कांग्रेस क्षेत्रीय सभापतिसहित तीन जनालाई ज्यान मार्ने धम्की
शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

धनगढी, जेठ १० : नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति दिनेशराज जोशी, चुरे गाउँपालिकाका कांग्रेसबाट अध्यक्षका उम्मेदवार तथा गाउँपालिका सहसभापति टीकाराम ढुंगाना र नेपाली कांग्रेस क्षेत्रीय सहसचिव तथा चुरे गाउँपालिका वडा नम्बर ४ वडाध्यक्ष कृष्ण मल्ललाई ज्यान मार्ने धम्की आएको छ ।

पछिल्लो समयमा चौमाला तथा खैराला क्षेत्रमा वैज्ञानिक वन बनाउने नाममा तस्करहरुले चलखेल गरिरहेका बेला वैज्ञानिक वन बनाउन नहुने भन्ने अभिव्यक्ति दिएका क्षेत्रीय सभापति जोशी, ढुंगाना र मल्ललाई गौरीगंगा नगरपालिका–३ झिलका नारायण खत्रीले टाउको काटेर फाल्ने धम्की दिएका हुन् ।

चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडाको सामुदायिक वनलाई वैज्ञानिक वन बनाउने प्रस्ताव लगेर २० लाख रुपैयाँ लगानी गरिसकेको बताउँदै खत्रीले आफूहरुको रुख काट्ने योजनालाई विफल तुल्याउन खोज्ने जोशी, ढुंगाना र मल्लको टाउको काट्ने धम्की बालुवागडाका एक स्थानीयमार्फत् दिएका हुन् ।

उनले धम्की दिएको टेलिफोन रेकर्डमा भनिएको छ, ‘काठका ठेकेदार कृष्ण देउवामार्फत् २० लाख रुपैयाँ लिएर नेतादेखि कैलालीका डिएफओ, वनका अन्य कर्मचारीलाई मिलाएको छु, यति गर्दा पनि कसैले वैज्ञानिक वन बनाउने मेरो योजनामा तगारो बनेमा त्यसको टाउको काटेर झुण्ड्याउँछु ।’ उनले फोनमार्फत् बारम्बार दोहोर्याउँदै भनेका छन्–‘मेरो योजनालाई तुहाउन खोज्ने दिनेश जोशी, टीकाराम ढुंगाना र कृष्ण मल्ललाई बाँकी राख्दैन, उनीहरुको टाउको काटेर बीच सडकमा झुण्ड्याउँछु ।’

आफू र ठेकेदार कृष्ण देउवाको योजनामा बालुवागडाका उपभोक्ताको समर्थन लिन सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री दीर्घ स्वडारी, डिएफओ रामचन्द्र कँडेललाई पठाएको कुरा खोल्दै उनले टेलिफोन रेकर्डमा भनेका छन्,‘ आफूहरु गत वैशाख ३१ गतेका दिन बालुवागडामा राहत वितरण गर्न जाँदा स्थानीयले वैज्ञानिक वन बन्न लागेको र त्यसमा उपभोक्ताको सहमति नभएको भन्ने आवाज उठेपछि अन्तिम निर्णय उपभोक्ताकै हुने भएकाले त्यसमा आफू र आफ्नो पार्टीले सहयोग गर्ने वचन दिएको बताउँदै क्षेत्रीय सपभाति जोशीले भने,‘हामीले त बालुवागडाका आम नागरिकले उठाएको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने भनेका थियौँ, न कि कसैको विरोध गरेका थियौँ ।’

आफूहरुलाई सार्वजनिक स्थलमा गालीबेइज्जति गर्नुका साथै ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको बताउँदै टीकाराम ढुंगानाले भने,‘अब हामी ज्यानको सुरक्षा माग्दै जिप्रका पुगेका छौँ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीमा शुक्रबार बिहान मुद्दा गर्दा गराउन पुगेका उनीहरुलाई बेलुकी अबेला मात्रै प्रहरीले दर्ता गर्न मानेको थियो ।

अनेकन तिकडमबाजी गर्दै प्रहरीले घरी यो मिलेन घरी त्यो मिलने भनेर झुलाउँदै बेलुकी मात्रै मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय