रोकिएन छाउपडी गोठ बनाउन
आइतबार, माघ ०५, २०७६ मा प्रकाशित

डोटी, माघ ५ : छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत हालसम्म ६७ गोठ भत्काइएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका वडा नं ३ को सिदुरेपानीमा २८ ,वडा नं १ र २ को बिपिनगर, बर्छैन र बिठारा गााउँमा ३६ तथा जोरायल गाउँपालिका५ धुपारी गाउँमा तीन ती छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने क्रम जारी रहेको छ । प्रहरीले छाउगोठ भए नभएको अवस्थाका बारेमा समेत अनुगमनसमेत गरिरहेको जनाएको छ । अनुगमनका क्रममा यी दुई गाउँपालिकामा मात्रै ११३ वटा छाउपडी गोठ रहेको भेटिएको प्रहरीले जनाएको छ ।उनले भने, गाउँपालिकाबाट छाउपडी गोठ भत्काउने अभियान शुरु गरेका छौँ, भेटिएका जति सबै छाउगोठ भत्काउँदै जाने छौँ ।

प्रहरीले सञ्चालन गरेको अभियनामा यहाँका स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाको सहभागिता रहँदै आएको छ । अभियानलाई सफल बनाउन स्थानीय निकायसँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । उनले भने, छाउगोठ कहाँ कहाँ कति छन् गोप्यरुपमा सूचना लिएर त्यसैका आधारमा गोठ भत्काउन प्रहरी टोली परिचालन गर्ने गरेका छौँ, अब छाउगोठ बनाउनेलाई कारवाही हुन्छ ।

डोटी जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने तयारी अगाडि बढाइएको छ । हालै सम्पन्न छाउपडी प्रथा उन्मूलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारी रुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भने, छाउपडी कुप्रथाले समग्र सुदूरपश्चिमकै शिर निहुरिने गरेको छ, छाउपडी गोठ बनाउनेका विरुद्ध सशक्तरुपमा उत्रिने छौँ ।

छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउछ भन्ने अन्ध विश्वासका साथ महिनावारीअर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले गाउँमा बनाइएका छाउगोठ भत्काउन यहाँका स्थानीयतहलाई पत्राचारसमेत गरेको छ । जिल्लाभरिमा २०० को हाराहारीमा छाउगोठ हुन सक्ने यस क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको अनुमान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय