बन्द भयो इलामेली किचन
मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित

इलाम, असार २ : कोरोना भाइरसको सङ्क्रमण बढ्ने भएपछि सरकारले गरेको लकडाउनपश्चात निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द भएको छ। लकडाउन खुकुलो भएसँगै केही सहजता भएको भन्दै किचन बन्द भएको हो।

इलाम बजारमा किनमेल गर्न आएका र अस्पतालमा बिरामी लिएर आएकाहरुलाई निःशुल्क खाना खुवाउने अभियान नै सञ्चालन गरिएको थियो। होटल एशोसिएशन इलामका अध्यक्ष तथा समाजसेवी देवी पौडेल र समाजसेवी सुमन श्रेष्ठको पहलमा सो अभियान सञ्चालन गरिएको थियो। अभियान सञ्चालन भएपछि देश–विदेशबाट समेत खाना खुवाउन सहयोग प्राप्त हुँदै आएको थियो।

इलामेली किचन नाम दिएर सञ्चालित अभियानमा दैनिक १०० बढीले खाना खाने गरेका थिए। गत चैत १५ गतेबाट शुरु भएको अभियानमा बजार आएकामात्र होइन, सडकपेटीमा बस्ने, मागेरै जीविकोपार्जन गर्नेदेखि तरकारी बेच्न आएकाहरुले समेत खाना खाएको अभियानकर्मी पौडेलले बताए। उनले यस कार्यले धेरैलाई राहत मिलेको बताए।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि दिनदिनै थपिँदै गइरहेको छ। यस महामारीको सङ्क्रमण र जोखिम रोक्न सरकारले चरणबद्धरूपमा देशमा लकडाउन गर्ने गरेको अवस्थामा सो किचनले बजार आएकालाई सहयोग पुर्‍याएको अभियानकर्मी श्रेष्ठले बताए।

स्थानीय सरकारले गरिब, असहाय, विपन्न तथा श्रमिकलाई सकेजति राहत उपलब्ध गराउँदै आएको भनिए पनि यहाँ खाना खान १०० भन्दा बढी उपस्थित हुने गरेका थिए। इलाममा स्थानीय सरकारले एकातिर राहत उपलब्ध गराइरहेको छ भने अर्कोतर्फ लकडाउनको समयमा काम गरेर खाने श्रमिकका साथै गरिब तथा विपन्न एवं सडकपेटीमा बस्नेलाई लक्षित गरेर इलाम बजारमा निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको हो।

अत्यावश्यक कामले गाउँगाउँबाट आएका मानिसले बजारमा होटल बन्द हुँदा खाना नपाएर भौँतारिरहेको अवस्था तथा अस्पतालमा ल्याइने बिरामी र कुरुवालाई खानाको व्यवस्था नभएको अवस्थासमेत आउन थालेपछि जिल्लाका युवाहरूको सक्रियतामा इलाम बजारमा निःशुल्क खानाको व्यवस्था गरिएको थियो। युवाहरुको यस कार्यको सबैले खुलेर प्रशंसा गरेका छन्। इलाम नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा समेत सोही किचनबाट खाना लगेर खुवाउने गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय