बर्दिया,कार्तिक १२(फरकसमाचार)/ दुई कृषि समुहका किसानलाई निःशुल्कमा आलुको बिउ वितरण गरिएको छ । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा स्थित रहेका दुई कृषि समुहका किसानलाई निःशुल्कमा मंगलबार आलुको बिउ वितरण गरिएको हो । शिव कृषि समुह र नमुना महिला कृषि समुहका ६७ जना किसानलाई आलुको बिउ वितरण गरिएको छ ।
कारितास नेपाल इटालिनाको आर्थिक सहयोग, गुलरिया नगरपालिकाको समन्वय र कारितास नेपाल फिल्ड कार्यालय बर्दियाद्वारा संचालित बाढी प्रभावित घर परिवारहरुका लागि आपतकालीन जीविकोपार्जन तथा सुरक्षित आवास निर्माण परियोजना अन्तरगत निःशुल्कमा आलुको बिउ बितरण गरिएको छ । विसं २०७१ साल साउनको अन्तिम साता आएको बाढीले सर्जुनदी टपराका बासिन्दाहरु प्रभावित भएका थिए । कारितासले सो क्षेत्रका किसानलाई सहयोग गरेपछि किसान खुसी देखिएका छन् ।

कारितास नेपालले कृषि गर्न निःशुल्कमा आवश्यक बिउ विजन दिएपछि जग्गा भाडामा लिएर कृषि कर्ममा होमिएको नमुना महिला कृषि समुहकी अध्यक्ष उर्मिला गुप्ताले बताईन् । ‘हामीलाई आत्मनिर्भर बनाउन संस्थाले गरेको सहयोग सह्रायिन छ,’अध्यक्ष गुप्ताले भनिन्,‘यो सहयोगले घरमा खाली बसेका दिदीबहिनीहरुको आय स्तर वृद्धि गर्ने विश्वास छ ।’
संस्थाले निःशुल्कमा आलुको बिउ दिएपछि १२ कठ्ठा जग्गा भाडामा लिई आलु खेती गर्न सुरु गरेको स्थानीय किसान राजेश यादवले जनाए ।
हामी जस्ता आय स्तर कमजोर भएका किसानलाई प्राथमिकतामा राखी कारितासले गरेको सहयोगले धेरै राहत मिलेको महसुस भईरहेको शिव कृषि समुहका अध्यक्ष बालकराम लोधले बताए ।

गत वर्ष गुलरिया नगरपालिका र कारितास नेपालको सहयोगमा सर्जुनदी टपराका ३१ बाढी प्रभावित परिवारलाई सुरक्षित आवास निर्माण गरि हस्तान्तरण गरिएको कारितास नेपालका कार्यक्रम संयोजक नरेन्द्र केसीले बताए । ‘यस वर्ष २८ जना बाढी प्रभावित परिवारको लागि सुरक्षित आवास निर्माणधिन छ,’संयोजक केसीले भने,‘अब उहाँहरुलाई उत्पादनमुखी बनाएर जीविकोपार्जनसंग जोड्न खोजेका छौं ।’ ‘६७ किसानका लागि ४८ क्वन्टल मुल्य रु २ लाख ८८ हजार बराबरको आलुको बिउ वितरण गर्न ल्याएका छौं,यस पछि उहाँहरुलाई आवश्यक मल, सिंचाई पाइप, अन्य तरकारीका बिउ, किटनासक औषधी वितरण गर्नेछौं । यस्तै कृषि सम्बन्धि आवश्यक तालिम दिएर कुखुरा, बाख्रा र बंगुर पाल्ने किसानलाई उपलब्ध गराउने तयारी रहेको छ,’उनले भने ।

विपन्न बस्तीका किसानलाई कारितास नेपालले गरेको सहयोग प्रशंसा योग्य रहेको गुलरिया नगरपालिका–८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बनियाले बताए । ‘विपन्न बस्तीको आय स्तर वृद्धि गर्न वडाले सहयोगी संस्थाहरुसंग निरन्तर समन्वय गर्नेछ,’अध्यक्ष बनियाले भने,‘विपन्न वडावासीको प्रगति र उन्नतीको लागि वडा पछि हट्ने छैन ।’
‘४२ जना किसानलाई मंगलबार आलुको बिउ वितरण गरिएको छ,’कारितास नेपालकी सामाजिक परिचालक पुजा यादवले भनिन्,‘बाँकी किसानलाई बुधबार आलुको बिउ वितरण गरिनेछ ।’

