म्याग्दीमा एकै दिन १४ जनाले कोरोना जितेर घर फर्किए
मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित

बेनी, साउन ६ : हिमाली जिल्ला म्याग्दीको बेनीस्थित आइसोलेसनमा रहेका १४ कोरोना सङ्क्रमितहरूले एकै पटक कोरोनालाई जितेर घर फर्केका छन् । हालसम्म ४० जनामा सङ्क्रमण पोजिटिभ आएको म्याग्दीमा ३४ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

आइसोलेसनमा बसेकामध्ये मालिका गाउँपालिका–१, निस्कोटका ३३ वर्षीय, २ का २५ वर्षीय, ३ का ४८ वर्षीय, ५ का २९ वर्षीय र ७ का २६ वर्षीय गरी पाँच जना मालिका गाउँपालिकाका रहेका छन् । त्यस्तै, बेनी नगरपालिका– १ का १८ वर्षीय, ४ का २८ र ३० वर्षीय पुरुषहरू कोरोना जितेर घर फर्केका छन् ।

त्यसैगरी मङ्गला गाउँपालिका–१ का ३५ वर्षीय पुरुष एवम् २ हिदीका २३ वर्षीय पुरुषले कोरोना जितेका छन् भने रघुगङ्गा-३ का ३० र ४७ वर्षीय, ६ का २९ वर्षीय पुरुष तथा अन्नपूर्ण गाउँपालिका–६, घारका ३० वर्षीय पुरुषले कोरोना जितेर घर फर्केका छन् ।

साउन ४ गते बिहान छ जनामा कोरोना पोजिटिभ देखिएसँगै आइसाेलेसन भरिएकोमा ४ गते राति १४ जनाको नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज भएसँगै आइसाेलेसनमा छ जना मात्रै बाँकी रहको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । आइतबार एक रात भने बेनीमा रहेको २० बेड क्षमताको आइसोलेसनमा सबै शय्या भरिएको भएको थियो ।

सोमबार १४ जना डिस्चार्ज भएसँगै म्याग्दीमा कोरोना निको हुनेहरू ३४ पुगेका छन् भने आइसोलेसनमा छ जना उपचाररत रहेका छन् । बेनीमा तीन ठाउँमा रहेको क्वारेन्टाइनमा विदेशबाट आएर एक महिलासहित १२० जना बसेका छन् । क्वारेन्टाइन तथा आइसोलेसन सबैमा बिदेशबाट आएका नागरिक मात्रै रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर