सरकारको विरोध गर्नुको अर्थ छैन :  सञ्चार मन्त्री
आइतबार, माघ २६, २०७६ मा प्रकाशित

बनेपा, माघ २६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले भने, ‘बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै अर्थ छैन ।

पनौती नगरपालिका१ रयाले पर्खालचौरमा शनिबार आयोजित वडा नं १ लाई बालमैत्री स्थानीय शासन वडा घोषणाकार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सो जग्गाको छानबिन सरकारले गरेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको सीआइबीले गरेको र बाँकी अदालतले फैसला गर्ने भएकाले दायराभित्र जो पर्छ त्यही जाने भने ।

उनले भने, ‘लड्यो भने रामराम, नलडेको राम्रो भनेर सरकारले उहिल्यैदेखि भन्दै आएको हो, अहिले आएर कोही लड्यो त हामीले रामराम भन्ने हो ।मन्त्री बाँस्कोटाले भने, ‘भ्रष्टाचार गर्नुभएन, जनताको सम्पत्ति कहीँकतैबाट दुरुपयोग नहोस् ।

सुख र समृद्धि प्राप्त गर्न गर्भदेखि नै लगानी गर्न आवश्यक रहेकामा जोड दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भविष्यमा मानवजातिलाई पृथ्वीमा जीवन्त बनाइराख्ने र प्रकृतिरहेसम्म जोगाइराख्ने भावी सन्तति भएकाले बालपुस्तालाई सही दिशानिर्देश गर्ने काममा लाग्न आम अभिभावक सचेत बन्न आग्रहसमेत गरे ।

उनले भने, ‘एउटा बालक राम्रो हुनुको अर्थ एउटा परिवार राम्रो हुनु हो, लाखौँलाख बालबालिका राम्रो हुनुको अर्थ सिंगो देश राम्रो हुनु भएकाले लगानी बालबालिकाको लागि गर्न आवश्यक छ ।मन्त्री बाँस्कोटाले उत्पादनमा आम नागरिकलाई लाग्न आग्रह गर्दै कृषि उत्पादन, पर्यटन, पूर्वाधार र ऊर्जालगायतका क्षेत्रमा व्यापक काम गरिरहेको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले विकासको पहिलो फड्को सडकबाट शुरु गरेको उल्लेख गर्दै ग्वार्कोशंखु दाहालटार र दाहालटारकटुञ्जे चौकीडाँडा सडकखण्ड निर्माण अगाडि बढेको जानकारी दिए । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले जिल्लाका १३५ वडामध्ये पाँचौँ नम्बरमा पर्न सफल भएको भन्दै वडा र नगरले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न राम्रो काम गरेको हुँदा अगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे ।

सो अवसरमा मन्त्री बाँस्कोटाले सो नगरपालिका वडा नं १ लाई बालमैत्री भएको उद्घोष गरे । समारोहमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न भूमिका खेल्ने सहजकर्ता, बालसमूह, बालक्लब र सहयोगी निकायलाई सम्मानका साथै जिल्ला समन्वय समितिको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो । साथै पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले नगद पाँच लाखको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वडा नं १ भित्रका विभिन्न विद्यालयका बालक्लबका विद्यार्थीले गीत तथा नृत्य प्रदर्शन गरेका थिए । यसअघि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२, २ र ३ तथा धुलिखेल नगरपालिका वडा नं १० बालमैत्री स्थानीय शासन वडा घोषणा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर