‘चीनले नेपाल र भारतसँग त्रिपक्षीय सहयोगको वकालत गरेको छ’

कार्तिक २५, २०७७

फरकसमाचार


२५ कात्तिक, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैंको शुभकामना सन्देश दिँदा ‘रेसम फिरिरी’ गीत गाएको भिडियो सार्वजनिक गरिन्, जसले उनी नेपालीमाझ चर्चामा आइन् । तीजका गीतमा नाच्ने लगायतका यस्तै सांस्कृतिक उपस्थितिले राजदूत यान्छी नेपालीमाझ चर्चामा आउने गरेकी छिन् ।

तर, कुनैबेला नेकपाका नेताहरुलाई भेटेकोमा राजदूतको भूमिकामाथि आलोचना पनि हुने गरेको छ । खासगरी भारतीय मिडियाले नेपालमा चिनियाँ हस्तक्षेप बढेको र नेपाल चीनको पोल्टामा गएको आरोप अलि बढी लगाउने गरेका छन् ।

समसामयिक सन्दर्भहरुमा उठेका यस्तै राजनीतिक एवं कूटनीतिक जिज्ञासालाई लिएर अनलाइनखबरले राजदूत यान्छीसँग अन्तरवार्ता गरेको छ । यस अन्तर्वार्तामा कोभिड १९ बिरुद्ध चीनले लडेको लडाइँको अनुभवसमेत उनले विस्तृतरुपमा सेयर गरेकी छिन् ।

चीनले नेपालका सबै राजनीतिक दलहरुसँग मित्रता राखेको र भेटघाटहरु गर्नु कूटनीतिक मर्यादाविपरीत नभएको बताउँदै राजदूत यान्छीले अनलाइनखबरसँग भनिन्, ‘हस्तक्षेप नगर्नुको अर्थ सञ्चार सम्पर्क नै स्थापित नगर्ने भन्ने होइन । नेपालमा चीनको एक प्रतिनिधिको हिसावले मैले सबै राजनीतिक दल र समाजका सबै क्षेत्रसँग मित्रवत सम्बन्ध राख्छु र हामी दुईपक्षीय सहकार्य र साझ चासोको विषयमा विचार आदान-प्रदानका लागि बेला-बेलामा भेटघाट पनि गर्छौं । यो सामान्य आदान-प्रदान हो र विदेश मामिलामा गरिने सहकार्यलाई धेरै व्याख्या गर्नुपर्ने आवश्यकता छैन ।’

पछिल्लो समयमा भारत र चीनवीच सीमा विवादलाई लिएर केही समस्याहरु देखिइरहेका बेला त्यसको असर नेपालमा पर्छ कि पर्दैन भन्ने प्रश्नको जवाफमा राजदूत यान्छीले नेपालको विकासका लागि चीन, भारत र नेपालले त्रिपक्षीय साझेदारीलाई सक्रियरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

नेपाल र चीनवीचको सम्बन्ध बिगार्न केही तत्वहरु लागिरहेको बताउँदै उनले यसमा दुबै देश चनाखो हुनुपर्ने बताइन् । उनले भनिन्, ‘केही तत्वहरुले चीन-नेपाल सम्बन्धलाई अण्डरमाइन गर्न खोजिरहेका छन्, हाम्रो वीचमा विवादको बिउ रोप्न खोजिरहेका छन् । त्यसैले, यी विषयमा हामी दुई मुलुक एकदमै चनाखो हुनुपर्छ ।’ प्रस्तुत छ, राजदूत यान्छीसँगको अन्तर्वार्ता-

कुराकानी कोभिड-१९ बाट शुरु गरौं, यसको शुरुवात चीनबाट भयो र चीनले यसको सफलतापूर्वक नियन्त्रण गर्यो । तर, नेपाल सरकारले भने यसबाट नागरिकलाई जोगाउन संघर्ष गरिरहनुपरेको छ, यसमा तपाईको सुझाव के छ ?

सबैभन्दा पहिला मैले तपाईको प्रश्नलाई करेक्सन गर्नुपर्छ । कोरोना भाइरसको संक्रमणका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउने पहिलो मुलुक चीन हो । यसको अर्थ यो होइन कि भाइरसको उत्पत्ति चीनमा भएको हो । भाइरसको उद्गमस्थल पत्ता लगाउने विषय निकै जटिल वैज्ञानिक विषय हो र विश्वभरका वैज्ञानिकहरुले यसको अन्तरराष्ट्रिय अनुसन्धान गर्नुपर्छ र आपसमा सहकार्य गर्नुपर्छ ।

उदाहरणका लागि, दि डेल्ली टेलिग्राफमा अक्सफोर्ड विश्वविद्यालयका एक विज्ञले चीनमा देखिनु भन्दा पहिला नै एसियाको कुनै भागमा यो भाइरस रहेको हुन सक्ने उल्लेख गर्दै लेख प्रकाशित गरेका छन् । सो भाइरसको उत्पत्ति खोज्ने सम्बन्धमा चीनले जहिले पनि पारदर्शी र खुला दृष्टिकोण राखेको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त राष्ट्रसंघको महासभाको जेनरल डिबेटमा बोल्दै के कुरामा पुनः जोड दिनुभएको छ भने भाइरसको उत्पत्ति र ट्रान्समिसनसम्बन्धी विश्वव्यापी वैज्ञानिक अनुसन्धानमा चीन सक्रियतापूर्व सहभागी हुन्छ । साथै, उहाँले भाइरसको स्रोत पत्ता लगाउने ग्लोबल सहकार्य र महामारी विरुद्धको लडाइँमा योगदान गर्न तयार रहेको पनि बताउनुभएको छ ।

जहाँसम्म कोभिड-१९ विरुद्धको लडाइँसम्बन्धी चीनको अनुभवको विषय छ, यो मैले नेपाली साथीहरुसँग धेरै पटक शेयर गरिसकेको छु । यो भाइरस निकै संक्रामक छ र यसको अवधि निकै लामो रहन्छ । संक्रमणको चेनलाई भत्काउनका लागि हामीले एउटा क्षेत्र केन्द्रित, विभिन्न तहको एप्रोचका माध्यमले देशभर रोकथामका उपाय अपनायौं र देशभर यसलाई नियन्त्रण गर्‍यौं ।

यसका लागि आवश्यक पर्ने कामहरुको एउटै सेट नै छ- सकेसम्म छिटो पत्ता लगाउने, रिर्पाेर्टिङ गर्ने, क्वारेन्टिन र उपचार गर्ने । र, यो पनि सुनिश्चित गर्नुपर्छ कि सबैजनालाई ठीक ढंगले अस्पताल लगियोस, उपचार होस, परीक्षण होस र क्वारेन्टिन गरियोस् । कानूनअनुसार अन्य विभिन्न कदम पनि चालियोस्, जस्तो ट्रेसिङ, दर्ता, प्रत्येक व्यक्तिलाई भेट्ने, उनीहरुलाई सामुदायिक व्यवस्थापनका राख्ने र आवश्यक परेमा उनीहरुलाई तोकिएको मेडिकल सुविधामा सार्ने र प्रक्रिया पुर्‍याएर उपचार गर्ने । मानिस क्वारेन्टिनमा बसेको, नबसेको हेर्ने र केही निश्चित क्षेत्र भ्रमण गरेपछि मानिसहरुलाई १४ दिन सेल्फ आइसोलेसनमा राख्ने ।

साथै, सबैखालका सार्वजनिक सुविधाहरु, जस्तो- विमानस्थल, सुपरमार्केट, सार्वजनिक सवारीलाई डिसइन्फेक्ट गर्नुपर्छ । उनीहरुले केही निश्चित हाइजिन पालन गर्नुपर्छ । राम्रो भेन्टिलेटरको व्यवस्था गर्नुपर्छ । एक ठाउँबाट अर्को ठाउँको भ्रमण गर्नेको तापक्रम अनुगमन गर्नुपर्छ र निश्चित स्थानमा मानसिहरुको संख्यालाई सीमित गर्नुपर्छ ।

यति मात्र होइन, चीनमा प्रवेश गर्ने र चीनवाट बाहिरिने बिन्दुहरुमा स्वास्थ्य र क्वारेन्टिनसम्बन्धी कदमहरु चालियो । जस्तै- मानिसहरुले व्यक्तिगत सुरक्षाका कदमहरु पनि चालियो, जस्तो- बाहिर जाने समयमा मास्क लगाउने, पर्याप्त सामाजिक दुरी कायम राख्ने, भिडभाडमा नजाने, बारम्बार हात हुने र नियमित भेन्टिलेसनको व्यवस्था गर्ने ।

चीनले माथि उल्लेख गरिएका रोकथाम र नियन्त्रणका कदमहरु आफ्नो राष्ट्रिय अवस्था अनुकुल अपनायो र सफलतापूर्व यो महामारीलाई नियन्त्रणमा लियो । यस महामारीले मानिसको स्वास्थ्यमा मात्र असर गरेको छैन । यो राजनीति, अर्थतन्त्र र सामान्य मानिसको जीवनयापनसँग पनि जोडिएको छ ।

प्रत्येक मुलुकको आ-आफ्नै राष्ट्रिय र सामाजिक अवस्था, राजनीतिक प्रणाली र मेडिकल तह हुन्छ । विश्व स्वास्थ्य संगठनले मुलुकहरुलाई उनीहरुको आफ्नो महामारीको अवस्था र राष्ट्रिय अवस्थामा आधारित रोकथामका उपायहरु बनाउन सिफारिस गरेको छ । महामारीको रोकथाम गर्ने विषय साधारण गृहकार्य नक्कल गरेको जस्तो होइन र चीनले एकदमै छिटो अपनाएका रोकथामका मोडलहरु अन्य देशका लागि उपयुक्त नहुन सक्छन् ।

सामान्यतः म के विश्वास गर्छु भने हरेक मुलुकले आफ्नो नागरिकको जीवन र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्छ, रोकथाम र नियन्त्रणका नीति निर्धारण गर्नुपर्छ र त्यस्तो गर्दा फ्रन्टलाइनमा रहने मेडिकल वर्कर्स र प्रहरीलाई प्राथमिकता दिनुपर्छ । र, नागरिकलाई स्वअनुशासन बस्नका लागि जागरण फैलाउनुपर्छ, जसले मास स्केलमा रोकथाप र उपचार गर्न सकियोस् ।

मलाई यो कुरा शेयर गर्न पाउँदा खुसी लागेको छ कि सो महामारी शुरु हुनेवित्तिकै चीनले एउटा साझा समुदायको अवधारणलाई उच्च प्राथमिकता दिएको छ र मानिसका लागि साझा भविष्यमा जोड दिएको छ र विश्वलाई नै सहयोग प्रदान गरेर प्रभावकारीरुपमा महामारी नियन्त्रण गरेको छ । चीन यतिबेला कोरोना भाइरसको भ्याक्सिनसम्बन्धी अनुसन्धान र विकासमा सक्रियतापूर्वक लागिरहेको छ र सन्तोषजनक नतिजा पनि प्राप्त गरिहेको छ ।

चिनियाँ राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य महासभाको उद्घाटन समारोहमा नै घोषणा गर्नुभएको छ कि चीनमा कोभिडको भ्याक्सिन विकास र वितरण हुनासाथ यसलाई विश्वव्यापीरुपमा उपलब्ध बनाइनेछ । विकासोन्मुख मुलुकहरुमा भ्याक्सिनको उपलब्धता र पहुँच सुनिश्चित गर्नु चीनको ठूलो योगदान हुनेछ । चीनले आफ्ना प्रतिवद्धताहरु पूरा गर्नेछ, भ्याक्सिनलाई एउटा विश्वव्यापी वस्तुका रुपमा ल्याउनेछ र मानव जातिलाई कोरोना भाइरसलाई हराउन सहयोग गर्नेछ ।

कोभिड-१९ को कारण देखाएर चीनले रसुवागढी र तातोपानी भन्सारमा सामग्रीहरुको ओसार-पसारमा बेलाबखत रोक लगाएको छ, यसले सामान्य नेपाली जनता र व्यापारीलाई निकै असर गरेको छ, यसमा तपाईको धारणा के छ ?

म तपाईलाई के स्पष्ट पार्न चाहन्छु भने दुबै बन्दरगाहमा चीनले कहिले पनि कार्गो यातायात बन्द गरेको छैन । चीनले जहिले पनि नेपालसँगको कनेक्टिभिटीलाई उच्च प्राथमिकता दिएको छ र सामाग्रीको ओसार-पसारको चासोलाई निकै प्राथमिकता दिने गरेको छ ।

नेपालमा आवश्यक पर्ने दैनिक आवश्यकता र अन्य मेडिकल सप्लाईका लागि चीनले जहिले पनि नेपालसँग मिलेर काम गर्दै आइरहेको छ । यी दुबै पोर्टबाट हुने यातायात कहिलेकाँही प्राकृतिक प्रकोप, महामारी लगायतका कारणले अवरुद्ध हुन्छ र दुवै देशका सक्षम अधिकारीहरुले यस विषयमा प्रभावकारी सञ्चार गरिरहेका छन् । सेप्टेम्बरको अन्तिमतिर जिलोङ टाउनदेखि जिलोङ बन्दरगाहसम्मको राजमार्ग पहिरोका कारण अवरुद्ध भएको थियो । एकदमै तिव्ररुपमा मर्मतको काम भयो र तिब्वतमा स्थानीय अधिकारीले अक्टोवर १ देखि सो क्षेत्र खुला गरे र सो बन्दरगाह एकतर्फी रुपमा खुल्ला भयो ।

जहाँसम्म झांगमु बन्दरगाहको कुरा छ, यस्तो दुईपटक भयो । किनभने, थुप्रै नेपाली ट्रक ड्राइभर र कर्मचारीमा कोरोना पोजेटिभ देखियो र कार्गोको ओसार-पसार बन्द भयो । अहिले दुवै पक्षले एकदमै नजिकको सहकार्य गरिरहेका छन् र अपडोल गर्ने साइट र त्यहाँ जाने मानिसको डिसइन्फेक्सनको काम भइरहेको छ । मलाई खुसी लागेको छ कि झांगमु पोर्टको ट्रायल यातायात केही दिनअगाडि पुनः सुचारू भएको छ ।

हामी सबैलाई थाहा छ कि चीनमा यो महामारी देखिनेवित्तिकै चीनले एकदमै प्रभावकारी रोकथाम र नियन्त्रणका उपायहरु अपनाउँदै आएको छ, जसको उद्देश्य पूर्णरुपमा विजय प्राप्त गर्नु हो । अब हिउँदको शुरुवातसँगै विश्वमा महामारीको दोस्रो लहर हुरु भएको छ । त्यसैले चीनले पनि विमानस्थल, स्थल बन्दरगाह, समुन्द्री बन्दरगाहमार्फत संक्रमणको आयातीत केस नआओस् भन्नका लागि रोकथाम र नियन्त्रणका उपायहरु अपनाएको छ ।

उच्च अल्टिच्युड, न्यून तापक्रम र सापेक्षितरुमा कमजोर मेडिकल र हेल्थ प्रणालीका कारण भाइरसको सीमापार फैलावट रोक्ने काम सिनजाङको एक महत्वपूर्ण चासो हो र चीन-नेपाल वन्दरगाह विनाअवरोध सञ्चालनको ग्यारेन्टी गर्न आवश्यक छ । मलाई आशा छ, यो महामारी पूर्णरुपमा नियन्त्रण भएपछि सीमाको ढुवानीलाई पुरानै अवस्थामा पुनर्स्थापित गर्न सकिन्छ ।

पछिल्लो समय चीनले हुम्ला जिल्लामा नेपाली भुभाग मिचेको विषय सार्वजनिक भएको छ, यसलाई चिनियाँ सरकार र नेपाल सरकार दुवैले खारेज गरेका छन्, यस विषयमा यहाँको धारण के हो ?

 

तपाईले कुन मुलुकको मिडियाबाट यसखालको रिपोर्ट आएको छ, त्यो पत्ता लगाउनुभयो भने त्यसको सार र नियत सजिलै पत्ता लगाउन सक्नुहुन्छ । ती मिडियाले असत्य र गलत तथ्यहरु प्रस्तुत गरेको यो पहिलोपटक भने होइन । यो पछाडिको नियत के हो भन्ने पनि स्पष्ट नै छ नि ।

तपाईले उल्लेख गर्नु भएजस्तै चिनियाँ र नेपाल सरकारका सम्बन्धित विभागले चीनले सीमा मिचेको भन्ने कथित आरोपका सम्बन्धमा स्पष्ट पारिसकेका छन् र ती आधिकारिक धारणा हुन् । चीनले जहिले पनि नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको छ । एकदमै मित्रवत परामर्शका माध्यमले चीन र नेपालले सन् १९६० मा नै सिमा विवादको समाधान गरेका हुन् । त्यसयता चीन-नेपाल सीमा कुनै पनि विवादबाट मुक्त छन् । सीमामा बस्ने दुवै देशका नागरिका आपसमा सौहार्द्रता आदान प्रदान गरेका छन् र सीमामा लामो समयदेखि शान्ति, स्थायित्व कायम गरेका छन् ।

दुवै देशका सक्षम अधिकारीहरुले सीमाको विषयमा स्थापित संयन्त्रमार्फत एकदमै नजिकको सञ्चार र समन्वय गरिरहेका छन् । यो वर्षदेखि केही मिडिया र संस्थाहरुले विनाकुनै प्रमाण चीनले नेपाली भुभाग मिच्यो भन्ने खबरलाई प्लेअप गरिरहेका छन् । यसले हामीलाई के पनि सम्झाएको छ भने केही तत्वहरुले चीन-नेपाल सम्बन्धलाई अण्डरमाइन गर्न खोजिरहेका छन्, हाम्रो विचमा विवादको बिउ रोप्न खोजिरहेका छन् । त्यसैले यी विषयमा हामी दुई मुलुक एकदमै चनाखो हुनुपर्छ ।

केही मानिसले भनिरहेका छन् कि चीनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको छ, उनीहरुले तपाईको सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरुसँगको भेटलाई उदाहरण दिएका छन्, यसमा तपाईको भनाइ के छ ?

हेर्नुस, नेपाल एउटा सार्वभौम मुलुक हो । सन् १९५५ मा दुई देशको विचमा कूटनीतिक सम्वन्ध स्थापना भएयता हामी दुईको वीचमा सहअस्तित्वको पञ्चशील सिद्धान्तका आधारमा एकदमै मित्रवत् सम्बन्ध रही आएको छ । एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई दुवै मुलुकले निरन्तररुपमा सम्मान र स्वीकार गर्दै आएका छन् ।

हस्तक्षेप नगर्नुको अर्थ सञ्चार सम्पर्क नै स्थापित नगर्ने भन्ने होइन । नेपालमा चीनको एक प्रतिनिधिको हिसावले मैले सबै राजनीतिक दल र समाजका सबै क्षेत्रसँग मित्रवत सम्बन्ध राख्छु र हामी दुईपक्षीय सहकार्य र साझ चासोको विषयमा विचार आदान-प्रदानका लागि बेला-बेलामा भेटघाट पनि गर्छौं । यो सामान्य आदान-प्रदान हो र विदेश मामिलामा गरिने सहकार्यलाई धेरै व्याख्या गर्नुपर्ने आवश्यकता छैन ।

यही सन्दर्भमा कुरा गर्दा केही भारतीय मिडियाले नेपालको सत्तारुढ दललाई चीनले नियन्त्रण गरेको बताउँछन्, तपाईको भेटघाटले उनीहरुको दाबीलाई बल पुर्‍याउँदैन त ? यसैमा जोड्दा भारत र चीन वीचको बढ्दो तनावले नेपाललाई कस्तो असर गर्ला ?

राजनीतिक दलहरुवीचको आदान-प्रदान दुईपक्षीय सम्बन्धको एकदमै महत्वपूर्ण अंग हो । नेपालका सबै राजनीतिक दल र क्षेत्रको चीनप्रति एकदमै मित्रवत् धारणा छ, उनीहरु चीनसँग एकदमै राम्रो सम्बन्ध स्थापित गर्न चाहान्छन् र उनीहरु पूर्णरुपमा एक चीन नीतिप्रति दृढ छन् । हामी नेपालका राजनीतिक पार्टीहरूसँग मैत्री सम्बन्धको कदर गर्दछौं। यो नेपाली राजनीतिक दलहरूले राष्ट्रिय हितको आधारमा गरेको नीतिगत छनौट हो।नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली जनता आफैंले निर्वाचित गरेका हुन् । सत्तारुढ राजनीतिक दलसँग बढी आदान- प्रदान हुनु एकदमै सामान्य कुरा हो ।

हामीले अन्य राजनीतिक पार्टीहरूसँग पनि मुलुकको शासन व्यवस्था र जन-आदान प्रदान कायम राखिरहेका छौं। उदाहरणका लागि चीन र नेपालका राजनीतिक दलहरुवीचको पहिलो वेल्ट एण्ड रोडसम्बन्धी संयुक्त संयन्त्रको पहिलो बैठक हालै सम्पन्न भएको छ । यसले स्पष्टरुपमा के देखाउँछ भने दुबै देशका राजनीतिक दल र स्थानीयहरुका वीचमा चीन-नेपाल बीआरआई सहकार्य बढाउनुपर्छ र चीन-नेपाल सम्बन्धलाई थप विकास गर्नुपर्छ भन्ने सहमति विस्तारै बढ्दैछ ।

नेपालसँग एकदमै मित्रवत सम्बन्ध स्थापना गर्नका लागि नेपाल एदमै प्रतिवद्ध रहेको र कुनै बाहिरी तत्वले यसलाई सजिलै बिथोल्न सक्दैनन् । चीन र भारत दुबै विकासशील मुलुक हुन् र एक विलियनभन्दा बढी जनसंख्याका लागि इर्मजिङ मार्केट हुन् । दुई मुलुकका वीचमा रहेका साझा हितले केही टकरावहरू र मत भिन्नतालाई पछाडि पार्छ ।

चीन जहिले पनि भारतसँग मित्रता बढाउन र दुईपक्षीय र बहुपक्षीय सहकार्य गर्न तयार छ । चीन र भारत दुवै नेपालका छिमेकी मुलुकहरु हुन् । चीनले भारत र नेपालसँग सक्रियतापूर्वक त्रिपक्षीय साझेदारीको विषय उठाएको छ, जसको उद्देश्य नेपालको विकासमा सक्रिय सहयोग गर्नु हो । निश्चय नै यो पहललाई नीति र यथार्थमा परिणत गर्नका लागि तीनवटै मुलुकले काम गर्न आवश्यक छ ।

अब बेल्ट एण्ड रोड इनिसियटिभको विषयमा कुरा गरौं, नेपालमा अहिलेसम्म यसको कुनै पनि परियोजना छनोट भएको छैन । किन ढिलो भइरहेको छ ?

बीआरआई परियोजना भनेको योजनावद्ध दीर्घकालीन, वृहत र सुदुर भविष्यसम्म सहकार्य गर्ने पहल हो न कि केही थोरै मुख्य परियोजनाहरु । बीआरआईले एकदमै वृहत परामर्श, संयुक्त योगदान, साझा फाइदाको सिद्धान्तलाई बढावा दिन्छ अनि पारस्परिक फाइदा र वीन-वीन नतिजामा जोड दिन्छ । यसले सबै राजनीतिक दलको चासोलाई ध्यान दिन्छ र सबै पक्षले यसको जिम्मेवारी वहन गर्न आवश्यक छ ।

बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएदेखि कनेक्टीभिटी, पूर्वाधार निर्माण र विपतपछिको पुनर्निर्माण, व्यापार, लगानी र दुई देशको जनता जनतावीचको आदान-प्रदानमा महत्वपूर्ण प्रगतिहरु भएका छन् । उदाहरणका लागि व्यापार र लगानीको क्षेत्रमा महत्वपूर्ण प्रगति भएको छ । सन् २०१९ मा चीनको नेपालमा नन-फाइनान्सियल लगानीमा ९६.१ प्रतिशतले वृद्धि भएको छ । व्यापार तथा लगानीका क्षेत्रमा, सन् २०१९ मा नेपालमा भएका चिनियाँ इन्जिनियरिङ सम्झौताहरूको सम्झौता मूल्य तथा व्यवसाय आकार वार्षिकरूपमा क्रमशः १२.९ र ३९.६ प्रतिशतले बढेका छन् ।

त्यसैगरी समग्र दुईपक्षीय व्यापारको भोल्युम ३७.९ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १ लाख ७० हजार चिनियाँ पर्यटक नेपाल भ्रमणमा आए । चीन नेपालमा पर्यटक पठाउने दोस्रो ठूलो मुलुक हो । अहिले ६ हजार ४ सयभन्दा बढी नेपाली विद्यार्थीले चीनमा अध्ययन गरिरहेका छन् । चीनको सहयोग, कन्ट्रयाक्ट र लगानीका परियोजनाहरु, जस्तो- चाइना ऐड, तातोपानी फ्रन्टियर इन्पेक्सन स्टेसन परियोजना, चीन एड काठमाडौं रिंग रोड सुधार परियोजनाको पहिलो चरण, दरवार हाइस्कुल परियोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, होङसी शिभम परियोजना सम्पन्न भएका छन् । महत्वपूर्ण परियोजनाहरु, जस्तो- पोखरा इन्टरनेसनल परियोजना, गौतमवुद्ध इन्टरनेशनल परियोजनामा ठोस प्रगति भइरहेको छ ।

चीनले १३० भन्दा बढी मुलुकसँग बीआरआई परियोजना अगाडि बढाएको छ । विभिन्न मुलुकमा धेरै महत्वपूर्ण पूर्वाधार परियोजनाहरु शुरु गरिएका छन् । र, ती देशका स्थानीय जनताले त्यसको स्वागत पनि गरेका छन् । मलाई के लाग्छ भने परियोजनाको गति र प्रभावकारितालाई राजनीति स्थायित्व, नीति, निरन्तरता, सरकारी समन्वय, व्यापारको वातारण, लगानी क्षमता र मुलुकमा रहेका अन्य तत्वहरुले प्रभावित पारिरहेका हुन्छन् । नेपाल र चीनका सम्बन्धित विभागहरुले विभिन्न परियोजनाको काममा एकदमै नजिकबाट संचार र समन्वय गरिरहेका छन् र धेरै परियोजनाहरु क्रमशः अगाडि बढ्दैछन् । मलाई लाग्छ, निर्धारित समयमा बढी काम सम्पन्न हुन्छ ।

बीआरआईको कुरा गर्दा सीमापार रेलवे लगायतका अन्य महत्वाकांक्षी परियोजनालाई अगाडि बढाइएको छ, के यो सपना साकार होला ?

चीन-नेपाल सीमापार रेलवे दुवै देशका नेताहरुको साझा चासोको विषय हो र दुवै देशका नागरिकको साझा आकांक्षा हो । दुवै मुलुकले सम्भाव्यता अध्ययनको शुरुवात भएको घोषणा गरेका छन् र दुई मुलुकका नेताहरुका वीचमा भएको सहमतिअनुसार अन्य आवश्यक कामहरु पनि अगाडि बढेका छन् । तर, यससँगै हामीले के पनि नोट गर्नुपर्छ भने यो परियोजना विश्वकै एकदमै जटिल भौगर्भिक क्षेत्रमा अवस्थित छ र हाई अल्टिच्युड रहेको छ, अल्टिच्युडमा ठूलो भिन्नता छ । एकदमै कम तापक्रम छ र यहाँ बारम्बार प्राकृतिक विपदका घट्ना हुने गर्छन् । सम्भाव्यता अध्ययन, र रेलवेको निर्माण गर्दा यी सबै विषयलाई पूर्णरुपमा ध्यान दिनुपर्छ र प्राविधिक समस्यामा ब्रेक थ्रु गर्नका लागि बैज्ञानिक विधिबाट अध्ययन गर्नुपर्छ । म पूर्णरुपमा के विश्वस्त छु भने दुई देशले संयुक्त काम गरेमा यो प्राकृतिक जटिलतालाई एक दिन समाधान गर्न सकिन्छ ।

रेलवे परियोजनालाई सुदृढ गर्नुका साथै दुवै मुलुकले चीन-नेपाल राजमार्गको निर्माणलाई पनि त्यति नै महत्व दिन आवश्यक छ । किनभने, चीन-नेपालका वीचमा पोर्ट कनेक्टिभिटीमा पनि सुधार गर्न आवश्यक छ । मैले जिलोङ र झाँगमु पोर्टको बाटोबाट नै यात्रा गरेको छु । सडकको अवस्था अझै पनि कमजोर थियो, जसले केही हदसम्म सामानको ओसार-पसारको क्षमता र ट्रान्जिट र यातायात सम्झौताको प्रोटोकलको कार्यान्वयनमा केही अवरोध सिर्जना गरेको छ। दुबै देशका सम्बम्धित विभागहरूले सडक अपग्रेडिंग र पोर्टको पूर्वाधार निर्माणमा सँगै काम गरिरहेका छन्।

अन्तमा, केही भन्न चाहनुहुन्छ ?

विश्वले अहिले एक महत्वपूर्ण परिवर्तनको समय सामना गरिरहेको छ, जुन यो शताब्दीमा नै एकदमै दुर्लभ घटनाक्रम हो । अन्तर्राष्टिय अर्थतन्त्र, संस्कृति, सुरक्षा र राजनीतिको प्याट्रनमा एकदमै गहन एडजस्मेन्ट भइरहेको र विश्व एकदमै टर्बुलेन्ट परिवर्तनको समयमा प्रवेश गरेको छ । उदाउँदो बजार भएका मुलुक र विकासोन्मुख मुलुकहरुका लागि विश्व एउटा पूर्णरुपमा अवसर र चुनौतीहरु हो ।

यद्यपि शान्ति र विकास हाम्रो समयमा महत्वपूर्ण अवधारणा हो । मानव जीवनको भविष्य र गन्तव्यलाई ध्यानमा राख्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले मानव समुदायको साझा भविष्यको अवधारणालाई अगाडि सार्नुभएको छ । चीनले शान्तिमा आधारित स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्दै आएको छ । एउटा जिम्मेवार मुलुक हुनुको नाताले चीनले शान्ति, विकास, निष्पक्षता, न्याय, स्वतन्त्रताको विश्वव्यापी मान्यतालाई सुदृढ गर्दै आएको छ र दृढरुपमा शान्तिपूर्ण, खुला, सहकार्य र साझ विकासको बाटोलाई पहिल्याउँदै आएको छ ।

चीन र नेपाल असल छिमेकी मुलुक, साथी र साझेदार हुन् । गत वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणका समयमा दुई देशको सम्बन्धलाई विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौं पुस्ताको रणनीतिक साझेदारी सम्बन्धमा पुर्याउने सहमति भएको छ । त्यसैले हाम्रो सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । यो वर्ष चीन र नेपालको वीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको छ । दुई देशका नेताहरुको संयुक्त मार्गनिर्देशनमा चीन नेपालसँग अझ गहन ढंगले काम गर्न इच्छुक छ । यसको उद्देश्य पारस्परिक फाइदाजनक सहकार्य र बीआरआई निर्माणलाई अगाडि बढाउनु हो, जसको उद्देश्य नेपाल र अन्य छिमेकी मुलुकहरुका लागि हितकर विकास गर्नु हो ।

जसरी दूरीले एउटा घोडाको ताकत परीक्षण गर्छ, त्यसैगरी समयले व्यक्तिको हृदयलाई प्रकट गर्दछ। हामी नेपाललगायत विश्वका सबै देशहरूसँग मिलेर काम गर्न इच्छुक छौं, मानव जातिको साझा भविष्यको साथ समुदाय निर्माण गर्ने छौँ र मानवजातिका लागि शान्ति र विकासको सुन्दर भविष्य निर्माण गर्नेछौँ।

नेपाली मिडियाले चिनियाँ दुतावास र स्वयं मेरो कामप्रति गरेको ध्यानाकर्षण र सहयोगप्रति म धेरै आभारी छु । साभार अनलाईन खबर