अमेरिकी मन छुँदै ‘सत्र पुष्प पत्रहरू’ कथासंग्रह
बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित

काठमाडौं, असोज १ : विश्व कोबिड–१९ को कहरमा जकडिएको परिस्थितिमा नेपाललगायत विभिन्न मुलुकमा शरणार्थी शिविरहरूमा रहेका बालबालिकाको स्वास्थ्य तथा शिक्षामा पहुँच पु–याउन सहयोग पु¥याउने उद्देश्यले अमेरिकाको भर्जिनिया निवासी नेपाली मूलकी सुकृति शर्माले आफ्नो भाइ साइमनसँग हातेमालोमा ‘सत्र पुष्प पत्रहरू : हुर्कदै गर्दाका कथाहरू’ नामक पुस्तक प्रकाशित गरेकी छिन् ।

उक्त पुस्तकमा १७ वटा कथा छन्, जसमा मानवीय व्यक्तित्वका १७ विशेषता स्वीकृति, विनम्रता, श्रद्धा, सद्गुण, उद्देश्य, सरलता, प्रतिबद्धता, लगनशीलता, सेवा, स्थिरता, आश्वासन, इच्छुकता, वफादारी, संवेदनशीलता, अनुकम्पा, बुद्धि र भक्तिका बारेमा चर्चा गरिएको छ ।

बढ्दो उमेरका बालबालिकाका लागि लक्षित उक्त पुस्तकले छोटो समयमै विभिन्न अखबारका सम्पादक र विश्वविद्यालयका प्राध्यापकहरूबाट सकारात्मक समीक्षा प्राप्त गरिसकेको छ । ‘आफ्ना कडा लेखहरुको माध्यमबाट बालबालिकाका विषयलाई पत्रपत्रिकामा स्थान दिलाउन सफल सुकृतिको पहिलो कथा संग्रहले युवा पाठकको मन जित्नेमा म ढुक्क छु,’ सत्र पुष्प पत्र : हुर्कदै गर्दाका कथाहरू कृतिबारे अमेरिकाबाट प्रकाशित ‘ओजी डटकम’ अनलाइन पत्रिकाकाकी सम्पादक ट्रेसी मोरानले लेखेकी छिन् ।

सानफ्रान्सिस्को विश्वविद्यालयका सहायक प्राध्यापक डा. टीका लम्सालले ‘सत्र पुष्प पत्र : हुर्कदै गर्दाका कथाहरू’ का छोटाछोटा कथा आकर्षक र कौतुहल जगाउन सक्षम रहेको टिप्पणी गरेका छन् । चीनको एक विश्वविद्यालयमा पत्रकारिता पढाउने डा. धर्म अधिकारीले उक्त पुस्तकबारे लेखेका छन्, ‘कोरोना भाइरस महामारीको कठिन समयमा लेखिएका यी कथाहरूको सारांश कम प्रेरणादायक छैन । जीवन भनेको अदम्य मानव भावनाबारेमा हो, हाम्रो चेतनाको बोधो भावनाको बारेमा हो, केबल साँचो अर्थमा ब्युँझनका लागि हो ।’

अमेरिकामा प्राध्यापनरत प्राध्यापक डा. ईश्वरी पाण्डेले पुस्तकको अग्रलेखमा लेखेका छन्, ‘तपाईंको यात्रा अब रमाइलो ज्ञानका लागि सुरु हुँदैछ । दुई सुन्दर कथाकारको यो अद्भूत संग्रह पढ्दा तुरुन्त महसुस हुञ्छ कि यी शब्दको सामान्य अर्थमा बाल कथा मात्र होइनन् । यी कथा सबै उमेर समूहका लागि हुन् । यी कथा पढेपछि म स्वयंलाई शान्त, सम्पूर्ण र अर्थपूर्ण महसुस भइरहेको छ ।’ पुस्तकको समीक्षा गर्दै केही लेखकले लेखेका छन्, ‘ यो पुस्तक अभिभावकहरुको मौखिक कथा बाचन संस्कृतिबाट समृद्ध परम्पराको नतिजा हो ।’ त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर लेखकद्वयका बुबा कृष्ण शर्मा प्राज्ञिक अनुसन्धान र पत्रकारिता कर्ममा क्रियाशील छन् । उनी ‘राइजिङ नेपाल’ का पूर्वसहायक सम्पादक हुन् ।

लेखिका सुकृति भन्छिन्, ‘कोरोना भाइरसका कारण घरमै बन्दी भएको अवस्थामा विभिन्न शरणार्थी शिविरहरुमा आफूजस्तै बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको चुनौतीबारे टेलिभिजनमा वृत्तचित्र हेरेपछि यो कथा संग्रह प्रकाशन गर्ने जमर्को बढेको हो ।’ कथा लेख्न सकृतिसँगै हातेमाले गरेका उनका भाइ साइमन भन्छन्, “यी कथाहरुलाई अरु पाठकसम्म पु¥याउन पुस्तक लेख्न पाउँदा हामीलाई खुशी लागेको छ ।’ साइमन कक्षा ७ मा पढ्छन् ।

जुम प्रविधिबाट हालै अमेरिकामा गरिएको विमोचन कार्यक्रममा एक रिपोर्टरले कथाहरू यति छोटा किन भनेर सोध्दा कक्षा १२ मा अध्ययनरत सुकृतिले भनिन्, ‘हामीले कथा, कथाको पृष्ठभूमि, व्यक्तित्व, व्यक्तिगत चरित्र, कथानक र उपकथानकबारे विस्तृत विवरणहरू लम्बाइमा विस्तार गर्न सक्थ्यौं लामो बनाउन तर त्यसो गर्न चाहेनौं । किनकी हामी अहिले भिक्टोरियन युगमा छैनौं । उक्त युगमा मनोरन्जनका माध्यम लामा उपन्यास र नाटक मात्र थिए । त्यस्तै अहिले हाम्रा पाठक चलाख छन् र हामी उनीहरूको बहुमूल्य समय खोस्न चाहँदैनौं ।’

पत्रकार कृष्ण शर्माका अनुसार लेखकद्वयले यो पुस्तक आमा सोना र हजुरआमा मिन्द्रकुमारीमा समर्पित गरेका छन् । केशबराज खनालले प्रत्येक कथालाई चित्रमा उतारेको यो कथा संग्रहको कवर तथा पेज डिजाइन कृष्ण शर्माले गरेका छन् । ‘किन्डल डाइरेक्ट पब्लिसिङ’ ले बजार व्यवस्थापन गरेको यो पुस्तक सेप्टेम्बर १५ मा अमेजनमा विमोचन गरिएको थियो । यो पुस्तक अमेजनमार्फत बजारमा आएको हो । अमेजनले सेप्टेम्बर ९ देखि यो पुस्तकको अनलाइन र पेपरब्याक संस्करण प्रिअर्डरका लागि खुला गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय