– रवीन्द्र काफ्ले
फिदिम, माघ ५ : धेरै सुनिएको, चिनिएको ठाउँ हो तेह्रथुमको आठराई । आठराई पूर्वी नेपालमा राजनीतिक÷सामाजिक परिवर्तनको ज्योति छर्ने ठाउँ पनि हो । आठराई विकासका गतिविधिले विस्तारै उज्यालिँदै छ । यहाँसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ । विद्युतीकरण पनि अघि बढेको छ । बसाइँसराइले उजाडिएका आठराई उजिल्याउन चुहानडाँडामा विमानस्थल निर्माणको प्रकृया अघि बढेको छ ।
यही आठराई गाउँपालिकाको छातेढुङ्गाबाट मध्यपहाडी लोकमार्ग छोडेर नौ किलोमिटर जति यात्रा गरेपछि मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो पुगिन्छ । प्रधानमन्त्री ओली जन्मे हुर्केको, पञ्चायत विरुद्धको आन्दोलनको चेतना पाएको र क्रान्तिमा सम्मिलित भएको ठाउँ पनि आठराई नै हो । प्रधानमन्त्री ओलीले विभिन्न सन्दर्भ र कुराकानीमा आठराईसँग जोडिएका प्रसङ्गहरू सुनाउने गरेका छन् ।
केही महिना अघिसम्म मुलुकका कार्यकारी प्रमुखको जन्मघरसम्म मोटरबाटो पुगेको थिएन । भर्खरै उनको जन्मघरसम्म साङ्घुरै भए पनि मोटरबाटो पु¥याइएको छ । गत साता मध्यपहाडी लोकमार्गको अवलोकनमा आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली आठराईको छातेढुङ्गाको हात्तिपोखरीबाट ओलीको जन्मघरतर्फ प्रस्थान ग¥यो । निकै कष्टसाथ करीब ६ किलोमिटर दूरी पार भयो तर, त्यसपछि सवारीसाधन अघि बढाउने अवस्था भएन । सवारी चालकहरू भन्दै थिए – ‘यो बाटोमा राम्रोसँग घुम्ती मोड्न पनि पुग्दैन ।’
अघिल्लो रात पानी परेकाले आठराई गाउँपालिका–४ इवाको रातो माटोमा सवारी अघि बढ्न सकेनन् । घुम्तीमा गाडी भासिने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले गाडी अघि नबढाउन भने । गाडीबाट उत्रेर उनी पैदल अघि बढ्नुभयो । हिलाम्ये बाटोमा राम्रोसँग हिँड्न मिल्ने अवस्था थिएन । उनको साथमा मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक अशोककुमार शर्मा, सांसद्द्वय भवानीप्रसाद खापुङ र घनश्याम खतिवडा पछि लागे । मन्त्रालयसँग करीब डेढ खर्बको विकास बजेट छ ।
केही समथर ठाउँमा छ प्रधानमन्त्री ओलीको जन्मघर । उनको जन्मघरलाई आठराई क्षेत्रलाई जस्तै उज्यालो पार्ने प्रयत्न भइरहेको छ । विकासको गतिले उज्यालो बनाउन मद्दत पनि पुगिरहेको छ तर, सिङ्गो गाउँ भने उजाड छ । बसाइँसराइले अलि वरपरका पाखाबारीहरू समेत बाँझिन थालेका छन् । पारिपट्टि पाँचथरको हिलिहाङमा मध्यपहाडी लोकमार्ग र तमोर कोरिडोरको ठूलो ट्र्याक देखिए पनि प्रधानमन्त्रीको गाउँ भने सुनसान छ । ‘गाउँमा पातलो मात्रै मान्छे भेटिने रहेछन्,’ तेह्रथुमका सांसद भवानीप्रसाद खापुङले भने । पूर्वी पहाडबाट हुने बढ्दो बसाइँसराइको मारमा प्रधानमन्त्रीको गाउँ समेत परेको छ ।
खरले छाएको, ढुङ्गा, माटो र काठले बनेको प्रधानमन्त्री जन्मेको घर अघिल्तिर उनीकै परिवारजनले टिनको छानो भएको ठूलो घर निर्माण गरेका छन् । यी दुई घरभन्दा करीब ५० मिटर पर प्रधानमन्त्री ओलीको व्यक्तिगत लगानीमा हालै मात्र हेलिप्याड निर्माण सम्पन्न भएको छ । त्यहाँसम्म सानो कच्ची बाटो पुगेको छ । ‘सबै मानिसहरूले तेह्रथुममा, आठराईमा केही हुन्छ भने अहिले हुन्छ भन्ने गरेका छन्, यही धर्तीको छोरो यो देशको कार्यकारी प्रमुख हुनुुहुन्छ’, सांसद खापुङले भने, ‘केही होला भन्ने आशा पलाउन थालेको छ । भर्खर त प्रधानमन्त्रीज्यूको घरसम्म बाटो पुग्दैछ ।’ प्रधानमन्त्रीले आगामी फागुन ११ गते आफ्नो ६८औँ जन्मदिन मनाउन जन्मथलो आउने मनसाय ब्यक्त गर्नुभएपछि पूर्वाधार निर्माणको कार्य भइरहेको स्थानीयवासीको भनाइ छ ।
पहाडहरू कसरी उजाडिँदैछन् भन्ने राम्रो प्रमाण प्रधानमन्त्री स्वयं जन्मेको गाउँले देखाउँछ । बारीमा सुन्तलाका रुखहरू छन् । पुराना रुखहरू सुक्दै गएका छन् तर, नयाँ बिरुवा हुर्किएको पाइन्न । गाउँमा काम गर्ने मान्छे नै नभेटिने अवस्था रहेकाले यस्तो स्थिति आएको स्थानीयवासी बताउँछन् । दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीको जन्मघरमा भर्खरै सडकको ट्र्याक पुगेको छ भने अरु गाउँहरूको हालत यसै बुझ्न सकिन्छ । यहीँकी विष्णुमाया भुसालको परिवारले प्रधानमन्त्रीको घरलाई उज्यालो बनाउन मद्दत गरेका छन् । घर, आँगन गोबर माटोले लिपेर चिटिक्क पारिएको छ । ‘हामीलाई कमाइ गरिखान वर्षौँदेखि यी घरहरू छोडिएका छन्,’ भुसालले भने, ‘पहिले बिक्री गरिएका यहाँका अन्य घरजग्गा प्रधानमन्त्रीज्यूको पहलमा पुनः खरिद गरिएका छन् ।’
प्रधानमन्त्री ओलीको परिवार २०२८ सालमा बसाइँ सरेर झापा गएको थियो । राजनीतिक आन्दोलनमा सक्रिय रहनु पर्दा प्रधानमन्त्री ओलीले आफ्नो जन्मथलोबारे पर्याप्त ध्यान दिन नपाएको स्थानीयवासी बताउँछन् । लामो सङ्घर्षबाट अन्य प्रधानमन्त्रीभन्दा फरक अवसर प्राप्त गर्नुभएका प्रधानमन्त्री ओलीकै अगुवाइमा मुलुकमा विकास र समृद्धिको जग बस्नेमा पनि स्थानीयवासी ढुक्क देखिन्छन् । धेरै स्थानीयवासी प्रधानमन्त्रीको जन्मथलो एक विशिष्ट स्थानको रूपमा विकसित हुने अपेक्षामा देखिन्छन् ।
पछिल्लो पटक २०६९ सालमा प्रधानमन्त्री ओली जन्मघर आइपुग्नु भएको थियो । अहिले उनको जन्मघरलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने तयारी भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आठराई गाउँपालिकाका इन्चार्ज भीम घिमिरेका अनुसार उक्त सङ्ग्रहालयमा ओलीसँग सम्बन्धित सम्पूर्ण सामग्री राख्ने तयारी गरिएको छ । उनको बाल्यकालदेखिका विषय समेट्न खोजी कार्य भइरहेको घिमिरेले वताए । यस्तै, ‘केपी शर्मा ओली ट्रष्ट’ले यहाँ कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि २०० रोपनी जमीन खरिद गरिसकेको छ । अझै २०० रोपनी जमीन खरिदको प्रकृयामा रहेको ट्रष्टले जनाएको छ । कृषिको आधुनिकीकरणका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित केन्द्र स्थापनाको काम अघि बढाइएको हो ।
जीर्ण अवस्थामा पुगेको प्रधानमन्त्री ओलीको जन्मघरलाई पुरानै स्वरूपमा संरक्षण गर्नुपर्ने स्थानीय बासिन्दा बताउँछन् । प्रधानमन्त्रीको जन्मघर एक ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको रूपमा विकास हुने भएका कारण यहाँसम्म कालोपत्रे सडक, विद्युत्, खानेपानी, सिँचाइ जस्ता पूर्वाधार निर्माण गर्नुपर्ने उनीहरूको माग छ । गाउँलाई जीवन्त राख्न गाउँबाट बसाइँसराइ रोक्न अत्यावश्यक रहेको स्थानीयवासी विनोद सिलवाल बताउँछन् ।