निशुःल्क स्वास्थ्य शिविरबाट ३९३ जनाले लिए सेवा
आइतबार, माघ १२, २०७६ मा प्रकाशित

बनेपा, माघ १२ : पाँचखालको समाजकल्याण प्राथमिक विद्यालयमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३९३ जनाले सेवा लिएका छन् । पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सं‌घको आयोजनामा शनिबार सम्पन्न भएको शिविरमा ३९३ स्थानीय बासिन्दाले स्वास्थ्य परीक्षण गराएका हुन् ।

स्वास्थ्य शिविरको उद्घाटन पाकिस्तानी राजदूत डा मजर जावेद, पाँचखाल नगरका प्रमुख महेश खरेल र नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सं‌घका अध्यक्ष हिमालयनशम्सेर राणाले संयुक्तरूपमा उद्घाटन गरेका थिए । पाकिस्तानबाट अध्ययन गरेर फर्किएका आठ चिकित्सकबाट बहिरङ्ग स्वास्थ्य परीक्षण गरिएको नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सं‌घका महासचिव मञ्जुरत्न शाक्यले बताए ।

कार्यक्रममा पाँचखाल नगरका प्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सं‌घका अध्यक्ष हिमालयनशम्सेर राणालगायतको उपस्थिति थियो । यसैबीच आँखा उपचार केन्द्र स्थापना गरेपछि पाँचखालवासीले आफ्नै नगरभित्र आँखाको उपचार गर्न पाउने भएका छन् । आँखा उपचार केन्द्रको शुरुआत गरेसँगै बनेपा र काठमाडौँसम्म गएर उपचार गर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । युवा व्यवसायी एवं नेपाल आँखा अस्पताल शाखा सञ्चालक कल्याण ढुङ्गानाले पाँचखाल–४ समाजकल्याणचोकमा आँखा उपचार केन्द्र स्थापना गरी सेवा दिन थालेका थिए । शनिबार आँखा अस्पतालको उद्घाटनसँगै निःशुल्क आँखा शिविरसमेत सञ्चालन गरेका छन् ।

आँखा उपचार केन्द्रको उद्घाटन गर्नुहुँदै नगरप्रमुख खरेलले विदेश तथा शहरमा रहेका युवा गाउँमा फर्केर यस्तै व्यवसाय र सेवामा लाग्न जरुरी रहेको बताए । समृद्ध पाँचखाल नगर बनाउन सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुहुँदै उनले नगरपालिकाले मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा आँखा उपचार केन्द्र स्थापना गरेर नगरलाई सहयोग पुग्ने अपेक्षा गरे । कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी दनुवार र नगरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष सञ्जय तामाङलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय