प्रभावकारी भएन पूर्ण सरसफाइको स्टिकर टाँस्ने कार्यक्रम
शनिबार, माघ ११, २०७६ मा प्रकाशित

बेझाड, माघ ११ : रामपुर नगरपालिकालाई सफा र सुन्दर नगरपालिका बनाउन घरघरमा दुई वर्षअघि पूर्ण सरसफाइको स्टिकर टाँस्ने काम थालियो । हरियो र नीलो दुई थरिका स्टिकर घर घरमा टाँसियो ।

नगरपालिकाका ४, ५, ६ र ७ का वडाका करिब दुई हजार घरधुरीमा सरसफाइको स्टिकर टाँसिएयो । यसको नियमित अनुगमन मूल्याङ्कन नहुँदा यो कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो गरिएको छ । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले रामपुर नगरपालिकासँग साझेदारी गरी उक्त कार्यक्रम सञ्चालन गरेको हो । यसको लागि परियोजनाले दुई कर्मचारी राखेको थियो । परियोजनाको कार्यक्रम अवधि सकिएपछि यसले निरन्तरता पाउन सकेन ।

नगरपालिकाले थोरै बजेट विनियोजन गरेर कार्यक्रमलाई निरन्तरता दिन सक्ने भए पनि यसप्रति बेवास्ता गरेकाले कार्यक्रम प्रभावकारी बन्न नसकेको स्थानीय बताउँछन् । घरघरमा पूर्ण सरसफाइ र आंशिक सरसफाइको सङ्केत जनाउने खालको स्टिकर टाँसेपछि नगरपालिकाले अनुगमन र निगरानी बेला बेलामा गर्नुपर्ने स्थानीय मनिराज तिवारी बताउँछन् ।

‘घर घरमा नीलो र हरियो स्टिकर टाँसेपछि सरसफाइमा निरन्तरता दिएका छन् या छैनन् भनेर नगरपालिकाले अनुगमन र निगरानी गर्नुपर्ने हो, परियोजनाको कार्यक्रम अवधि सकिएपछि त्यसले गरेका काम निरन्तरता हुन नसक्दा लगानी खेर गइरहेको छ’, उनले भने ।

परियोजनाले नगरपालिका–६ को विजयपुर बजार र रामपुर अस्पतालमा एक÷एक शौचालय निर्माण गरिदिएको नगर स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गाना बताउँछन् । परियोजनाबाट रु १३ लाख र नगरपालिकाको रु १३ लाखमा शौचालय निर्माण गरिएको हो ।

‘स्टिकर टाँसिएपछि केही समय अनुगमन गरियो, अवधि सकिएपछि निगरानी नहुँदा कार्यक्रम प्रभावकारी बन्न सकेन’, उनले भने । घरभित्र र घर वरिपरि निस्कने फोहोरजन्य पदार्थले विभिन्न किसिमका रोग मानिसमा निम्त्याउने हुँदा नियमित सरसफाइमा ध्यान दिन सचेत गराउँदै स्टिकर टाँस्ने कार्यक्रम सञ्चालन गरिएको हो ।

हरियोले सरसफाइ पूर्ण र नीलोले सरसफाई पूर्ण नभएको सङ्केत जनाउने स्टिकर घरघरमा टाँसिएको छ । कतिपय स्थानमा पूर्ण सरसफाइ नभएको ठाउँमा नीलो स्टिकर टाँस्ने काम भएको स्थानीय सरस्वती सोमैले बताए ।

‘स्टिकर टाँस्न आउँदा एक÷एक महिनामा नगरपालिकाले अनुगमन गर्नेछ भनिएको थियो, स्टिकर टाँसेको दुई वर्ष बितिसक्यो अहिलेसम्म अनुगमनमा कोही आएको छैन’, उनले भने । रामपुरलाई सफा र सुन्दर नगर बनाउन घरमा पूर्ण सरसफाइको सङ्केत जनाउने खालको स्टिकर टाँस्ने कार्यक्रमले सघाउ पुग्नेछ तर नियमित अनुगमन र निरन्तरता नभएकोमा चिन्ता व्यक्त गरिएको छ ।

व्यक्तिगत सरसफाइ, सफा र स्वच्छ घर आँगन, सुरक्षित खाना, सुरक्षित पानी, चर्पीको नियमित प्रयोगजस्ता पाँच सूचक पूरा भएको घरघरमा पूर्ण सरसफाइको सङ्केत जनाउने हरियो स्टिकर टाँसिएको परियोजनाका तत्कालीन कर्मचारी गीता पौडेलले बताए । नगरपालिकाले अनुगमन र निरन्तरता दिन नसक्दा कार्यक्रमले प्रतिफल दिन नसकेको पौडेलको भनाइ थियो ।

सामाजिक परिचालक, नगर स्वास्थ्य शाखाका कर्मचारी, जनप्रतिनिधिलगायतले घर आँगन, घरभित्रको अवस्था, शौचालयको अवस्था आदिको अवलोकन गरेर मात्र हरियो र नीलो स्टिकर टाँस गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर