गुगलद्वारा अढाइ सय एन्ड्रोइड एपमाथि प्रतिबन्ध
सोमबार, असोज २६, २०७७ मा प्रकाशित

गुगलले आफ्नो प्ले स्टोरबाट करीब अढाइ सय वटा मोबाइल एपहरुलाई प्रतिबन्ध लगाएको छ । एन्ड्रोइड एपमा रहेका ती एपले प्रयोगकर्तामाथि अनधिकृत हर्कत गरेको पाएसँगै गुगलले ब्लक गरिदिएको हो ।

ती २ सय ४० वटा एपले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई अनेक खालका अनावश्यक विज्ञापनहरु देखाउने लगायतका कार्य गरी गुगलको नियम उल्लंघन गर्ने गरेको हुँदा प्रतिबन्धित गरिएको हो ।

गुगलको सेक्योरिटी समूहले ती एप्लिकेसनविरुद्ध कारवाही गर्ने निर्णय गरेसँगै एपहरुलाई ब्लक गरिएको हो । त्यसरी ब्लक भएका एपहरुमा अधिकांश RAINBOWMIX ग्रुपका रहेका छन् । जसमा पुराना गेमहरु समेत छन् ।

स्मरण रहोस् उक्त ग्रुपका एपहरु हरेक दिन झण्डै डेढ करोड मानिसहरुले प्रयोग गर्दै आएका छन् । ती एपहरुले प्याकटर सफ्टवेयरको माध्यमबाट हरेक दिन डेढ करोड प्रयोगकर्तासामु अनेक खालका विज्ञापनहरु देखाउने गरेका थिए ।

प्रयोगकर्ताहरुलाई अनावश्यक तथा भ्रमपूर्ण विज्ञापन देखाएर दु:ख दिएका ती एपहरु ब्लक गरेसँगै गुगलले आफ्ना एन्ड्रोइड फोनमा RAINBOWMIX ग्रुपका एपहरु भएमा तत्कालै डिलिट गर्न आग्रह गरेको छ ।

लामो समयदेखि गुगलका नियमहरु उल्लंघन गर्दै आएको उक्त ग्रुपका विषयमा शोधकर्ताहरुले White Ops नामक संस्थाको सहयोगमा तथ्यहरुको खुलासा गरेका थिए । त्यससँगै गुगलले उक्त समूहका एपहरुमाथि कारबाही गरेको हो ।

वास्तवमा अनावश्यक एपहरुका कारण फोन प्रयोगकर्ताहरुलाई प्रयोगमा असहजता हुने मात्र होइन फोनको स्पीडमा पनि नकारात्मक असर पर्दछ । सोही कारण गुगलले यस्तो कदम चालेको हो ।

यद्यपि गुगल प्ले स्टोरमा यसअघि पनि समय समयमा अनेकौँ एपहरु ब्लक गर्ने वा पूर्णरुपमा प्रतिबन्ध लगाउने गरिएको छ । विज्ञहरुका अनुसार स्मार्टफोनमा एपहरु मार्फत हुने विज्ञापनिक ठगी निकै टड्कारो समस्याको रुपमा खडा हुँदै गएको छ ।

यसबाट प्रयोगकर्ताहरुलाई नोक्सानी पुग्ने र खतरनाक एपका कारण उपयोगी मोबाइल एपहरुमा समेत नकारात्मक असर पर्ने विज्ञहरु बताउँछन् ।

–एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय