बर्दियामा जताततै चितुवाको त्रास
आइतबार, असोज २६, २०८२ मा प्रकाशित

बर्दिया,असोज २६(फरकसमाचार)/ गुलरिया लगायत जताततै चितुवाको आतंक बढ्दो देखिएको छ । निरन्तर जताततै चितुवाले आतंक मच्चाउँदा सर्वसाधारण त्रसित बनेका छन् ।

चितुवाको आक्रमणबाट एक महिला घाईते भएकी छन् । गुलरिया नगरपालिका–१० रत्नापुरकी ४० वर्षीया किरण लोध शनिबार चितुवाको आक्रमणबाट घाईते भएकी हुन् । खेतमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गरि घाईते बनाएको प्रहरीले जनाएको छ । महिलाको टाउको र घाँटीमा चोट लागेको छ । बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि घाईते महिलालाई नेपालगंज रिफर गरिएको जनाईएको छ ।

यस्तै शुक्रबार दिउँसो बारबर्दिया नगरपालिका–१० डफैया स्थित धान काटिरहेकी ४५ वर्षीया जुना चौधरीलाई चितुवाले आक्रमण गरि घाईते बनाएको छ । चितुवाको आक्रमणबाट महिलाको घाँटीमा गम्भिर चोट लागेको छ । प्रहरीका अनुसार घाईते महिलाको बाँके स्थित उपचार भईरहेको छ ।

गत बिहीबार गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा स्थित समसाँझै उखुबारीबाट निस्केको चितुवाले कुकुर लगेको स्थानीय अनुप कुमार गुप्ताले बताए । ‘राति करिब ८ बजे उखुबारीबाट निस्केको चितुवाले आँगनमा बसेको कुकुरलाई उठाएर लग्यो,’उनले भने,‘यस ठाउँमा चितुवाले लामो समय देखि पशुचौपायालाई शिकार बनाईरहेको छ । तर, सम्बन्धित निकायले कुनै मतलब गरेको छैन, यहाँका स्थानीय साँझ परेपछि दिसापिसाब गर्न बाहिर निस्कनसमेत डराउँछन् ।’

असोज १ गते राति ९ बजे गुलरिया नगरपालिका–७ गुलरिया गाउँका मालती यादवको आँगनमा बाँधेको बाछो चितुवाले खाएको थियो । आँगनमा बाँधेको बाछोलाई चितुवाले झम्टेर मकैबारीमा दौडेपछि स्थानीयले हो–हल्ला गर्दा छोडेर भागेको थियो । गुलरियालगायतका विभिन्न ठाउँमा चितुवाको आतंक बढ्दो देखिएपछि स्थानीय रातभरि जाग्रराम बस्न बाध्य छन् ।

डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ४ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । जसमा गुलरियाकै दुई बालिकाको ज्यान गएको थियो । यस्तै चालु आर्थिक वर्षको भदौ २९ गते गुलरिया नगरपालिका–१२ टडुवाकी २७ वर्षीय कबिता राना र साउन ३० गते गुलरिया नगरपालिका –१२ भैंसाहीकी ४२ वर्षीया जगतरानी थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय