर्तित भएर २१ जुलाई भइसकेको थियो ।

निलले चन्द्र धरातलमा पाइला टेकेको झण्डै १९ मिनेट पछि एल्ड्रिनले चन्द्र धरातलमा पाइला टेकेका थिए ।

अभियानको प्रारम्भमै निश्चित थियो, कोलिन्सले चन्द्र अवतरण गर्न पाउँदैनन् ।  निल र बजले चन्द्रमामा ओर्लेर विश्वव्यापी ख्याति पाए । अधिकांश मानिसलाई निल र एल्ड्रिनको सफलताका पछाडि  कसको प्रमुख भूमिका थियो भन्ने थाहा छैन । निसन्देह अपोलो ११ मिसनको सफलता साथ चन्द्रमामा अवतरण गरी फर्किनुमा माइकल कोलिन्सको सबैभन्दा ठूलो भूमिका रहेको थियो । उनले निल र बजलाई चन्द्रमाको अर्बिटसम्म पुर्‌याउने काम मात्रै गरेका होइनन् वरन निल र बजलाई पृथ्वीसम्म फर्काउने काम पनि सफलता साथ गरेका थिए ।

निल र बजले चन्द्रमामा ओर्लेर जुन ख्याति अर्जित गरे त्यो ख्याति कोलिन्सले भने पाएनन् । निल र बज पछि अन्य दस अमेरिकी चन्द्रमामा ओर्लेर चन्द्रयात्री हुने सौभाग्य पाए ।  तर धेरै कम मानिसलाई थाहा छ, जुन ख्याति कोलिन्सको भागमा आयो त्यो पृथ्वीमा मानिसको उदय भए पछि जन्मिएका सैयौँ अर्ब मानिस ( वर्तमानका झण्डै ८ अर्ब र मानिसको उत्पत्ति भएदेखि जन्मेर मरेका झण्डै सय अर्ब ) ले पाएका छैनन् ।

संसारका सबैभन्दा एक्लो व्यक्ति:

स्थान – चन्द्रमाको लोअर अर्बिट, समय – २० जुलाई १९६९ को १७ बजेर ४४ मिनेट

प्रमुख यान कोलम्बिया अपोलो मिसनका तीनै जना यात्रीलाई लिएर चन्द्र अर्बिट पुग्छ ।  चन्द्रमाको केही परिक्रमा गरेपश्चात् मुख्ययान कोलम्बियाबाट चन्द्रमामा अवतरण गर्ने हेतु बनाइएको विशेष चन्द्रयान ईगल मुख्ययानबाट पृथक ( undock  ) हुन्छ।  ईगल २० जुलाईको साँझ १७ बजेर ४४ मिनेट जाँदा कोलम्बियाबाट पृथक भई स्वतन्त्र रूपमा चन्द्रमामा ओर्लिने दिशामा अघि बढ्छ । र, २ घण्टा ३३ मिनेट पछि राति २० बजेर १७ मिनेटमा चन्द्रमामा ओर्लिन्छ ।

चन्द्रमामा ओर्लेर विभिन्न गतिविधि गरेर निल र बज पुनः ईगलको इन्जिन प्रज्वलित गरी चन्द्र अर्बिटमा उडिरहेको कोलम्बियासँग आबद्ध ( docking) हुन आई पुग्छन् । दुबै यान संयुक्त हुँदा समय भएको हुन्छ २१ जुलाई को २१ बजेर ३५ मिनेट ।  दुबै यान जोडिए पछि ईगल यानबाट कोलम्बियामा प्रवेश गर्छन् निल र बज अर्थात्  चन्द्रमामा ओर्लेका दुबै जनाले ओर्लिन नपाएका साथी कोलिन्ससँग भेट गर्छन् ।

यसको झण्डै २ घण्टा पछि अर्थात् २३ बजेर ४१ मिनेटमा प्रमुख यान कोलम्बियाका चालक कोलिन्सले चन्द्रयान ईगललाई पुनः अनडक गरी चन्द्रमामा खसाली दिन्छन् र पृथ्वीतिरको यात्रा प्रारम्भ गर्छन् ।

२० जुलाईको १७ बजेर ४४ मिनेटदेखि २१ जुलाईको २१ बजेर ३५ मिनेट सम्म  (झण्डै २८ घण्टासम्म ) कोलिन्स अनन्त आकाशमा एक्लै रहेका हुन्छन् ।  तर यस अवधिमा कोलिन्स नितान्त एक्लै भने हुँदैनन् ।  उनको पृथ्वीस्थित नियन्त्रण कक्ष र दुबैजना चन्द्रयात्री निल र बजसँग रेडियो सम्पर्क रहेको हुन्छ ।

यस २८ घण्टाको अवधिमा उनले चन्द्र अर्बिटबाट चन्द्रमाका  अनेकौं परिक्रमा गर्छन् ।  यसै क्रममा  उनी चन्द्रमाको पृथ्वीबाट कहिल्यै नदेखिने भाग ‘डार्क साइड ऑफ मून’ माथि उडिरहेका हुन्छन् ।  अचानक उनको रेडियो संयन्त्रमा खराबी आउँछ र उनको पृथ्वीस्थित नियन्त्रण कक्ष र दुबैजना चन्द्रयात्रीसँग सम्पर्क विच्छेद हुनपुग्छ। यो सम्पर्क विच्छेद केही मिनेटसम्म रही रहन्छ।  यस सम्पर्क विच्छेदको  अवधिमा उनी संसारका सबैभन्दा एक्लो व्यक्ति बन्न पुगेका थिए।  यसको वर्णन  उनले आफनो आत्मकथा Carrying the Fire: An Astronaut’s Journeys. मा गरेका छन्, उनले आफ्नो जीवन कालमा अन्य थुप्रै पुस्तक लेखका थिए ।  रातोपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर