भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’
बिहिबार, पुष २४, २०७६ मा प्रकाशित

लमजुङ, पुस २४ : गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित खानीगाउँ ‘रक गोर्डेन’ ले भ्रमण वर्ष २०२० मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न थालेको छ ।

घेर्मुका स्थानीयवासीले नेपालमै पहिलोपटक ‘रक गार्डेन’ को अवधारणा भित्र्याएर प्राकृतिक सौन्दर्यताप्रति रुचि राख्ने र भ्रमण वर्षमा फरक खालको ठाउँमा घुम्न चाहने पर्यटकलाई उक्त गोर्डेनले आकर्षित गर्दै तान्न थालेको हो ।

उक्त ‘रक गार्डेनको अवधारणा लागू गरेको र यतिबेला पर्यटक आगमनको चाप बढ्न थालेको रक गार्डेन संरक्षण तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष कामसार्की गुरुङले बताए । आन्तरिक पर्यटक होस् या विदेशी पर्यटक यहाँ आउने जो कोही पनि रक गार्डेनको सुन्दरता देखेर तीन छक्क पर्ने गर्छन् । सुन्दरताको खानी ‘रक गोर्डेन’ पहरै पहराले बनेको छ । कतै गुफा छन्, कतै ओढार । कतै ठूला ठूला सुरुङ भेटिन्छन् । मनै लोभ्याउने ‘रक गोर्डेन’ हेर्न तथा अवलोकन गर्नलाई आधा घण्टाभन्दा बढी समय लाग्छ । एउटा पहराबाट अर्को पहरामा जानका लागि चार वटा पुल निर्माण गरिएको छ ।

त्यस्तै, पहराभित्र रहेको सुरुङमा समेत विभिन्न कुराहरू हेर्न सकिन्छ । सुरुङ पुरै घुम्नलाई करिब डेढ घण्टा समय लाग्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण रक गोर्डेनमा नरमाउने त सायदै होलान् । ‘अहिलेसम्म यस्तो चट्टाङ देखेकी थिइन् । प्राकृतिक सुन्दरता पनि भेटे । यस्तो रकगार्डेनले स्वर्ग मै आएको अनुभूति दिलाएको महसुस भएको पर्यटक यूनिता श्रेष्ठले बताए ।’

त्यस्तै बेँसीशहरबाट रकगार्डेन हेर्न पुगेका सुकराम दुलालले भने, ‘घुम्नका लागि पुग्नैपर्ने ठाउँ रहेछ खानीगाउँ रक गार्डेन । यहाँ पहाडी तथा ग्रामीण भेगका पर्यटकभन्दा अझ बढी शहर बजार र तराईतिरको पर्यटकका लागि एकदम उत्तम हुनसक्ने उनको भनाइ छ । भित्रै खान बस्न र रमाइलो गर्नका लागिसमेत उचित रहेकाले ‘रक गार्डेन’ ले थप मन लोभ्याएको दुलाल भने । त्यस्तै त्यहाँ विदेशी पर्यटक आउँदा कति पर्यटक त ओड्ने ओछ्याउने कपडा ल्याएर त्यहाँस्थित गुफाभित्रै सुत्ने गरेको मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए । उनले भने, ‘रक गार्डेन पर्यटकीय हिसाबले निकै सम्भावना भोकेको छ ।’

यहाँ अहिले आन्तरिकभन्दा विदेशी पर्यटक बढी आउने गरेको समितिका सचिव सीता गुरुङले बताए । ‘रक गार्डेनले भ्रमण वर्ष सफल बनाउनका लागि समेत टेवा पुगेको छ’, उनले भने, ‘भ्रमण वर्षको शुरुआतदेखि यता विदेशी र आन्तरिक पर्यटकको आगमनमा वृद्धि भइरहेको छ ।’

पर्यटकलाई आकर्षित गर्न रक गार्डेनलाई अझै थप व्यवस्थित बनाउने योजना रहेको सो समितिले जनाएको छ । समितिका अनुसार रक गार्डेनको स्तर उन्नतीका लागि जिल्ला समन्वय समिति, मस्र्याङ्दी गाउँपालिका, वडा कार्यालय लगायतको सहयोग छ । हालसम्म रु २१ लाख रक गार्डेनमा खर्च भएको समितिका अध्यक्ष गुरुङले बताए । गार्डेनभित्रै सुत्न र बस्न व्यवस्था मिलाइएको छ भने शौचायलयको व्यवस्था समेत मिलाइएको छ । केही दिनबाट बाइकको ट्रयाकसमेत खोल्ने तयारीमा रहेको बताइएको छ । गार्डेनसँगै घरवास (होमस्टे) को अवधारणा पनि अघि बढाएका छन् ।

सो स्थानमा आउने पर्यटकलाई मध्यनजर गर्दै अहिले १० घरमा होमस्टे सञ्चालन गरिएको सो समितिले जनाएको छ । भगवान्ले फुर्सदमै बनाएको जस्तै एकदम कलात्मक सुन्दर तरिकाले प्रकृतिको सिर्जना गरेको देख्न पाईन्छ यहाँ । चक्रीय अन्नपूर्ण पदमार्गको नजिकै रहेको लमजुङ बेँसीशहरबाट बेँसीशहर चामे मनाङ जाने सडकखण्ड, रामबजार हुँदै उक्त स्थान पुग्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय