वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूति स्थापना गरिने
आइतबार, माघ ०५, २०७६ मा प्रकाशित

सुर्खेत, माघ ५ : वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि धम्म देशना (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै धम्म देशना को शुभारम्भ गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सहित प्रस्तावना लिएर मन्त्रालयसमक्ष सहयोगको आग्रह गर्दै भने, सहयोग सङ्कलन गरेर निर्माण सम्पन्न गर्न समय लाग्न सक्छ, त्यसैले प्रस्तावना ल्याएर आउनुस्, समपूरक र विशेष अनुदानमार्फत आर्थिक सहयोग प्रदेश सरकारले उपलब्ध गराउँदछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सचेतक सीता नेपालीले वीरेन्द्रनगरको मुटु बुद्धपथमै बुद्ध सरोवर निर्माण गरिनु गौरवको विषय भएको बताए । धम्म देशना शुभारम्भमा धर्मगुरु प्रेमदोर्जे लामाले जिल्ला प्रहरी कार्यालयमा बुद्धमूर्तिलाई सम्मानजनक रुपमा राख्न आग्रह गरे । माघ ९ गतेसम्म सञ्चालन हुने धम्म देशनाबाट करिब ५० लाख रकम सङ्कलन हुने अपेक्षा गरिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बुद्ध सरोवर निर्माणमा न्यूनतम नौ करोडदेखि अधिकतम १२ करोड लागतको अनुमान गरिएको व्यवस्थापन समितिका अध्यक्ष पञ्चसिंह रोकाया खाम्पाले बताए ।

आठ कट्ठा क्षेत्रफलमा रहेको प्रस्तावित बुद्ध सरोवरमा ३५ फिट अग्लो बौद्ध झण्डाअनुरुप पानीको फोहोरा पनि निर्माण गरिनेछ । धम्म देशनाको शुभारम्भ समारोहमा करिब एक लाख बराबरको दान सङ्कलन भइसकेको छ । आयोजकका अनुसार कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीले १० हजार १००, गुरुङ समाज परिषद्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर गुरुङले ५१ हजार, स्थानीय झकबहादुर सिजापति मगरले ३१ हजार १०१ सहयोग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय