नागढुंगा सुरुङमार्ग निर्माणको तयारी
शनिबार, माघ १८, २०७६ मा प्रकाशित

काठमाडौँ, माघ १८ : सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ओभरफ्लाइको निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुंगासिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो ।

चिनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति ल्याउनेलगायतका काम अघि बढाएको सडक विभागले जनाएको छ । कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पुहँच सडक निर्माण शुरु गरिसकेको सडक विभाग विकास समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

सोही आयोजनाअन्तर्गत काठमाडौँतर्फ बलम्बुसम्म दुई दशमलव पाँच प्रतिशत र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ । आयोजना हेर्ने गरी क्याम्प कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको उनले बताए । उनले भने, ‘कम्पनीले आवश्यक तयारीको काम गरिरहेको पाइएको छ ।

निर्माणस्थलमा झण्डै ८० जनशक्ति कार्यरत छन् । तीमध्ये कतिपय नेपाली र कतिपय चिनियाँ छन् । सुरुङ निर्माण नेपालका लागि नयाँ भएकाले विभागले तीन जना इञ्जिनीयर अनुभवका लागि पठाउने भएको छ । उनले भने, ‘त्यो अनुभव भविष्यमा हामी अरु स्थानमा सुरुङ बनाउनमा प्रयोग गर्न सक्छौँ ।

निर्माणस्थल खाली गराउन विभागले समन्वयको काम गर्दै आएको छ । स्थानीयवासीलाई मुआब्जा वितरण गरेर घर हटाउने, बिजुली, खानेपानीलगायतका संरचना हटाउने काम भइरहेको आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताए । जग्गाका अधिकांश समस्या समस्या भइसकेको उनको भनाइ थियो । उनले भने, ‘गुठीका नाममा जग्गा भएका स्थानीयवासीको मात्रै मुआब्जा बाँकी छ, उनीहरूले आवश्यक कागजात ल्याएपछि त्यो टुंगो लाग्छ ।

सुरुङमार्गले सडकको चाप हटाउने मात्र नभई नेपालकै समृद्धिमा विशेष योगदान गर्न सक्ने देखिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) मा सुरुङमार्गको लगानी आगामी सात वर्षमा उठ्ने उल्लेख छ । प्राविधिक दृष्टिकोणबाट ५०० मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ । यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ । नेपालमा ५०० मिटरभन्दा कम लम्बाइका तीन सुरुङमार्ग भए पनि त्यसभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङमार्ग हो ।

जापान सरकारको सफ्ट लोनमा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ मध्ये ४० महिना बाँकी छ । नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच गत असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगानौबिसे सडकखण्डमा दैनिकरुपमा हुने जाम हट्ने महाशाखा प्रमुख थापाले बताए । त्यस स्थानमा सयौँको संख्यामा सवारीसाधन र धेरै व्यक्ति अलपत्र पर्ने समस्या समाधानसँगै पेट्रोलियम पदार्थको बचत हुनेछ ।

निर्धारित अवधि निर्माण सम्पन्न गर्न पर्याप्त भएको विभागले बताउँदै आएको छ । सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई वटा सुरुङको निर्माण हुनेछ । दुई वटा फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुंगलमा फ्लाइओभरबनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुद ढुंगा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने प्रमुख थापाले बताए । कमजोर ढुंगा माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा सर्भिस सेन्टरनिर्माण गरिने छ । सो स्थानमा बसपार्क, तरकारी संकलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेशी नगरपालिकामा नै हस्तान्तरण हुनेछ । उनले भने, ‘केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्न सक्नेछ ।

निर्माणमा जनशक्ति, उपकरणसँगै सहायक ठेक्कामा नेपाली ठेकेदार संलग्न हुने प्रमुख थापाले बताए । कम्पनीले ठूला र जटिल उपकरण जापानबाटै ल्याउने, सम्भव भएसम्मका उपकरण यहीको प्रयोग गर्ने बताएको छ । पेटी ठेक्कामार्फत सानासाना कामका लागि नेपाली कम्पनीलाई जिम्मेवारी दिइने उनले बताए ।

जाइकाको सफ्ट लोन (०.०१ प्रतिशत ब्याजदरको सहुलियत ऋण) सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले १६ अर्ब सहयोग गर्ने र छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय