लकडाउन जेठ ३२ गतेसम्म लम्बियो
शनिबार, जेठ १७, २०७७ मा प्रकाशित

काठमाडौं, जेठ १७ : सरकारले जारी लकडाउनको अवधी जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनको अवधी १२ दिन थप गरेको हो। यसअघि थपिएको समयअुनसार जेठ २० गतेसम्म लकडाउन जारी गरिएको थियो। लकडाउनको मोडालिटीका विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिइएको छ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु पनि तत्काल नखोल्ने निर्णय गरेको छ। अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका प्रवक्त खतिवडाका अनुसार असार १६ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरिएका छन्। सीमा नाकाहरु पनि सोही अवधिसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ। सीमा क्षेत्रबाट आवत जावत बढ्दै जाँदा संक्रमणको जोखिम बढेकाले सुरक्षा व्यवस्था थप कडाई गर्ने निर्णय पनि बैठकले गरेको छ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाउने र त्यसका लागि थप निर्णय गर्न गृहमन्त्रालयलाई निर्देशन दिइएको छ। नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ। अहिलेसम्म ७ जनाको मृत्यु भएको छ। शनिबार एकैदिन १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको थियो।

शनिबार नै बसेको सुरक्षा परिषद् बैठकले सीमा क्षेत्रको विवाद र कोरोना जोखिम तथा चुनौतीका विषयमा छलफल भएको छ। अहिलेको परिस्थितिमा सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताए।  चैत ११ गतेदेखि जारी लकडाउनको अवधी सकिन तीन दिन बाँकी रहँदा अवधी थप गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय