धादिङ ट्रक दुर्घटना : रक्सीको नशामा सवारी चलाउँदा दुर्घटना
बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

धादिङ, माघ ८ : मध्य धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक आज नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

ज्वालामुखी गाउँपालिका–४ ढोला मण्डलीको दर्शन गरेर फर्कंदै गरेको ग१ख ८०१२ नंको आइचर ट्रक सडकमा पल्टेर दुर्घटना भएको हो । दुर्घटनापछि तीनजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने चारजनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानाकारी दिए ।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, विदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ र ध्वजबहादुर गुरुङ रहेका छन् । दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । अत्यधिक गतिमा गाडी कुदिरहेको थियो । सबै मानिस हल्ला गरेर कराइरहेको बेला पिच सडकमा गाडी पल्टेको गाडीमा सवार घाइते कमल गुरुङले जानकारी दिए । मण्डलीमा पाठी काटेर भोग दिने चलनअनुसार भोग चढाएपछि गाउँवासी मिलेर पाठीको मासु र रक्सी खाएका थिए । रक्सीको सुरमा गाडी चलाएर दुर्घटनामा परेको घाइतेहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर