बघुवा लैगिल, म्वार छावा लैगिल

कार्तिक २६, २०७७

फरकसमाचार


२६ कात्तिक बर्दिया(फरक समाचार) मधुवन नगर पालिका ३ धानौरा गाउँमा अघि बढ्दा झिसमिसे साँझमा एउटा घरको  आँगनमा बलेको आगो टाढैबाट देखियो । गाउँमा अगाडि बढ्दै जाँदा मानिसहरुको गुनगुन टाठो सुनिदै गयो ।

उनीहरुले रमेश र दिनेशलाई भर्खरै जलाएर आएका थिए । ओगोको उज्यालोमा मलिन अनुहारहरु धमिलो देखिन्थे ।

लैगिल, म्वार छावा लैगिल’ आमा रन्या थारुले मलिन स्वरमा अड्किँदै भनिन् । सुकरा र रन्या थारुले जेठो छोरा रमेश गुमाए । पूजाले आफ्नै अगाडि श्रीमान गुमाइन्। उनको श्रीमानलाई उनकै अगाडिबाट बाघले लग्याे ।

 

‘मेरै अगाडिबाट लग्यो । हेर्दा हेर्दै लग्यो ।’ मलिन स्वरमा उनले भनिन् हामीले झाडी हल्लिएको मात्र देख्यौँ । उनले आफ्नो श्रीमान् बचाउन सकिनन् ।

हल्लिरहेको झाडीतिर जान खोजिन् तर अरुले रोके । पूजाले हारगुहार बाहेक केही गर्न सकिनन् । सँगै हिँडेका श्रीमानलाई पछाडिबाट तानेर बाघले लग्याे । टुकरुक्क आँगनमा बसेकी आमा रन्या थारुले पूजातिर इसारा गर्दै भनिन्–‘बचाउन जाँदै थिइ हामीले जान दिएनौँ ।’ जान दिएको भए सायद पूजाको पनि ज्यान पनि जानसक्थ्यो । जसरी उनको श्रीमान रमेशको गयो ।

कात्तिक ११ गते । दिनेश थारु झिसमिसे बिहानमा करिव ६ बजे च्याउ टिप्न जाने भन्दै घरबाट निस्किए । घर अघिको बाटोमा निस्किए अनि दाँया लागे दक्षिणतिर ।

केहि पर धनौरा बेलझुण्डी सामुदायिक वन छ । बुवा कसवा थारुलाई थाहा थियो छोरो त्यतै जाँदै छ भन्ने । जाँदै गरेको छोरोलाई हेरे र आफ्नो काममा लागे । घरका अरुपनि आ–आफ्नो काममा थिए । वन करिव आधा किलोमिटर टाढा छ ।

घण्टौँ बित्यो दिनेश फर्किएनन् । दसैँको बेला कतै बाटोमा साथीहरुसँग भुल्यो होला भन्ने परिवारलाई लाग्यो । खाना खान पनि आएनन् दिनेश । बिहान छ बजे हिँडेको छोरा ११ बजिसक्दा पनि नफर्किएपछि परिवारमा सुर्ता भयो । बारम्बार फोन गर्दा घण्टि गयो दिनेशको फोन उठेन ।

टोलमा खैलाबैला भयो । परिवार दिनेश गएको बाटो पछ्याउँदै खोज्न जाने भयो । नजिकै खेतको बिचमा दिनेशका साला रमेशको घर छ । उनले खबर पाए ।

उनीसहित छ जनाको टोली दिनेशलाई खोज्न निस्किए । रमेश, पूजा, पूजाकी सासु, पूजाको सानो दाइ, दिनेशको बुवा । उनीहरुले सोचेका पनि थिएनन् दिनेशलाइ बाघले लगेको छ भन्ने ।

घरदेखि केही पर दक्षिणतिरको जंगल । नेपाल–भारत सिमानाको ८१ नम्बर पिलर । वारी नेपालको सामुदायिक वन पारी भारत उत्तर प्रदेशको कतार्नियाघाट ‘वाइल्डलाइफ सैक्चुरी’ । भारत तर्फको जंगल नेपालको तुलनामा घना छ । आवश्यकता पुरा गर्न स्थानीयहरु भारतको जंगलमा पनि भर पर्नु पर्छ ।

दिनको ३ बजिसकेको थियो । खोज्न हिँडेको लहरमा रमेश सबैभन्दा पछाडि थिए । ‘जंगलमा मेरो बुढा सबैभन्दा पछाडि हुनुहुन्थ्यो’ पूजाले भनिन् । जंगलको झाडी पन्छाउँदै उनीहरु दिनेशको खोजीमा लागेका थिए ।

उहाँलाई पछाडि बाटै लग्यो पूजाले बचाउ भन्ने आवाज मात्र सुनिन् । झाडी हल्लिएको मात्र देखिन् । पूजा श्रीमानलाई बचाउन कुद्दै थिइन अरुले रोके । हेर्दा हेर्दै बचाउको आवाजसँगै पूजाले आफ्नो २४ बर्षका श्रीमान गुमाइन् ।

दिनेशका बुवा कसवाले सबैलाई त्यहाँबाट सबैलाई घर फर्काए । दिनेश लिन गएका उनिहरुले रमेशलाई पनि गुमाए । नाताले दिनेश रमेशका भिनाजु हुन् । दिनेशको परिवारले माइलो छोरा गुमायो भने रमेशको परिवारले जठो छोरो गुमायो । रमेश र पूजाका दुई छोरी छन् । सानै उमेरमा उनीहरुले आफ्नो बुवा गुमाए । छोरीको जिम्मेवारी पूजाको काँधमा आएको छ ।

खेतको बिच खरियाको बारमा माटोले लिपेको भित्ता भएका तिनवटा घर छन् । जग्गा त्यही घरबास मात्र हो । मजदुरी गरेर घर खर्च उनीहरुले धान्दै आएका छन् । रमेश परिवारबाट अलग्गिएर श्रीमती पूजा र दुई छोरीका साथमा अर्को घरमा बस्दै आएका थिए । छुट्टिए पनि आँगन जोडिएको घरमा बस्ने छाेरो सुकरा र रन्या थारुका लागी बुढेसकालका सहारा थिए । कान्छो छोरा काठमाडाैँ मजदुरी गर्छन् ।

उता दिनेशको परिवारको पनि उस्तै अवस्था छ । २७ वर्षकादिनेश घरका माइला छोरा थिए । रमिता थारुलाई दुई छोरीको स्याहार श्रीमान बिना नै गर्नु पर्ने छ । ४ कठ्ठा जमिन छ । परिवार पाल्न उहि मजदुरी गर्नुपर्छ ।

६ बजे घरबाट हिँडेका दिनेश ७ बजे नै बाघका आक्रमणमा परेको परिवारको आशंका छ । हराएका दिनेशलाइ खोज्न गएका रमेश पनि बाघको आक्रमणमा परे । दिनेशलाई मारेकै ठाउँमा रमेशलाई बाघले तानेको थियो ।

साँझ ५ बजे हामी सबै जम्मा भयौँ’ बडघर प्रसादी थारुले भने । नजिकै रहेको भारतीय एसएसबीको टोली आयो । नेपालको तर्फबाट प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयको टोली आयो । उनले भने–‘करिब ६० जनको संख्यामा जम्मा भएर हँसीया, बनचरो भाला लगायत घरेलु हतियार बोकेर हामी जंगलमा पस्यौँ । हल्ला गर्दै एसएसबीले ल्याएको पटाका पट्काउदै गएपछि बाघ भागेको स्थानीय आशाराम चौधरीले बताए ।

दिनेश र रमेशको लास नेपाल भारत सीमाको ८१ नम्बर पलिर नजिकै भारतीय भूमिमा थियो । स्थानीयका अनुसार बाघले नेपालको जंगलमा मारेर दिनेशलाई भारतको जंगलमा लगेर खाएको थियो । स्थानीय राजु गिरीले भने टाउको छिनालिएको र छातिको अधिकांस भाग खाएको अवस्थामा १० मिटरको दूरीमा साला–भिनाजुको शरीर भेटिएको थियो ।

कात्तिक ५ गते मात्रै सोही गाउँकी २८ वर्षिया गंगा बुढाको बाघको आक्रमणमा परि ज्यान गएको थियो । उनी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । अशाेजको महिनामा माछा मार्न गएका एक किशोरको बाघको आक्रमणमा परि ज्यान गएको थियो ।

पछिल्लो १ महिनामा मात्र त्यस क्षेत्रमा बाघको आक्रमणबाट ५ जनाको ज्यान गइसकेको छ । पछिल्लोसमय बाघले त्यसक्षेत्रको जंगल आसपासका वस्तिहरुमा आतंक मच्चाएपछि स्थानीयहरु त्रसित छन् ।

सीमल चाेकबाट देखिएकाे भारतकाे कतर्नियाघाट वन्यजन्तु आरक्ष । यही बाटाे हुँदै स्थानियहरु भारतकाे बिछिया बजार सामान लिन जान्छन् । काेराेना भाइरसका कारण हाल याे बन्द छ ।

दिनेश र रमेशको घरभन्दा दक्षिण पश्चिममा समिल चोक छ । चोकैमा राजु गिरीको किरानासँगै चिया पसल । उनको पसलबाट मुस्किलले दुइसय मिटर पर भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष छ ।

आरक्षको आसपासका नेपाली खेतमा उनले धेरै पटक बाघ आएको चाल पाएका छन् । हामीलाई चोक आसपासनै दिउँसै हिँड्न पनि डर लाग्छ उनले भने ।

गिरीको पसल अगाडिको बाटो हुँदै त्यसभेगका मानिसहरु भारतको बिछिया सामान किन्ने जाने गरेका छन् । भारत उत्तरप्रदेशको सानो बजार बिछिया करिब दुई किलोमिटर टाढा छ । जसमा करिब एक किलोमिटर जंगलको बाटो पर्छ । तर कोरोना भाइरसका कारण त्यो बाटो अहिले बन्द छ । त्यस क्षेत्रमा मानिसको चहलपहल कम भएर पनि बाघको मुभमेन्ट बढेको हुनसक्ने स्थानीयको बुझाइ छ ।

बाघले त्यसक्षेत्रका घर आसपास आएर घरपालुवा जनावर मारेर खाने गरेको गिरीले बताए ।

राहात

रमेश र दिनेशलाई बाघले मारेको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दैन । मध्यवर्ती क्षेत्रभन्दा बाहिरको घटनामा हाम्रो क्षेत्रअधिकारमा पर्दैन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले भने यो डिभिजन वन कार्यालयले हेर्छ र राहात पनि उतैबाट आउँछ ।

तर मध्यवर्ती क्षेत्रभित्र मारिएका लहानु थारुलाई भने निकुञ्जले राहात दिएको छ । ‘पहिलो चरणमा किरिया खर्च भनेर ५० हजार दिएका छौँ’ श्रेष्ठले भने ‘आवश्यक कागजपत्र पुरा गरेपछि १० लाख राहात दिने छौँ ।’

सरकारको नियम अनुसार जंगली जनावरको आक्रमणमा परि ज्यान गुमाएका परिवारलाई १० लाख राहातको व्यवस्था छ तर निकुञ्जु भित्र जनावरको आक्रमणले ज्यान गएमा भने राहात पाईँदैन श्रेष्ठले भने ।

लहानु बाहेकका अन्य मृतकको हकमा भने नगरपालिकाले राहात दिने वाचा गरेकाे छ । मधुवन नगरपालिकाका मेयर गणेश केसीले घरपरिवारको केही समस्या र बालबालिकाको पढाइमा सहयोग गर्ने बताए ।

वन तथा वातावरण मन्त्रालयको प्रवक्ता प्रकाश लम्सालले डिभिजन वन कार्यालयले नै राहात दिने बताए । साभार देसासञ्चार