माघको बिहानी चिसोमा वागमती सफा गर्दै बालबालिका
शनिबार, माघ २५, २०७६ मा प्रकाशित

काठमाडौँ, माघ २५ : माघ महिनाको कठ्यांग्रिने चिसोमा बिहान सात बजे नै साना बालबालिका वागमती सफाइका लागि नदी किनारमा उत्रन्छन् ।

‘अघिल्लो पुस्ताले छाडेर गएको दुर्गन्ध हामी सफा गर्छौँ’ भन्ने प्रतिबद्धता लिएका गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित चाल्र्स डार्विन एकेडेमीका विद्यार्थी परिवर्तनको शुरुआत आफैँबाट गर्ने अभियानमा जुटेका हुन् ।

गुह्येश्वरीमाथिको वागमती सफाइ अभियानको ३१३औँ हप्तासम्म वागमतीमा फोहर फाल्ने क्रम नरोकिएपछि माथिल्लो भेगको वागमती सफाइ अभियानको नेतृत्व गर्दै आएको वागमती सुन्दरता सरोकार मञ्चले गतहप्तादेखि स्थानीय विद्यार्थीको सहभागितामा अभियान शुरु गरेको हो ।

जसअन्तर्गत नदी किनारमा विद्यार्थीलाई वागमती सफाइको महत्व र आवश्यक्ताका बारेमा जानकारी गराइन्छ । उनीहरूलाई सफाइ संस्कृतिका बारेमा समुदायमा चेतना जगाउन तयार बनाइन्छ । सफाइमा सक्रिय विद्यार्थी डोल्मा लामा सबैले आफूले गरेको फोहर नदीमा नआउने व्यवस्था मिलाउन घर घरमा सन्देश प्रवाह गर्ने बताउँछन् ।

अभियानको प्रारम्भमा गोकर्णेश्वर नगरपालिका–६ का अध्यक्ष रमेश अर्यालले नदी सफाइमा नगरपालिकाको तर्फबाट कुनै कसुर बाँकी नराख्ने जानकारी गराउँदै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । मञ्चका अध्यक्ष उत्तम पुडासैनीले विद्यार्थीलाई सफाइ अभियानको आवश्यक्ताका बारेमा जानकारी गराउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक युवराज काफ्लेले सफाइ अभियानमा विद्यालयका तर्फबाट निरन्तर सहभागिताका लागि प्रतिबद्धता जनाएका थिए ।

आजको सफाइमा विद्यार्थी १२० जनाभन्दा बढीको सहभागिता रहेको थियो । सफाइ जोरपाटीस्थित बठ बाटिका वरपरको नदी किनारमा केन्द्रित गरिएको थियो । सफाइका क्रममा कुहिने फोहरलाई खाडल खनेर गाडिएको छ । नकुहिने फोहर भने नगरपालिकाले व्यवस्थापन गरेको जनाइएको छ । मञ्च मुहानदेखिकै वागमती सफाइ अभियानमा जुटेको छ ।

वागमती सफाइ महाअभियानको ३५२औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा १६ संस्थाका ३५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए ।

सफाइमा महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत अभियानकर्मीको सक्रियता थियो । ३५०औँ हप्ताको कार्यक्रमदेखि नै यस क्षेत्रको सफाइको जिम्मेवारी वडा नं ११ लाई दिइएको थियो । रुद्रमती सफाइको २०५औँ हप्तामा रातोपुलबाट कालोपुल क्षेत्रमा सफाइ गरियो । सफाइमा पूर्वमन्त्री एवं सांसद गगनकुमार थापाले सफाइ अभियान शुरु भएको छ वर्षका अवसरमा फागुन ३ गते आयोजना गर्न लागिएको विशेष कार्यक्रमले अभियानमा योगदान गर्ने बताए ।

छ वर्ष पूरा भएको अवसरमा आयोजना गरिने कार्यक्रममा नयाँ तरिकाले अभियानलाई लैजाने विषयमा समेत केही घोषणा गर्ने तयारी भइरहेको अभियानकर्मी रोहित गिरीले जानकारी दिए । विष्णुमती सफाइ अभियानको २७९ औँ हप्तामा तारकेश्वर नगरपालिका–६ अष्टमान चोकमा जागरणमूलक सफाइ गरिएको संयोजक शोभाकान्त पाण्डेले सुनाउनुभयो ।

मनोहरा सफाइ अभियानको १५१औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं.३२ स्थित बालकुमारी पुलमुनिको नदी क्षेत्रमा सफाइ गरियो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दंगालले राससलाई जानकारी दिए । चक्रपथ पश्चिम क्षेत्र सफाइको १३२औँ हप्तामा सीतापाइला चोकबाट सोल्टीदोबाटोसम्म सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको छ । चक्रपथ विस्तारका क्रममा केही हप्ताको कार्यक्रम भित्री सडकमा केन्द्रित गरिएकामा आज मूल सडकमा फिर्ता भएको अभियानकर्मी ताराबहादुर कुँवरले बताए ।

महिला तथा बालबालिकाको सहभागितामा शुरु भएको गोदावरी खोला सफाइको ४९आँै हप्तामा लुभु सातथली र चारघरे क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा संकलन भएको फोहर व्यवस्थापनमा नेप्को नेपाल हरिसिद्धिले सहयोग गरेको अभियानकर्मी बेबी थापाले जानकारी दिए ।

यसैगरी उपत्यकाका वागमतीको तिलगंगा र सुन्दरीघाटलगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वागमती सफाइ अभियानको प्रेरणाले हाल देशभर १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय