सन् २०२० को तेश्रो त्रैमासिकमा दक्षिण को" />
सामसुङको त्रैमासिक आम्दानी ५४ अर्ब डलर
शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित

सन् २०२० को तेश्रो त्रैमासिकमा दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले साढे ५४ अर्ब अमेरिकी डलर आम्दानी गर्ने एक रिपोर्टले देखाएको छ ।

योनहाप इन्फोम्याक्सले सार्वजनिक गरेको प्रक्षेपण अनुसार वर्षको तेश्रो त्रैमासिकमा कम्पनीले आफ्ना प्रडक्टहरुको बिक्रीबाट हुने आम्दानीमा अघिल्लो त्रैमासिकको तुलनामा उल्लेख्य वृद्धि गर्नेछ भने मुनाफामा पनि वृद्धि हुनेछ ।

कम्पनीको आम्दानीको मुख्य व्यवसायको रुपमा रहेको सेमिकन्डक्टरको बिक्रीदर उच्च रहँदा मेमोरी चिप्सको मूल्य घटे तापनि सामसुङको आम्दानीमा बढोत्तरी भएको हो । त्यस्तै महामारीको यस अवधिमा सामसुङले आफ्ना स्मार्टफोनसँगै घरेलु विद्युतीय सामानहरु समेत विश्व बजारमा उल्लेख्य मात्रामा बेच्न सफल भएको छ ।

जुलाईदेखि सेप्टेम्बर सम्मको अवधिमा सामसुङले कूल ५४ अर्ब ५० करोड डलरका सामानहरु बेच्नेछ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.१ प्रतिशतले बढी हो ।

त्यस्तै सञ्चालन मुनाफामा भने गत वर्षको तुलनामा यो त्रैमासिकमा ३३.७ प्रतिशतले वृद्धि भई कूल ८ अर्ब ८० करोड पुग्नेछ ।

तेश्रो त्रैमासिकमा सामसुङको आम्दानी दोश्रो त्रैमासिकभन्दा २०.७ प्रतिशतले बढी हो भने सञ्चालन मुनाफा २७.६ प्रतिशतले बढी हो ।

विश्वको अग्रणी मेमोरी चिप तथा स्मार्टफोन उत्पादक कम्पनी सामसुङले आफ्नो तेश्रो त्रैमासिकको आम्दानी प्रतिवेदन आगामी हप्ता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

तेश्रो त्रैमासिकमा सामसुङका ८ करोड गोटा ग्यालेक्सी स्मार्टफोन बिक्री हुने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ५० प्रतिशत बढी हो । त्यस्तै यस अवधिमा अघिल्लो त्रैमासिकको भन्दा ४५ प्रतिशत बढी अर्थात् १ करोड थान ट्याबलेट बिक्री हुनेछन् ।

विश्लेषकका अनुसार तेश्रो त्रैमासिकमा सामसुङको चिप बिजनेसको सञ्चालन मुनाफा ५ ट्रिलियन कोरियन वन पुग्नेछ । त्यस्तै मोबाइल व्यवसायको सञ्चालन मुनाफा ४ ट्रिलियन वन पुग्नेछ । गत त्रैमासिकमा सामसुङको मोबाइल बिजनेसको सञ्चालन मुनाफा १.९५ ट्रिलियन वन थियो ।

विश्वमा महामारीका कारण अधिकांश मानिसहरु वर्क फ्रम होम ढाँचामा रुपान्तरण भैरहेका वा अर्थतन्त्र नै घरभित्र थुनिइरहेका बेला सामसुङले आफ्ना घरेलु उपकरणहरुको बिक्रीदरमा पनि उच्च बढोत्तरी गरेको छ । खासगरी यस अवधिमा सामसुङका टेलिभिजनहरुको बिक्रीदर तीव्र रुपमा बढेको पाइएको छ ।

हालैको एक रिपोर्ट अनुसार सामसुङको प्रभुत्व रहेको विश्वको क्युएलइडी टेलिभिजन बजारमा तेश्रो त्रैमासिकमा २४ लाख ४० हजार गोटा टेलिभिजन बिक्री भएका थिए ।

–एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर