समाजसेवी सुरेश पन्थको आर्थिक सहयोगमा ११६ को आँखा जाँच
बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,कात्तिक २५  / मधुवन नगरपालिका–४ निवासी सुरेश पन्थको आर्थिक सहयोगमा बुधबार आँखाका बिरामीले निशुल्क आँखा चेक जाँच गराएका छन् । पन्थले व्यक्तिगत रुपमा आफ्नो वडाका आँखाका बिरामीलाई आँखा जाँच गर्न लाग्ने शुल्क ढोढरी स्वास्थ्य चौकीलाई दिएका हुन् । नेपाल नेत्र ज्योती संघ बर्दिया शाखाको आयोजना र डाँक फाउन्डेशन पार्टनर फर ईकुटीको आर्थिक सहयोगमा निशुल्क मोती बिन्दुको शल्यक्रियाको लागि छनौट शिविर संचालन गरिएको छ ।

निशुल्क मोती बिन्दुको शल्यक्रियाको छनौटको लागि पहिला आँखा जाँच गराउनु पर्छ । आँखा जाँच गर्न स्वास्थ्य चौकीमा लाग्ने रु ८० को बिल काटेर जाँच गर्नु पर्छ ।

मधुवन नगरपालिका–४ का अधिकांश मानिसहरु ज्याला मजदुरी गरेर जिविको पार्जन गर्छन् । आँखा जाँच गराउन न्युनतम शुल्क पनि तिर्न नसक्ने स्तिथी रहेको जानकारी पाएको पन्थले सुनाए । मेरो आफ्नै गाउँघरका बृद्धा आमा बुवाको आँखा उपचारमा थोरै सहयोग गरेर आत्म सन्तुष्टि मिलेको सुनाए ।

आर्थिक स्तिथी कमजोरीका कारण आँखाको जाँच गराउनबाट बञ्चित नहुने उदेश्यले सहयोग गरेको पन्थले बताए । ‘तपाईहरु मेरो आफ्नै बुवा आमा जस्तै हुनुहुन्छ’ पन्थले भने, ‘आर्थिक अभावका कारण आँखा जाँच रोकिदैन, तपाईहरु ढुक्क भएर आँखा जाँच गर्नुस् जति शुल्क लाग्छ म दिन्छु, गाउँघरमा अरु कोही भए खबर गरेर आँखा जाँच गर्न बोलाउनुस् ।’

आँखा जाँच गर्न बिल काटीसकेका बिरामीलाई पन्थले बिलको शुल्क फिर्ता गर्न लगाए । साँझसम्म जति आँखा जाँच गर्ने बिरामी आउँछन् सबको शुल्क आफुले उपलब्ध गराउने जिम्मा पन्थले लिए । पन्थको सहयोगी मन देखेर आँखा जाँच गराउन आएका बिरामी खुसी देखिएका थिए ।

बुधबार साँझसम्म १ सय १६ जनाले पन्थको सहयोगमा निशुल्क आँखा जाँच गरेको ढोढरी स्वास्थ्य चौकीकी नेत्र सहायक सुभेक्षा गुरुङ्गले जानकारी दिईन् । जसमा ४० जना मोती बिन्दुको शल्यक्रिया गर्नु पर्ने र ५ जनाले चश्मा प्रयोग गर्नुपर्ने जनाईन् ।

समाजसेवी, युवा उद्यमी तथा माओवादीका नेता समेत रहेका सुरेश पन्थ जिल्लामा कुनै किसिमको दैवी प्रकोप आउदा र समस्यामा परेका दीन दुखीलाई सहयोग गर्दै आएका छन् । कात्तिक २ गते आएको बाढीले घर बिहिन बनेका राजापुर र गेरुवाका बाढी पिडितलाई तत्काल खाने कुरा पन्थले वितरण गरेका थिए ।

आर्थिक स्थिती कमजोर रहेकोले आफुले वडा कार्यालयलाई सहयोगको लागि अनुरोध गर्ने सोच राखेको नेपाल नेत्र ज्योती संघ बर्दिया शाखाका सदस्य देवेन्द्र तिमिल्सेनाले बताए ।

आर्थिक स्थिती कमजोर भएको कारणले आँखाका बिरामीले कसैले रु ३० र कसैले रु ५० लिएर आएको सुनाए । बिरामीले न्युनतम शुल्क समेत तिर्न नसक्ने स्तिथी रहेको बताए । बिरामीको समस्या बुझेर स्थानीय सुरेश पन्थले आँखा जाँच गर्न लाग्ने शुल्क तिर्ने जिम्मा लिएपछि बिरामीलाई राहत मिलेको अनुभुति गर्दै सहयोगी मनलाई धन्यवाद समेत दिए ।

जिल्लामा आठ स्थानीय तह मध्य सात वटामा छनौट शिविर भईसकेको र अब मधुवनमा भइरहेको बताए । जिल्लामा पाँच सय बिरामीको मोती बिन्दुको निशुल्क शल्यक्रिया, औषधी र चश्मा उपलब्ध गराउने सदस्य तिमिल्सेनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय