परासी, माघ १८ : प्रदेश नं ५ सरकारले तीन वर्षभित्रमा ४५ हजार युवालाई स्वरोजगार बनाउने भएको छ । प्रदेश सरकारले शुरु गरेको युवा स्वरोजगार कार्यक्रममार्फत ४५ हजार युवालाई रोजगार बनाउन लागिएको हो । जुन क्षेत्रमा युवा रोजगार बन्न चाहन्छन् सोही क्षेत्रमा दक्ष बनाउने गरी प्रदेश सरकारले सीपमूलक तालीम प्रदान गर्ने प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा ईश्वर गौतमले जानकारी दिए । ‘युवाहरू जुन क्षेत्रमा प्रवेश गरी रोजगारको सुनिश्चित गर्छन्, त्यही क्षेत्रमा दक्ष बनाउने गरी सरकारले तालीम दिन्छ’, उनले भने ।
पश्चिम नवलपरासीस्थित सुनवल जेसिजको आठौँ पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले प्रदेश सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना पनि युवा परिचालनमा लक्षित रहने बताए । लगानी सम्मेलनमा विभिन्न क्षेत्रका ३० परियोजनामा लगानीका लागि सरकारले आह्वान गर्ने उनले जानकारी दिए ।
उपाध्यक्ष गौतमले कृषि, उद्योग र पर्यटनमा उद्यम गर्न आह्वान पनि गरे । उनले भने, ‘प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर नीति बजेट तथा कार्यक्रम सञ्चालन गरिरहेको छ, गरीबी निवारण गर्दै समृद्ध प्रदेश खुशी जनताको नारालाई सार्थक बनाउन युवाकै जिम्मेवारी छ ।’
प्रदेश नं ५ को तिलौराकोटदेखि रामग्रामसम्मका नौ नगरपालिकालाई जोड्ने गरी एकीकृत शहरी विकास परियोजना सञ्चालन गर्न लागिएको समेत उनले जानकारी दिए । रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुँवरले रामग्राम स्तूपसहित जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न युवालाई आह्वान गरे । नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सँैजुले नवलपरासी, रुपन्देहीलगायतमा रहेका जेसिजहरू मिलेर समाज र राष्ट्रलाई योगदान पुग्ने ठोस कार्य गर्न आग्रह गरे ।
समारोहमा सुनवल जेसिज वर्ष २०१९ की अध्यक्ष ममता पौडेलले वर्ष २०२० का लागि निर्वाचित अध्यक्ष उत्सव पौडेललाई जेसिज चेन हस्तान्तरण गरी पदस्थापना गर्नुभएको थियो । जेसिजको विधानअनुसार एक व्यक्ति, एक पद र एक वर्षको मात्र कार्यकाल रहने गर्दछ । जेसिजमा १८ वर्षदेखि ४० वर्षभित्रका युवा संलग्न हुन पाउँछन् ।