सामसुङले किन उडायो एप्पलको मजाक ?
शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित

एप्पलले अन्ततः आफ्नो आइफोन १२ सिरिजका नयाँ आइफोन सार्वजनिक गर्यो । आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स गरी चारवटा मोडेलका नयाँ आइफोन एप्पलले एकसाथ सार्वजनिक गर्यो ।

तर कम्पनीले यो पटक आफ्ना आइफोनसँगै चार्जर र इयरपड्स दिन बन्द गरेको छ । आइफोनसँगै चार्जर र इयरपड्स नदिने एप्पलको उक्त कदमको सोसल मिडियामा मात्र होइन अन्य कम्पनीहरुले पनि खरो आलोचना गर्नुका साथै एप्पललाई मजाकमा उडाएका छन् ।

यसअघि चिनिया स्मार्टफोन कम्पनी शाओमीले एप्पललाई व्यंग्य कसेको थियो । शाओमीलाई पछ्याउँदै सामसुङले पनि व्यंग्यात्मक तरिकाले एप्पलको मजाक उडाएको छ ।

विश्वको नम्बर वान स्मार्टफोन कम्पनी सामसुङले आफ्नो सोसल मिडिया च्यानलका माध्यमबाट एप्पलमाथि निशाना साँधेको छ ।

􄑻रिटेल बक्ससँगै पावर एडाप्टर नदिने एप्पलको कदमप्रति लक्षित गर्दै सामसुङले आफ्नो सोसल मिडियामा भनेको छ, ‘सामसुङ ग्यालेक्सी सिरिजका स्मार्टफोनसँग पावर एडाप्टर प्राप्त भैरहनेछ । एडाप्टर प्राप्त भैरहनेछ ।’

एप्पलले आइफोन १२ सँग मात्र नभै अन्य पूराना मोडेलका आइफोनसँग पनि अब चार्जर एडाप्टर नदिने निर्णय गरेको छ । यसको मतलब अब तपाइँले आइफोन ११ खरीद गर्दापनि सँगै चार्जर पाउनुहुने छैन ।

यस्तो निर्णयका कारण एप्पलले आलोचनाको सामना गरिरहेको छ । तर एप्पलले भने पर्यावरणीय हीतलाई ध्यानमा राखेर त्यस्तो कदम चालिएको दाबी गरेको छ । यसबाट हरेक वर्ष उत्पादन हुने विद्युतीय फोहोरमा कमी आउने उसको भनाई छ । चार्जर नहुँदा आइफोन राख्ने बक्सको आकार पनि सानो भएपुग्ने र त्यसले पर्यावरणलाई थप फाइदा पुग्ने एप्पलले दाबी गरेको छ ।

एप्पलका आइफोनसँगै युएसबी सी टू लाइटनिङ केवल हुने गर्दछ । जुन युएसबी ए पावर एडाप्टरसँग मिल्दैन । सन् २००७ देखि अहिलेसम्मका सबै आइफोनमा एप्पलले त्यहीँ युएसबी सी टू लाइटेनिङ केवलकै प्रयोग गरेको छ ।

त्यसैले आइफोनसँग पावर एडाप्टर नदिएपछि प्रयोगकर्ताले आइफोन चार्जरका लागि छुट्टै रकम तिर्नुपर्नेछ । यसरी अनिवार्य रुपमा चार्जर किन्नैपर्ने र त्यसका लागि छुट्टै रकम तिर्नुपर्ने भएपछि एप्पलले वातावरणीय चिन्ताका कारण आइफोनसँगै पावर एडाप्टर नदिने एप्पलको दाबी आधारहीन भएको आइफोन प्रयोगकर्ताहरुको भनाई छ ।

-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर