भारतमा टिकटकजस्तै फिचर भएको भिडियो एप ल्याउँदै युट्युब
बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित

भदौ ३१ । युट्युबले भारतमा लोकप्रिय भिडियो एप टिकटकजस्तै फिचर भएको एप ल्याउने भएको छ । युट्युब सर्ट्समा १५ सेकेण्डको भिडियो बनाउन मिल्नेछ र यसमा टिकटकमा भएकाजस्ता अन्य फिचर पनि हुनेछन् ।

गत जुन महिनामा चीनसँगको सम्बन्ध तनावपूर्ण बनेसँगै भारतले टिकटकलगायतका ५८ चिनियाँ एपमाथि प्रतिबन्धको निर्णय गरेको थियो । त्यतिबेला भारतमा टिकटकका १२ करोड प्रयोगकर्ता थिए । यो एपको सबैभन्दा ठूलो बजार भारत थियो । भारतमा प्रतिबन्ध लागेसँगै अहिले धेरै स्थानीय कम्पनीले टिकटकको स्थान लिन प्रयास गरिरहेका छन् । अब उनीहरुको प्रतिस्पर्धा युट्युबसँग हुनेछ ।

एक ब्लग पोस्टमा युट्युबका प्रोडक्ट म्यानेजमेन्टका उपाध्यक्ष क्रिस जेफले भनेका छन्, ‘युट्युब सर्ट्स मोबाइल फोनबाट छोटो र आकर्षक भिडियो बनाउन चाहने प्रयोगकर्ताको लागि हुनेछ ।’

यो नयाँ प्लेटर्फममा मल्टिसेगमेन्ट क्यामेरा पनि हुनेछ, जसबाट धेरै भिडियो क्लिप्सलाई जोडेर नयाँ भिडियो बनाउन सकिन्छ । यसमा स्पिड कन्ट्रोल पनि हुनेछ, एक टाइमर र काउन्टडाउन पनि राखिएको छ, जसको कारण हातको सहयोग विना नै भिडियो रेकर्ड गर्न सकिन्छ ।

जेफले सर्ट्स राम्रो हुँदै गएको र नयाँ फिचर राखिएसँगै यसलाई अन्य बजारमा पनि सार्वजनिक गरिने बताएका छन् । स्रोत : बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय