दिवा खाजा कार्यक्रमले बदल्यो विद्यालय
शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित

काठमाडौँ, माघ १० : निकै बाक्लो जनघनत्व भएको ठहिटी क्षेत्रमा रहेको एक सार्वजनिक विद्यालय झण्डैझण्डै खारेजीमा पुग्न लागेको यथार्थ सायद कमलाई मात्र थाहा होला । काठमाडौँको केन्द्र, बाक्लो बसोबास, नजिकै अन्य कुनै सार्वजनिक विद्यालय नभएको स्थानमा रहेर पनि ठहिटीस्थित शान्ति शिक्षा विद्या मन्दिर बन्द हुने अवस्थामा थियो ।

शिक्षक थिए तर विद्यार्थी थिएनन् । पूर्वाधार थियो तर संरक्षण थिएन । विद्यालयको गुणस्तर अभिवृद्धिमा न स्थानीयको चासो थियो, न विद्यालय जोगाउनुपर्छ भन्ने नै । शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको विद्यालयप्रति कुनै सदासयता थिएन । कतिपय स्थानीय आफ्ना बालबच्चा उक्त विद्यालयमा नपढ्ने भएकाले हेयको दृष्टिले हेर्दथे त कतिपयले अन्य प्रयोजनका लागि विद्यालयका संरचना प्रयोग कष्टसमेत गर्थे । राणाकालमा बनाइएको विद्यालयको पूर्वाधार अत्यन्त जीर्ण थियो ।

विद्यालयमा खासै विद्यार्थी थिएनन् । शिक्षक कार्यालय आउने हाजिर गर्ने घर जाने प्रवृत्ति मौलाएको थियो । विद्यालयलाई साच्चैको ‘विद्या मन्दिर’ बनाउनेभन्दा पनि आफ्नो अनुकूल प्रयोग गर्ने धेरै थिए । अनियमिता व्याप्त थियो । बाहिरबाट आएका व्यक्तिका सन्तति अध्ययन गर्ने भएकाले स्थानीयको चासो पनि थिएन । शिक्षक, कर्मचारीको जागिरे मानसिकता थियो । विद्यालय बनाउनुपर्छ, विद्यार्थी बढाउनुपर्छ भन्ने कोहीलाई थिएन ।

विद्यार्थी सङ्ख्या अन्यन्त न्यून भएपछि केही ‘अल्छी’ शिक्षकको जागिर खाने थलो बनेको थियो विद्यालय । पर्याप्त विद्यार्थी नभएपछि सरकार पनि सो विद्यालय खारेजी गर्ने कि त मर्जमा लैजाने विषयमा बहसमा थियो । विद्यालय खारेजी वा मर्जरभन्दा पनि विद्यालय बनाउने व्यक्तिको खोजीमा धेरैको ध्यान केन्द्रित थियो । उक्त विद्यालयलाई बनाउन तम्सिने कोही थिएन । लामो अनुभव हासिल गरेका शिक्षक पनि शान्ति शिक्षा भनेपछि ‘पछि’ हट्थे, आँट गर्ने कोही थिएन ।

युवा पुस्ताले नै सार्वजनिक विद्यालयको सुधार नगरे कसले गर्छ भन्ने मान्यताका साथ सुदामप्रसाद गौतमले सो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभयो । दिन रात नभनी विद्यालयको शैक्षिक गुणस्तर बढाउन उनी खटिइनुभयो । दिन प्रतिदिन विद्यार्थी सङ्ख्या घट्दै गइरहेको, अत्यन्त कमजोर भौतिक पूर्वाधार, स्थानीयको उतिसाह्रो सहयोग नहुनु उनका लागि निकै ठूलो चुनौति थियो ।

प्रअको जिम्मेवारी सम्हाल्लेलगत्तै गौतमले ती सबै समस्याको समाधान खोज्न थाल्नुभयो । विद्यालयमाथि बढेको चुनौती समाधान गर्न तथा साधनस्रोतको खोजी गर्न अघि बढ्नुभयो । विशेषतः दिनभरी काम गर्ने, बिहान बेलुका छाक टार्ने अभिभावकका विद्यार्थीको उपस्थिति बाक्लो थियो । उनीहरू कहिले विद्यालय आउँदै नआउने त कहिले भोकै आउने, पढ्दापढ्दै निदाउने, पढ्नमा कहिल्यै पनि ध्यान नदिने र नतिजा पनि राम्रो नआउने अवस्था थियो ।

विद्यालयको शैक्षिक गुणस्तर बढाउनु त छँदै थियो । विद्यार्थी सङ्ख्या पनि बढाउनु उनका लागि चुनौतिको पर्खाल थियो । बर्सेनि घट्दो विद्यार्थी सङ्ख्यालाई रोक्न तथा भोकै आउने विद्यार्थीबाट ‘नतिजा’ खोज्न प्रअ गौतमले दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने तयारी गरे । सीमित स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने कुनै उपाय थिएन् । अनि सुरु भयो दाताको खोजी ।

निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गर्न उनी आफैँले अवधारणापत्र तयार पारी नेपालका लागि इजरायली दूतावासमा पेश गरे । नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्दै आएको इजरायली दूतावास विद्यार्थीलाई निःशुल्क खाना खुवाउने कार्यमा सहयोग गर्न तयार देखियो । लगत्तै इजरायली दूतावासले केही सहयोग ग¥यो । अनि दुई वर्षदेखि विद्यार्थीलाई निःशुल्क खाना खुवाउने कार्यक्रम शुरु गरियो । अहिले इजरायली दूतावास र ईश्वरलाल फाउण्डेशनले दिवा खाना कार्यक्रमका लागि सहयोग गरिरहेका छन् ।

दिवा खाना कार्यक्रमसँगै विद्यार्थीको उपस्थिति बाक्लो हुँदै गयो । पेटभर खाएपछि विद्यार्थीले पनि मन लगाएर पढ्न थाले । ‘अहिले विद्यार्थीको उपस्थिति पनि बढेको छ’, प्रअ गौतमले भने, ‘विद्यार्थी सङ्ख्यासँगै शैक्षिक गुणस्तर पनि निरन्तर सुध्रिदै गएको छ ।’ दुई वर्षअघि ७०÷८० को विद्यार्थी सङ्ख्या अहिले बढेर ३०० नाघेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम पनि निरन्तर अघि बढेका छन् ।

कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन हुने थालेको छ । विद्यालय पोशाक निःशुल्क गरिएको छ । यसवर्षदेखि १० कक्षासम्मै अङ्ग्रेजी माध्याममा पढाउने तयारी भइरहेको छ । निरन्तर विद्यालयको सुधार देखेर विद्यार्थी पनि उत्साहित छन् । कक्षा ५ मा पढ्दै आएका मोहम्मद रजा अहिले विद्यालयको अवस्था निकै राम्रो भएको र पढ्न मन लाग्ने वातावरण बनेको बताउँछन् ।

विद्यालयमा पूर्वाधार विकासले तीव्र रुप लिएको प्रधानाध्यापक गौतम बताउनुहुन्छ । ‘पूराना संरचना भत्काएर नयाँ बनाउँदै छौँ’, उनले भने, ‘एसियाली विकास बैङ्कको सहयोगमा नयाँ भवन बन्दैछ । यस्तै नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सूचना प्रविधि ‘आइटी’ को व्यवस्था गर्दैछौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय