शहरबाट गाउँ फर्केर माछापालनमा रमाउँदै मल्ल
शनिबार, माघ ११, २०७६ मा प्रकाशित

तनहुँ, माघ ११ : तनहुँको म्याग्दे गाउँपालिका–५ का ५६ वर्षीय विष्णुकुमार मल्ल सदरमुकाम दमौलीमा २५ वर्ष व्यापार गरी अहिले गाउँमा फर्केर व्यावसायिक माछापालन थालेका छन । दमौली डाग्रीखोल्सीस्थित फेन्सी पसल बिक्री गरेर एक वर्षदेखि मल्ल माछापालनमा सक्रिय छन ।

उनले १५ रोपनीमा आठ पोखरी बनाउनुभएको छ । पोखरीमा ग्रास, कमन, सिल्भर, नैनी, रहुलगायतका माछा छन् । शुरुमा आठ हजार माछाका भुरा पोखरीमा राख्नुभएका मल्लले पाँच हजार बिक्री गर्दा रु तीन लाख आम्दानी गरी सकेको बताए ।

पछिल्लो समय गाउँका युवापुस्ता विदेशीने क्रम बढ्न थालेको छ । उनीहरूलाई गाउँघरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले व्यवसाय थालेको मल्लले सुनाए । रेड गार्डेन कम्पनी जर्मनमा पाँच वर्षको अनुभव बटुलेका मल्ल तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका पूर्वसभापतिको साथै विभिन्न सङ्घसंस्थामा सक्रिय भएर काम गर्दै आएका छन् । शुरुमा रु २५ लाख लगानी गरेको बताउँदै मल्लले एक रोपनीमा जति धान उत्पादन हुन्छ, त्यसको चार गुना बढी माछा उत्पादन हुने भएकाले आफू यसतर्फ आकर्षित भएको जानकारी दिए । मल्लले माछा पोखरीमा आवश्यकताअनुरुप चार÷पाँचजनालाई रोजगारी दिएका छन् । माछा पोखरीमा धेरै सर्प हानिकारक भए पनि केही भने लाभदायक हुने उनले अनुभव सुनाए ।

पोखरीमा सर्प नहुने हो भने मुसा र भ्यागुताले पोखरीको डिल भत्काइ दिँदा पोखरीको पानी रित्तिने सम्भावना रहेकाले माछा पोखरीमा सर्प आवश्यक हुने गरेको उनले बताए ।

स्थानीय तहमै माछा बिक्री

त्यहा उत्पादन गरिएका माछाको लागि बजारको कुनै पनि अभाव छैन । उत्पादित माछा दमौली बजार खपत हुन्छ । उनले भने, ‘कतिपय मानिस त पोखरीमा नै लिन आउँछन् ।’ माछाको त्यहाँ प्रतिकिलो रु ४०० पर्छ ।

ठूला ठूला व्यवसायीले प्रतिकिलो रु २०० मा माग्ने गरेकाले दुःख लाग्ने गरेकाले स्थानीय तहमै ताजा माछा बिक्रीको व्यवस्था गरिएको छ । हालै सम्पन्न सातौँ तनहुँ महोत्सवमा १२५ किलोग्रामको माछा बिक्री गर्न सफल भएको मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर