गरीबी र बेरोजगारी हटाउँदै सहकारी
शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित

पाल्पा, माघ २ : यहाँ सञ्चालित सहकारी संस्थाले झण्डै दुई अर्बभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छन् । कृषि व्यवसाय, पशुपालन, साना तथा घरेलु उद्योग, होटल तथा पर्यटन, व्यापार तथा व्यवसायका क्षेत्रमा सहकारीका लगानी रहेको छ ।

बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड तानसेनको २०औँ साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनका अनुसार व्यक्तिगत घर खर्च, व्यापार÷व्यवसाय, पढाइ खर्च, वैदेशिक रोजगारीका क्षेत्रमा समेत सहकारीका लगानी खर्चिएको छ । उत्पादनमूलक क्षेत्रबाहेक घर÷जग्गा व्यवसायमा समेत लगानी हुँदै आएको प्रतिवेदनले औँल्याएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिकामा २९२ सहकारी संस्था सञ्चालनमा रहेका छन् । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा सञ्चालित सहकारीले आफ्ना सदस्यलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी गरीबी र बेरोजगारी हटाउन आफ्ना बचतलाई परिचालनमा जोड दिइराखेका छन् । पछिल्लो समय यस्ता लगानीबाट युवालाई स्वरोजगार बनाउन सहयोगी सावित भएको छ ।

यहाँ ३० करोडभन्दा माथि शेयर पूँजी सङ्कलित छ । दुई अर्बभन्दा माथि बचत र ऋण परिचालन भएको छ । जिल्लामा सञ्चालित सहकारीमार्फत महिलाले रोजगारीका अवसर प्राप्त गरेका छन् । व्यवस्थापक, बजार प्रतिनिधिलगायतका पदमा महिलाको आकर्षण बढ्दो छ । कूल रोजगारीको झण्डै ६५ प्रतिशतभन्दा बढी महिला छन् । जिल्लामा सञ्चालित सहकारीमार्फत झण्डै ५१० जनाले रोजगारी पाउन सफल बनेको बचत तथा ऋण सहकारी सङ्घका जिल्ला अध्यक्ष जगदीश भट्टराईले जानकारी दिए ।

जिल्लामा ८७ हजार ४०५ शेयर रहेका मध्ये महिला ५३ हजार ६०५ सदस्य छन् । एक हजार ५१२ सञ्चालकमध्ये महिला ९२३ रहेका छन् । समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा योजनाबद्धरूपमा सहकारी उद्यमशीलताको विकास गर्दै अघि बढेको देखिएको छ ।

सहकारीको प्रवद्र्धन, अनुगमन र निरीक्षणमा चासो नदिँदा प्रभावकारिता हुनसकेको छैन । प्रदेश नं ५ को सन्दर्भमा चार हजार २३७ सहकारी संस्था छन् । सहकारी संस्था सञ्चालनका लागि ३३ हजार ३७६ सञ्चालक छन् । प्रदेशमा ११ लाख ११ हजार ३१५ सदस्य र छ हजार ६६२ कर्मचारी छन् । प्रदेशमा छ अर्ब ३४ करोडभन्दा माथि शेयर पूँजी छ । ३० अर्ब १६ करोडभन्दा माथि बचत र ३४ अर्ब ५० करोडभन्दा माथि ऋण लगानी परिचालित छ ।

नेपालमा हाल ३५ हजार बढी सहकारी संस्था सञ्चालित छन् । सहकारीमार्फत सानादेखि ठूला व्यवसाय सञ्चालन गर्र्नका लागि सहज भएको छ । कूल गार्हस्थ उत्पादनमा सात प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशत योगदान छ । सहकारीमार्फत ६० हजार ५१७ जनाले प्रत्यक्ष रोजगारी पाउन सफल छन् । नेपालको सहकारी अभियान विधिवतरूपमा विसं २०१३ चैत्र २० गते चितवनको बखानुपुर ऋण सहकारी संस्थाको स्थापनाबाट भएको हो ।

जिल्ला सहकारी सङ्घ पाल्पाका सचिव भूपति पाण्डेयका अनुसार जिल्लामा २९२ सहकारी सञ्चालनमा छन् । चार वटा विषयगत, एक जिल्ला सहकारी सङ्घ, जिल्लास्तरीय बचत तथा ऋण सहकारी संस्था सक्रियरूपमा सञ्चालित छन् ।

बचत तथा ऋण सहकारीमा ९१, दुग्ध १९, बहुउद्देश्यीय ३८, कृषि १०८, अदुवा नौ, कफी नौ, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार एक, मौरी एक, जडीबुटी एक, बीउबिजन, कोशेली र स्वास्थ्य एक÷एक सहकारी संस्था रहेको सहकारी सङ्घका सचिव भुपति पाण्डेयले बताए । जिल्लामा ९१ बचत तथा ऋण सहकारीमध्ये जिल्ला बचत तथा ऋण सहकारी सङ्घमा ६३ आबद्ध हुँदै आएका छन् । ठूलो मात्रा उत्पादनमूलक क्षेत्रमा नै लगानी हुँदै आए पनि स्थानीय तहमा ठोस योगदान भएको देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय