कुष्ठरोगका सबैभन्दा बढी बिरामी प्रदेश नं २ मा
आइतबार, माघ १२, २०७६ मा प्रकाशित

काठमाडौँ, माघ १२ : नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ । निवारण भन्नाले प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ ।

सरकारले सन् २०२० को अन्तसम्म सम्पूर्ण जिल्लामा कृष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । तराईका झापा, मोरङ, उदयपुर, बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, सिराहा, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली र अछाम कुष्ठरोगको प्रकोप दर एकभन्दा बढी भएका जिल्ला हुन् ।

विगत नौ वर्षको तथ्याङ्क हेर्दा वार्षिक तीन हजारको हाराहारीमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले ६७औँ विश्व कुष्ठरोग दिवसका अवसरमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्षमा तीन हजार २८२ कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको जानकारी दिइयो ।

उक्त तथ्याङ्कअनुसार प्रदेश नं २ मा सबैभन्दा बढी एक हजार ४८४, त्यसपछि प्रदेश ५ मा ७१९, प्रदेश १ मा ४७१, सुदूरपश्चिम प्रदेशमा २६६, वाग्मती प्रदेशमा १६५, कर्णाली प्रदेशमा ८९ र गण्डकी प्रदेशमा ८८ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेका हुन् ।

यसबाहेक गत आवको अन्त्यमा उपचारमा रहेका बिरामी सङ्ख्या दुई हजार ९२१ रहेको महाशाखाअन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यस्थापन शाखाका निमित्त प्रमुख डा उत्तम घिमिरेले जानकारी दिए । कुष्ठरोगको कारणबाट हालसम्म करीब ३१ हजारभन्दा बढी अपाङ्गता भएको अनुमान छ भने बहुऔषधिबाट उपचार पूरा गर्नेको सङ्ख्या एक लाख ९२ हजारभन्दा बढी रहेको शाखाले जनाएको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइको ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । ९५ प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्न सक्ने क्षमता हुन्छ । यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई नसर्ने निमित्त प्रमुख डा घिमिरेले बताए ।

यो रोग बहुऔषधिको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका कीटाणुलाई शिथिल बनाई रोग अरूलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्णरूपमा निको हुन्छ र अपाङ्गता हुँदैन । कुष्ठरोग निवारणका लागि हाल मुलुकभर जनचेतनामूलक कार्यक्रम, सङ्क्रमण नियन्त्रण, अपाङ्गता बचावट, पुनस्र्थापना, सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि, साझेदारसँगको समन्वय तथा सहकार्य, बहुऔषधिको व्यवस्थापनलगायत क्रियाकलाप सञ्चालन भइरहेको महाशाखाले जनाएको छ ।

अझै पनि खुल्न सक्दैनन् कुष्ठरोगी

नियमितरूपमा औषधि खाए पूर्णरूपमा निको हुने भए पनि कुष्ठरोगी अझै खुलेर बाहिर आउन सकेका छैनन् । समाजबाट अपहेलित हुने डरले कुष्ठरोगका बिरामी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् ।

पूर्वाग्राही शक्ति, कुशासन र विभेद्का कारण रोगी घृणित हुने गरेकाले कुष्ठरोगीलाई समाजमा खुल्ला वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौति रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका क्षयकुष्ठ अधिकृत रेकबहादुर थापाले बताए । ‘कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन, जान्ने बुझ्ने मान्छेबाटै कुष्ठरोगी अपहेलित भइरहेको छन्,’ उनले भने, ‘यसप्रति सकारात्मक सचेतना फैलाउन आवश्यक छ ।’

कुष्ठरोगका बिरामीले आफ्नै घर नजिकको स्वास्थ्य संस्थामा पुगेर औषधि नखाई अन्यत्रैको स्वास्थ्य संस्थामा गएर औषधि सेवन गर्ने प्रचलन कायम रहेको उनले बताए । ‘नजिकको अस्पतालमा गएर औषधि सेवन गर्दा अरुले चिन्लान् भन्ने भय व्याप्त छ’, उनले भने, ‘त्यस्तो भयलाई हटाउन स्वास्थ्य कार्यालयले पनि कुष्ठरोगका बिरामीलाई सचेतना दिने गरेको छ ।’

छ महिना र एक वर्षसम्म नियमित औषधि खाएपछि निको हुने भएकाले कुष्ठरोगीलाई ठूलो रोगका रूपमा लिननहुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए । ‘खुलेर आउन नसक्ने त्यस्ता बिरामीलाई अस्पतालसम्म पु¥याउने वातावरण सिर्जना गर्नुपर्छ,’ अधिकारीले भने । उनका अनुसार कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार तथा समुदायमा रोगका बारेमा सही जानकारी दिने र प्रचारप्रसार अभियान सञ्चालन गरिएको छ ।

तनहुँमा ११ कुष्ठरोगका बिरामी

जिल्लामा हाल एघार कुष्ठरोगका बिरामीले उपचार सेवा लिइरहेका छन् । गत आर्थिक वर्षमा १० कुष्ठरोगका बिरामी रहेकामा चालु आर्थिक वर्षमा दुई जना नयाँ बिरामी थपिएका क्षयकुष्ठ अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार एक जना बिरामी भने नियमित औषधि सेवनपछि निको भएका छन् ।

हाल व्यास नगरपालिकामा नौ, बन्दीपुर गाउँपालिका एक र शुक्लागण्डकी नगरपालिकामा एक जना सर्ने कुष्ठरोगका बिरामी छन् । जसमध्ये छ महिला र पाँच पुरुष रहेका कार्यालयले जनाएको छ । शुक्लागण्डकीका एक पुरुष भने औषधि सेवनपछि निको भएका छन् । सरकारले कुष्ठरोगमुक्त नेपाल बनाउने अभियान अन्तर्गत सबै जिल्लामा कुष्ठरोगको प्रकोप दरप्रति दश हजार जनसङ्ख्यामा एकभन्दा कम गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष ०७५÷७६ मा नेपालमा तीन हजार २८२ कुष्ठरोगका नयाँ बिरामी फेला परेका थिए । त्यसमध्ये १४ वर्षमुनिका बिरामी ३३७ रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर