ग्रीसमा पहिलो महिला राष्ट्रपति
बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

एथेन्स, माघ ८ : वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति बन्न लाग्नुभएको छ ।

राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरिसक्नुभएको छ । ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारको भनाइ छ ।

‘ग्रीसको खुलापन र भविष्यका लागि यो शुभ सङ्केत हो,’ प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताए । उनीले साकेल्लारापोलोउलाई राष्ट्रपतिमा चयन गरियोस् भन्दै बुधबारको संसद् बैठकमा पेश गरे ।

चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रीसको माथिल्लो प्रशासनिक अदालत (काउन्सिल अफ स्टेट)को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहनु भएको छ । यो पद सम्हाल्ने उनी पहिलो महिला पनि छन् ।

सर्वोच्च अदालतका न्यायाधीशकी छोरी साकेल्लारापोलोउले पेरिसको सोर्बोन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गर्नुका साथै संवैधानिक र वातावरणीय कानूनमा विशेषज्ञ छन् । हाल ग्रीसमा प्रोकोपिस पाभ्लोपोलोस राष्ट्रपति हुनुहुन्छ, र उनको पाँच वर्षको कार्यकाल आगामी मार्चमा समाप्त हुँदैछ ।

ग्रीसमा राष्ट्रपतिको चयन संसद्ले गर्दछ । साकेल्लारापोलोउले बुधबार हुने मतदानमा २६० भन्दा बढी मत प्राप्त गर्नु हुनेछ । मुख्य विपक्षी दलको पनि समर्थन भएका कारण उनको विजयी सुनिश्चित भएको हो । संसदमा राष्ट्रपति चयन हुन हाल न्यूनतम २०० मत भए पुग्छ ।

मुख्य विपक्षी वामपन्थी नेता अलेक्सिस सिप्रासले साकेल्लारापोलोउ एक ‘असाधारण न्यायाधीश‘ र मानवअधिकारको पक्षधर रहनु भएको बताए । समाजवादी किनाल पार्टीले पनि समर्थन जनाइसकेको छ ।

प्रधानमन्त्री मिट्सोटाकिसले यस पटक राष्ट्रपतिका लागि महिलाको छनौट मात्र होइन कुनै दलको सदस्य नरहेको व्यक्ति पनि राष्ट्रपतिमा उम्मेदवार बन्नु भएकाले विगतको लामो परम्परा तोडिएको बताए । विगतका राष्ट्रपति प्रायः पार्टीका वरिष्ठ व्यक्तित्व रहने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय