म्याग्दी, माघ २६ : लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ बी वान नेपालले बेनी अस्पताललाई १७ लाख मूल्य बराबरको उपकरण सहयोग गरेको छ । यहाँ रहेका लायन्स क्लबहरूको पहलमा नवजात शिशुको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरिएको लायन्सका गभर्नर इन्दु लम्सालले जानकारी दिए । बेनीमा शनिबार सम्पन्न क्लबको बैठकको अवसरमा नवजात शिशुको उपचारमा प्रयोग हुने फोटोथेरापी, बच्चालाई तातो बनाउन प्रयोग हुने सक्सन , हेन्स सेनीराइटर र प्रिपेशन सेट प्रदान गरिएको थियो ।
अस्पतालका नर्सिङ अधिकृत खेमकुमारी पन्तले ती उपकरणले नवजात शिशुलाई जन्डिस, श्वासप्रश्वास तथा महिना नपुग्दै जन्मेको बच्चामा स्वास्थ्य समस्या देखिएमा उपचारमा सहज जानकारी दिए ।
यसैगरी लायन्स क्लबले करीब दुई करोडको लागतमा म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको गलेश्वर माविमा दुईतले आठकोठे पक्की भवन निर्माण गरेको छ । एक करोड ९३ लाखको लागतमा भवन निर्माण गरेको क्लबका गिरिधारी शर्माले जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण बनेको थियो । नयाँ भवन निर्माण भएपछि विद्यार्थीले सुरक्षित भएका प्रधानाध्यापक गणेश बानियाँले बताए । कक्षा १ देखि १२ सम्म पठनपाठन हुने सो विद्यालयमा २५६ विद्यार्थी रहेका छन् । विद्यालयमा कक्षा ८ देखि १२ सम्म प्राविधिक विषयको पढाइ हुन्छ । भवन निर्माणका लागि विद्यालयले आठ लाखमा जग्गा खरीद गरेको थियो । मालिका गाउँपालिका–७ बिमको किसानी माविमा पनि अर्को आठकोठे भवन निर्माण अन्तिम चरणमा पुगेको क्लबका सल्लाहकार संयोजक चन्द्रकुमार केसीले बताए । कृषि प्राविधिक विषयको पठनपाठन हुने किसानी माविको पुरानो भवन पनि भूकम्पले क्षति पु¥याएको थियो ।
जाजरकोट, माघ २६ : भेरी नगरपालिका–२ बाहुनथानाकी २१ वर्षीया लक्ष्मी खड्का एक महिनाको दुधे बच्चा च्यापेर गिट्टी कुटिरहनुभएको छ । उनी सुत्केरी भएको दुई हप्ताभित्रै गिट्टी कुट्ने काममा लागिरहेका छन् । तीन छोरा, छोरीकी आमा भइसकेकी उनी गिट्टी कुट्ने ठाउँका कहिले शिशुलाई च्यापेर, त कहिले चिसो भुइँमा राखेर काम गरिरहेका छन् । उनका श्रीमान् प्रेम खड्का पनि सडकका पर्खाल लगाउने काम गर्छन् ।
जाजरकोट–जुम्ला सडकखण्डअन्तर्गत खलंगा पाँचकाटिया सडकको ग्राभेलको काम अहिले जारी छ । ‘पढ्दापढ्दै छाडियो, अहिले गिट्टी कुटेर छोराछोरीसहित घरपरिवार चलाउनुपर्छ के गर्नु’, लक्ष्मीले भने । उनी जस्तै अर्की ४० वर्षीया भीमकुमारी खड्का चार छोराछोरीको पढाइका लागि गिट्टी कुटिरहनुभएको छ । ‘कुनै राजगारी छैन, यही गिट्टी कुटेर सबै परिवार पाल्नुपर्छ’, उनले भने, ‘छोरीहरू स्थानीय विद्यालयमा कक्षा ५ र ६ मा पढ्छन्, पढाइ खर्चका लागि भए पनि गिट्टीको सहारा लिएको छु, यसमै काम गने ठेकेदारले समयमा पैसा दिँदैनन् ।’
सोही सडक खण्डमा शंकर भवन मावि बाहुनथानामा कक्षा २ मा अध्ययनत् चन्द्रा घर्तीले बिहान–बेलुका गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । बिहान ७ बजे सडकछेउमा हथौडा र ढुंगाको भारी खातमा हाजिर हुने उनी साढे ९ बजे विद्यालय पुग्छिन् । उनी अपराह्न ३ बजेपछि पुनः गिट्टी कुट्न आउने गर्दछिन् । उनीसँगै कक्षा १ मा पढ्ने रुपेश पुन र कक्षा २ मा पढ्ने अस्मित पुन खर्चकै लागि गिट्टी कुट्दै आएका छन् । उनीहरूले दैनिक गिट्टी कुटेर बिक्री गरी पढाई खर्च जुटाउँदै आएका छन्
घरमा आमा बाबाले कपडा सिलाउनुहुन्छ, हामी गिट्टी कुट्छौँ उनीहरूले भने । कक्षा ६ मा पढ्ने सिर्जना परियार र उनकी बहिनी कक्षा २ मा पढ्ने रोशनी परियारसँगै गिट्टी कुट्दैछन् । उनीहरू पनि दैनिक बिहान र बेलुका गिट्टी कुट्छन्, दिउँसो विद्यालय पढ्छन् । यसरी यहाँका अधिकांश जनजाति र दलित समुदायको जीवनयापन चलिरहेको छ ।
अर्थाभावका कारण यहाँका अधिकांश बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकसमेत अर्थोपार्जनका लागि गिट्टीकै सहारा लिइरहेका छन् । छोरा, बुहारीले राम्रो गरेनन्, पेट पाल्नै प¥यो, मर्न सकिँदैन भन्दै गहँभरि आँसु झार्दै भेरी नपा–२ की ६२ वर्षीया छिता परियारले भने, ‘छोरीको बच्चा बोकेर गिट्टी कुट्न आएकी छु, घरमा छोरा र बुहारीले हेला गर्छन्, एक्लै बस्छु बाँच्नका लागि गिट्टी कुट्दैछु ।’
उनीहरूजस्तै अहिले जाजरकोट–खलंगादेखि पाँचकाटियासम्मको सडक निर्माण हुँदै गर्दा दर्जनाँै स्थानीयवासी गिट्टी कुटेर जीवन निर्वाह गरिरहेका छन् । अधिकांश ज्येष्ठ नागरिक र बालबालिका गिट्टी कुटिरहेका छन् । गिट्टी ठेकेदारले लिए पनि समयमा पैसा नदिएका कारण समस्यमा पर्दै आएको उनीहरूको गुनासो छ । गिट्टी कुटेर समयमै पैसा पाएको भए घरमा नुनतेल र खाद्यान्न खरीद गरेर दैनिक घर खर्च टार्न सजिलो हुने उनीहरूको भनाइ छ ।
सो सडकखण्डमा मात्र होइन, जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न भागमा समेत गिट्टी कुटेर दैनिक गुजारा चलाउनको संख्या ठूलो छ । वैकल्पिक पेशा नभएका स्थानीयवासी तथा भारतसँगै अन्य मुलुक रोजगारीका लागि नगएकाहरू गिट्टी कुट्ने काममा व्यस्त भएका छन् ।