संरक्षण नहुँदा देवल जीर्ण
शनिबार, पुष २६, २०७६ मा प्रकाशित

जाजरकोट, पुस २६ : नेपाल भ्रमण वर्ष २०२० शुरु भइसकेको बेला पर्यटक आकर्षण गर्ने यहाँका ऐतिहासिक देवलहरू भने जीर्ण बन्दै गएका छन् । तेह्रौँ शताब्दीमा निर्माण गरिएका यस क्षेत्रका देवल मर्मततर्फ कसैले ध्यान नदिँदा यसको भविष्य सङ्कटमा पर्दै गएको छ ।

छेडागाड नगरपालिका८ घोगी पजारु, जुनिचाँदे गाउँपालिकाको लुहादहका चैत्य गुम्बा संरक्षणको अभावमा जीर्ण बनेका छन् । भेरी नगरपालिका१ शिवालयका पुराना मन्दिर सरोकारवालाको चासो नहुँदा कमजोर बनेका छन् । आकर्षक र ऐतिहासिक ती देवल, मन्दिर संरक्षणमा सरकारले चासो नदिँदा ओझेलमासमेत परेको गुनासो गरिएको छ ।

तेह्रौँ शताब्दीमा जाजरकोटमा भोटेहरूले शासन गरेको र उनीहरूले नै यी सम्पदा निर्माण गरेको जिल्लाको इतिहासबारे जानकार जनकबहादुर शाहीको भनाइ छ । ढुङ्गा कुँदेर बनाइएका ती कलात्मक देवल संरक्षणको अभावमा मासिने खतरा बढेको छ । स्थानीयवासीले देवल क्षेत्र अतिक्रमण गर्दै गइरहेका छन् भने यसको मौलिकता र महत्व हराउने खतरामा पुगेको स्थानीयवासीको गुनासो छ । सदरमुकाम खलङ्गा र अन्य शहरी क्षेत्रबाट ती क्षेत्रमा पुग्न सहज मार्ग नहुनु र देवल क्षेत्रको पुनःनिर्माणका लागि सरोकारवालाले कुनै पहल नगरेकाले देवल क्षेत्र ओझेलमा परेको स्थानीयवासी रेशमबहादुर खड्काले बताए ।

सडक पहुँच र अन्य आवश्यक पूर्वाधारको निर्माण नहँुदा महत्वहीनजस्तै बनेको ती सम्पदाको संरक्षण र प्रचारमा सरोकावालाले उचित ध्यान र चासो दिए जिल्लाकै दर्शनीय पर्यटकस्थल बन्न सक्ने वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए । जाजरकोटका अन्य पर्यटकीय क्षेत्रभन्दा बढी सुन्दरता, कला, सामाजिक महत्व र ऐतिहासिकता झल्काउने यी देवल रहेको क्षेत्रमा पर्यटक पुग्न आवश्यक पूर्वाधार तयार नभएको उनले बताए ।

भेरी नगरपालिका१ शिवालयका ऐतिहासिक पृष्ठभूमि बोकेका मन्दिरको संरक्षण नहुँदा इतिहास नामेट हुने चिन्ता बढेको छ । पटकपटक गरी स्थानीय सरकार र पर्यटन बोर्डले करीब १० लाख रकम विनियोजन गरेको भए पनि त्यसको सदुपयोग हुनसकेको छैन । सामान्य घेराबार, मन्दिर बनाउने कामबाहेक अन्य पूर्वाधारका काम भएको छैन । पजारुस्थित तीन रोपनी जग्गाको १३ देवलको कलात्मक आकार, प्राचीनता र आकर्षक बनावटले त्यहाँ पुग्ने जोकोहीलाई मोहित पार्छ ।

छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महताराले पजारुको घोगीस्थित चैत्य गुम्बा क्षेत्रको संरक्षण र प्रवद्र्धनतर्फ आफूहरूले विस्तृत योजनाको तयारी गरिरहेको बताए । उनले भने, ‘जाजरकोटकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा रहेको पजारुको घोगीस्थित देवल क्षेत्र पुग्न सडक पु¥याउने पहल भइरहेको छ, जिल्लाकै पर्यटन विकासमा टेवा पुग्ने पजारुको देवल संरक्षण र प्रचार गर्न सबै लाग्नु पर्दछ ।’ (रासस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय