काठमाडाैं, जेठ ६ : " />
हुवावेमाथि अमेरिकाको नयाँ प्रतिबन्ध
मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित

काठमाडाैं, जेठ ६ : चिनियाँ कम्पनी हुवावेमाथि बन्देज लगाइरहेको अमेरिकाले थप नयाँ प्रतिबन्धको घोषणा गरेको छ । सेमिकण्डक्टर प्रविधिमाथि हुवावेको पहुँचलाई सिमित गर्ने उद्देश्यका साथ अमेरिकाले हुवावेमाथि नयाँ निर्यात प्रतिबन्धको घोषणा गरेको छ ।

यो नयाँ प्रतिबन्धपश्चात् चिप डिजाइनमा अमेरिकी प्रविधि तथा सफ्टवेयरको प्रयोग गर्ने सेमिकण्डक्टर निर्माताहरूले अमेरिकी सरकारको अनुमतिविना हुवावेलाई आफ्ना उत्पादन बेच्न पाउने छैनन् ।

हुवावे कम्पनी आफ्नो राष्ट्रिय सुरक्षामाथि खतराको रूपमा रहेको भन्दै अमेरिकाले हुवावेमाथि विभिन्नखाले बन्देज लगाउँदै आएकोमा पछिल्लोपटक नयाँ निर्यात प्रतिबन्ध लगाएको हो । उता, चीनले भने अमेरिकी कदमको उचित बदला लिने चेतावनी दिइसकेको छ ।

यसअघि गत वर्ष नै अमेरिकाले कुनै पनि अमेरिकी कम्पनीले सेमिकण्डक्टर चिपहरू हुवावे कम्पनीलाई बेच्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । उक्त घटनापछि चीनमा हुवावे तथा अन्य कम्पनीहरूले समेत आफैं चिपको उत्पादन बढाएका छन् ।

तर चिनियाँ कम्पनीहरूले अमेरिकी प्रविधिकै प्रयोग गरी चिप प्रयोग गरिरहेको भन्दै अमेरिकाले अमेरिकी प्रविधिको प्रयोग भएका कुनै पनि सेमिकण्डक्टर चिप हुवावेलाई बेच्नमा प्रतिबन्ध लगाएको हो ।

अमेरिकाका वाणिज्य मन्त्री विल्बर रोसले अमेरिकाको राष्ट्रिय सुरक्षामाथि नै खतराको रूपमा रहेको हुवावेले गरिरहेको अमेरिकी प्रविधिको दुरूपयोग रोक्नका लागि नयाँ कदम चालिएको बताए ।

नयाँ नियमअनुसार, अमेरिकी प्रविधि प्रयोग गरी अमेरिका बाहिर अन्य मुलुकहरूमा उत्पादन भएका प्रविधिहरू चीनमा हुवावेका लागि निर्यात गर्दा लाइसेन्स अनिवार्य चाहिनेछ । यद्यपि, तयार भइसकेका तथा निर्यातका लागि पठाइसकेका प्रविधि तथा उपकरणहरू भने आगामी १ सय २० सम्म लाइसेन्सविना नै निर्यात गर्न पाइनेछ ।
बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर