सडक कालोपत्र शुरु
शनिबार, पुष २६, २०७६ मा प्रकाशित

गलकोट, पुस २६ : जिल्लाको बागलुङ नगरपालिका६ सिमदेखि वडा नं ७ कालीमाटी पैराबारी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । बागलुङ नगरपालिकाभित्रका वडा कार्यालय जोड्ने सडक कालोपत्र गर्ने योजनाअनुसार गत वर्ष जिल्ला सदरमुकाम हुँदै सिम पुगेको कालोपत्र सडकलाई कालीमाटी जोड्न थालिएको हो ।

बागलुङ बजारदेखि कुडुँले, मालिका, पञ्चकोट हुँदै धम्जा देउराली पुग्ने क्षेत्रीय सडकलाई पालास्थित तितौरेमा जोड्ने गरी कालोपत्रको काम अगाडि बढाइएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए । तीन वर्षभित्र सबै वडा कार्यालयसम्म कालोपत्र सडक पु¥याउने लक्ष्यसाथ काम थालिएको छ, पक्की सडकपछि नगरबस सञ्चालन हुनेछ् ।सिम कालीमाटी सडक कालोपत्र भएपछि नगरका १४ मध्ये सात वडा कार्यालयसम्म पक्की सडकको पहुँच पुग्नेछ ।

सिमकालीमाटी सडकको अहिले १.५ किलोमिटर कालोपत्र, २०० मिटर सडक ढलान गर्न २०७६ जेठ ८ गते फेवा कन्ट्रक्शनले ठेक्का सम्झौता गरी स्तरोन्नति थालेको थियो । यही पुस मसान्तसम्म सडक निर्माण सम्पन्न गर्नेगरी काम धमाधम भइरहेको नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले बताए ।

शर्माका अनुसार बागलुङ नगरपालिकाको एक करोड १८ लाख र गण्डकी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको समपुरक अनुदानको एक करोड गरी दुई करोड १८ लाखमा सडक स्तरोन्नति, पक्की नाली, पर्खाल, कल्र्भटलगायका संरचना बनाएर कालोपत्र थालिएको हो । आठ मिटर चौडा सडकमा पाँच मिटर कालोपत्र, १.२ मिटरको पक्की नाली रहनेगरी काम भइरहेको फेवा कन्ट्रक्शनका आधिकारिक प्रतिनिधि राजु पौडेलले बताए । पक्की सडकको पहुँच पु¥याउन थालेपछि जिल्ला सदरमुकाम आवतजावत गर्न सहज हुने नगरपालिका७ का वडाध्यक्ष खजराज पाण्डेयले बताए । (रासस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय