तरकारीखेतीमा रमाउँदै मुसहर
शनिबार, पुष १९, २०७६ मा प्रकाशित

गौशाला, पुस १८ : गौशाला नगरपालिका–८ बेलगाछीका ६५ वर्षीय विल्टु सदा अहिले घर छेउकै बगरखेत लगाएको तरकारी बेचेर आम्दानी बढाउन सफल भए । उनले वर्षांैसम्म अरुको खेतमा ज्याला मजदूरी गरि अभाव र दबावका बीच घरपरिवार चलाउँदै आएका थिए ।

उनी भन्नुहुन्छ, ‘गौशाला नगरपालिकाको कार्यालयले सामूहिक तरकारीखेतीका लागि आफूहरुजस्ता सुकुम्बासीलाई जग्गा उपलब्ध गराएपछि ज्याला मजदूरी गर्ने दिनको अन्त्य भएको छ । तरकारी स्थानीय बजारमा बेचेर आम्दानी गर्न सफल भएको छु ।’

स्थानीय रमेश्वरा सदाले बगरखेती यस वर्ष चार हजार आम्दानी गर्न सफल भएको जानकारी दिए । त्यस्तै दुई वर्षअघिसम्म घरकै कामकाजमा सीमित रहेकी ४५ वर्षीया दौनादेवी सदा दिनभरि नै तरकारीलाई स्याहरसुहारमा व्यस्त रहेकी हुन्छिन् ।

गौशाला नगरपालिकाले भर्लेनी र सोनी खोलाको बगरको खाली जग्गा स्थानीय ६० मुुुुसहर घरपरिवार निःशुल्करुपमा जग्गा उपलब्ध गराएको थियो । सो जग्गामा नमूना बगरखेती गर्न ती समुदाय जुटेका हुन् ।

रामभरोस महतोले तरकारी खेतीबाट आफूहरुको जीवनशैली परिवर्तनको र आम्दानी समेत बृद्धि भएको जानकारी दिए । उनीले भने, ‘बगरमा मुसहर समुदायले उत्पादन गरेको तरकारीखेती नमूना रहेको र यसले यहाँका अन्य किसानलाई समेत लोभ्याउँदै गरेको छ ।’

बेलगाछीमै रहेको जनजागरण कृषि सहकारी संस्थाले उनीहरुलाई तरकारीखेती गर्नका लागि समयसमयमा प्रशिक्षण र जैविक प्रविधिले खेती गर्न हौसला बढाइएको छ । संस्थाका अध्यक्ष काशी महतोले सहकारीले अहिले किसानलाई नर्सरी कसरी राख्ने, कति दूरीमा रोप्ने, सिँचाइ कसरी गर्नेलगायत सिकाइरहेको जानकारी दिए ।

बगरखेती गर्नका लागि गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा पाँच लाख बजेटले जग्गा सम्याउने र किसानलाई तरकारीखेती गर्नका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराएको थियो । नगरपालिकाले यस वर्ष १० लाख बजेटसमेत बिनियोजन गरेको नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय