काभ्रेपलाञ्चोक, माघ १८ : भुम्लु गाउँपालिकास्थित जंगल आसपासका बस्तीमा चितुवाको आतंक मच्चिएको छ । केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा छन् ।
वडा नं ७ टारका हरिहर उप्रेतीले चितुवाले गत बिहीबार राति आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताए । गोठको ढोका फोरेर चितुवाले एउटा पाठी आधा खाएको अन्यलाई घाँटीबाट रगत चुसेर मारेको उनले जानकारी दिए । उनका अनुसार शुक्रबार राति पनि चितुवाले स्थानीय लक्ष्मी रिजालका दुई बाख्रा मारिदिएको छ ।
टार आसपास रहेका कुकुरलाई समेत चितुवाले मारेको उप्रतीले बताए । ‘चितुवाले बाख्रा र कुकुरलाई मार्न थालेपछि बस्तीका बासिन्दा त्रसित अवस्थामा छन्’, उनले भने । चितुवाले बालबालिकालाई समेत आक्रमण गर्नसक्ने भएकाले साँझदेखि नै बाहिर ननिस्कने गरिएको पीडित उप्रेतीले जानकारी दिए । वडाध्यक्षलाई जानकारी गराई सिफारिशसहित प्रहरी चौकी जाने तयारीमा रहेको उनले बताए ।
चितुवाले जंगल आसपासका बस्तीमा गोठभित्रै बाख्रा मारेको खबर पीडितबाट आएको वडा नं ७ का अध्यक्ष मोतीलाल तामाङले बताए । उनले भने, ‘सतर्कता अपनाउन सचेत गराइएको छ, आतंक न्यूनीकरणबारे सम्पूर्ण जनप्रतिनिधिसहित छलफल गर्ने योजनामा छौँ ।’ केही दिनदेखि गाउँपालिकाका केही स्थानमा दिउँसोसमेत चरिरहेका बाख्रालाई चितुवाले जंगलबाट आएर मार्ने गरेको खबर आउन थालेको उनले बताए ।