अमेरिकी राष्ट्रपतिको चुनाव : के गर्दैछन् सोसल मिडिया कम्पनीहरु ?
आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित

काठमाडौं । नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा यसपटक एकैरातमा आउने सम्भावना छैन ।

हुलाकमार्फत गरिएका मतदानको संख्या अभूतपूर्व रुपमा धेरै भएसँगै चुनावको नतिजा आउन ढिला हुनेछ र मतदान सकिएसँगै पूर्ण नतिजा आउन हप्तौँसमेत लाग्नसक्ने अनुमान गरिएको छ ।

र, पूर्ण नतिजा आइनसकेको उक्त अनिश्चयपूर्ण अवधिमा अमेरिकामा आम अशान्ति अर्थात् सिभिल अनरेस्ट हुनसक्ने जोखिम छ ।

सो अवधिमा डेमोक्र्याट र रिपब्लिकन दुबै दलले आफ्नो विजय दाबी गर्ने तथा चुनावी नतिजाबारे विभिन्नखाले गलत जानकारीहरुको समेत बाढी आउन सक्नेछ ।

आम मानिसमा बढ्ने क्रोधका साथै सोसल मिडियाहरुमा फैलिने फेक न्यूज र हेट स्पीच अर्थात् घृणा फैलाउने अभिव्यक्तिहरुले तनावको आगोमा घिउ थप्ने चिन्ता छ ।

यस्तो सम्भावनाका बीच ठूला प्रविधि कम्पनीहरुले जोखिम न्यूनिकरणका लागि कस्तो योजना बनाइरहेका छन् त ?

एउटा केन्द्रीय विकल्प भनेको निश्चित समयका लागि सोसल मिडिया एपहरु बन्द गर्ने पनि हुनसक्छ । सोसल मिडिया कम्पनीहरुले आम अशान्तिको अवस्थालाई रोक्नका लागि यस्तो उपाय समेत अपनाउन सक्दछन् । तर हालसम्म उनीहरुले सोसल मिडिया प्लाटफर्म बन्द गर्ने कुनै निर्णय भने गरिसकेका छैनन् । त्यसको साटो सोसल मिडियामा प्रस्तुत गरिने सामाग्रीहरुमा विभिन्न खालका पावन्दीहरुको घोषणा चाहीँ गरिसकिएको छ ।

ट्वीटर

अमेरिकी राष्ट्रपति चुनावको दिन अर्थात् नोभेम्बर ३ पछि चुनावको नतिजा नआउँदा सम्मको अवधिमा उम्मेदवारलाई ट्वीटरमा आफ्नो विजय दाबी गर्न ट्वीटरले रोक लगाउने भएको छ ।

साथै निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न प्रोत्साहन गर्ने खालका सामाग्रीहरु ट्वीट तथा रिट्वीट गर्नमा उम्मेदवारहरुलाई रोक लगाइनेछ ।

यदि उम्मेदवारले त्यस्ता सामाग्रीहरु ट्वीट, रिट्वीट गरेमा उनीहरुका ती सामाग्री हटाइदिने वा निलम्बन गरिदिने योजना चाहिँ ट्वीटरको छैन । उसले त्यस्ता ट्वीटमा लेबल लगाइदिनेछ र निर्वाचनको आधिकारिक नतिजा र जानकारी दिने स्रोतको लिंक राखिदिनेछ ।

फेसबुक

उता फेसबुकले अवस्था नाजुक बनेको खण्डमा जुनसुकै उपलब्ध विकल्पहरुमा जान सकिने बताइसकेको छ । तर त्यस्तो विकल्प के हुने भन्ने चाहिँ उसले खुलाएको छैन ।

यद्यपि वालस्ट्रिट जर्नलका अनुसार फेसबुकले हिंसा तथा फेकन्यूज फैलाउने भाइरल पोस्टहरुलाई दबाउनका लागि न्युजफिजको अल्गोरिदममा परिवर्तन गर्ने योजना बनाएको छ ।

साथै निर्वाचन परिणामका बारेमा भ्रमपूर्ण सूचनासँग सम्बन्धित विभिन्न ह्यासट्यागहरु निस्क्रिय पार्ने लगायतका कदम समेत फेसबुकले चाल्न सक्नेछ । फेसबुकले श्रीलंका र म्यानमार लगायतका देशमा यस्ता उपायहरु यसअघि अपनाइसकेको छ ।

फेसबुकले मतदानका बारेमा राखिएका भ्रमपूर्ण सूचनाजन्य सामाग्रीहरुमा लेबलिङ गर्ने कार्य अहिले पनि गरिरहेको छ । साथै राष्ट्रपतीय चुनावको नतिजाबारे निरन्तर अद्यावधिक विवरणको समाचार प्रशारणका लागि फेसबुकले रोयटर्ससँग सहकार्य गरेको छ ।

रेडिट

उता अर्को सोसल मिडिया प्लाटफर्म रेडिटचाहिँ फेसबुक र ट्वीटरभन्दा एक कदम अगाडि बढेको छ । चुनावी नतिजालाई गलत ढंगले प्रस्तुत गर्ने वा भ्रमित गराउने खालका सामाग्रीलाई रेडिटमा अनुमति दिइनेछैन र त्यस्ता सामाग्रीहरुलाई साइटबाट हटाइनेछ ।

साथै रेडिटले मतदान पश्चातका अद्यावधिक घटनाक्रम र नतिजाका बारेमा एउटा डेडिकेटेड पेज नै तयार गरेको छ । रेडिटले मतदानको अर्को दिनदेखि आम सर्वसाधारणका चुनाव सम्बन्धी जिज्ञासाको विज्ञमार्फत् जवाफ दिनका लागि Ask Me Anything नामक सिरिज समेत सुरु गर्नेछ ।

गुगल र युट्युब

चुनावको नतिजा सम्बन्धी आधिकारिक समाचार सम्प्रेषण गर्नका लागि गुगलले समाचार एजेन्सी एपीसँग सहकार्य गरेको छ ।

त्यसैले अमेरिकी चुनावको मुख्य दिनपछि गुगल सर्चमा Who won the election ? भनेर सर्च गर्दा एसोसिएटेड प्रेस (एपी)को चुनावी अद्यावधिक नतिजा सम्बन्धी पेज देखा पर्नेछ । साथै गुगलले मतदानको दिनपछि चुनाव, उम्मेदवार वा नतिजाका विषयमा कुनैपनि विज्ञापनमा रोक लगाउनेछ । चुनाव पश्चात् नतिजाको बारेमा भ्रम सिर्जना गर्ने भयका कारण यस्ता विज्ञापनहरुमा रोक लगाइएको गुगलको भनाइ छ ।

त्यस्तै युट्युबले मतदान सम्बन्धी भ्रमपूर्ण दाबीहरु तथा प्रजातान्त्रिक प्रक्रियामा बाधा पूराउन उक्साउने खालका सामाग्रीहरुलाई युट्युब प्लाटफर्ममा बन्देज लगाइने बताएको छ । साथै हुलाकमार्फत् मतदान गरी पठाइएका मतपेटिकाहरुका मतपत्र साटफेर गरिएको भन्ने खालका भ्रमणपूर्ण सामाग्रीहरुलाई समेत युट्युबबाट हटाइनेछ । साथै हिंसालाई प्रोत्साहन गर्ने खालका सामाग्रीहरुमा पनि पूर्ववत् रुपमा रोक लगाइएको हुनेछ ।

स्नापच्याट

अन्य सोसल मिडिया कम्पनीहरुभन्दा स्नापच्याट केही फरक देखिएको छ । यो प्लाटफर्ममा अन्यमा जस्तो न्युजफिड नभएको र यसको छुट्टै प्रकृतिका कारण पनि यसबाट गलत सूचना भाइरल भएर फैलिने जोखिम कम हुन्छ । तथापि स्नापच्याटको डिस्कभर सेक्सनमा स्नापच्याट स्टार्सका सामाग्रीहरु देखिने भएको हुँदा स्नापच्याट स्टारहरुलाई कुनैपनि हालतमा भ्रमपूर्ण र गलत सूचना नफैलाउन सचेत गराएको छ । प्लाटफर्मलाई कुनै पनि अर्थमा दुरुपयोग गरिनसक्ने जोखिमलाई मध्यनजर गर्दै स्नापच्याटले टास्कफोर्स गठन गरेको जनाएको छ ।

टिकटक

चुनावी प्रक्रियाको अवधिभर आफूले स्वतन्त्र तथ्य परीक्षकहरुसँग सहकार्य गरिरहेको टिकटकले जनाएको छ ।

मतदान तथा राष्ट्रपतीय चुनाव सम्बद्ध सबैखाले गलत र भ्रमपूर्ण सामाग्रीहरुलाई टिकटकबाट हटाइने उसले जनाएको छ ।

साथै कुनै पनि प्रयोगकर्ताले चुनाव सम्बन्धी गलत सूचना तथा सामाग्रीहरु राखेको खण्डमा अन्य प्रयोगकर्ताले उजुरी गर्नसक्ने गरी टिकटकले आफ्नो एपमा इलेक्सन मिस्इन्फर्मेसन नामक फिचर थप गर्दैछ ।

चुनावको अत्यन्तै महत्वपूर्ण समयमा टिकटक प्लाटफर्मको विश्वसनीयतालाई कायम राख्दै टिकटक समुदायलाई सहयोग गर्न प्रतिबद्ध रहेको उसले जनाएको छ ।

यावत् तथ्यहरुबाट के प्रष्ट हुन्छ भने सर्वाधिक चर्चित सोसल मिडिया प्लाटफर्महरुले अमेरिकी राष्ट्रपतीय चुनाव र त्यसपछिको अवस्थालाई गम्भीर रुपमा लिएका छन् । उनीहरुले हाल घोषणा गरेका त्यस्ता कदमहरु पर्याप्त हुन्छन् वा हुँदैनन् त्यो भने केही दिनपछि देखिनेछ ।

–बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर