धुरु धुरु नरोउ आमा, तिम्रो आँशु पुछेर छाडौंलाः
शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित

रमेश कुमार थापा,

लेखक पूर्व संरक्षण अधिकृतका रुपमा बर्दिया निकुन्जमा कार्यरत थिए ।

त्यतिबेला म  प्रध्युम्न पनेरु माध्यमिक विध्यालय, रंगेठाँटी, स्याङ्गजामा ८ कक्षामा पढ्थें । शुक्रवारको दिन थियो । अतिरिक्त कृयाकलाप अन्तर्गत लोक गीत प्रतियोगिता राखिएको थियो । मैले पनि प्रतियोगितामा भाग लिनका लागि तयारी गरेको थिएँ ।

शुक्रबारको अतिरिक्त कृयाकलापमा बिध्यार्थीलाइ सहभागि गराउने, उनीहरुमा लुकेको प्रतिभा र क्षमता उजागर गर्ने अवसर प्रदान गर्ने शिक्षक उमाकान्त शर्मा र दिल बहादुर क्षत्रीको पहलमा यो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको शुरुमा हाम्रो प्रधान्यापक मेरो श्रद्देय गुरु त्रीभुवन शर्माले लोक गीत र लोक सस्कृतिका बारेमा गहन कुराहरु ब्यक्त गर्नु भयो ।

त्यसपछि शिक्षक दुर्गा प्रसाद पौडेलले “धुरु धुरु नरोउ आमा, तिम्रो आँशु पुछेर छाडौंला ” भन्ने बोलको गीत गाउनु भयो । दुर्गा सरको स्वर निकै कर्णपृय थियो भने प्रस्तुति निकै मार्मिक थियो । वहाँको प्रस्तुतिले धेरैको भावनालाई छोइदियो । हामी गाऊमा बस्ने, रात दिन नभनिकन आफ्ना सन्तानका लागि भोक, प्यास, दुःख, पीडा सबै बोझ आँफै बोकेर हामीलाइ पढ्नका लागि स्कूल पठाउने आमाको मुहार सम्झिएँ ।

मेरो मन अधैर्य भयो, आँखा रसाएर आए । म लगायत धेरै जनाले त्यस दिनको प्रतियोगितामा भाग लिएर राम्रो प्रस्तुति दिन सकेनौं । त्यसपछिका दिनमा दुर्गा सरको नेतृत्वमा हामी बिध्यालय निर्माणका लागि लगातार महिनौं दिनसम्म भैलो खेलेर आर्थिक सहयोग संकलन गर्न गाऊँ, गाऊँ डुलेका थियौं । दुर्गा सर र हाम्रो बा एउटै बिध्यालयमा पढाउने शिक्षक हुनुहुन्थ्यो ।

एकपटक बिरामी भएर उपचारका लागि काठमाण्डौ आएका बखत दुर्गा सरसंग भेट भएको थियो । यो नै मेरो वहाँसंगको अन्तिम भेट हुन गयो । जीवनमा पहिलो पटक वहाँको स्वरमा सुनेको गीत जनकवि केशरी धर्मराज थापाको मौलिक स्वरमा घन्किंएको सुन्दा पनि मेरो मानसपटलमा स्वर्गिय दुर्गा सरको मुहार झल्किने गर्दछ ।

हरेक अभिभावकको मनमा आफ्ना सन्ततिको शुखद भविश्यको सपना भए जस्तै सबै सन्तानको मनमा आफ्नो जन्मदात्री आमाको आशु पुछेर सुखी र खुसी राख्ने सपना अवश्य हुनुपर्दछ। सदियौं देखि चलि आएको चलन भएर हो वा हाम्रो चिन्तनशैलि नै त्यस्तो भएर हो  हाम्रो समाजमा सन्तानहरुले अभिभावक प्रति गर्ने कर्म र ब्यवहारमा ठ्याक्कै त्यस्तो निकै कम हुने गरेको पाइन्छ ।

लठ्ठिको सहारामा घर भित्र बाहिर गर्ने उमेर र अवस्थाका हाम्रा बा आमाहरु अझै पनि सन्ततीका लागि सम्पति जगेर्ना गरिदिने, बस्तुभाउको रेखदेख गर्ने अनि बिग्रे भत्केको सपार्नमा आफ्नो बलबुता र क्षमता खर्चिरहेको पाइन्छ । तर सन्ततीहरु अलि साँगुरो सोच लिएर श्रीमती, छोरा, छोरीमा सिमित रहि अभिभावक प्रति कम चासो राख्ने वा बेवास्ता गर्ने क्रम बढ्दै गएको देखिन्छ । ठाऊ ठाउमा रहेका बृध्दाश्रमहरुमा भेटिने सम्पन्न परिवारका सन्तानबाट तिरस्कृत बृध्द बा आमाहरुका आँशुले यहि कुरालाई दर्साइरहेको र यस्तै ब्यथाहरु आँशु बनेर बग्ने गरेको पाइन्छ ।

पोखराको बाटुलेचौरमा बि.सं.१९८१ सालमा जन्मिएका धर्मराज थापा नेपालका कुना कन्दरासम्म पुगेर त्यहाँको लोक लय र लोक सस्कृतिका बारेमा अध्ययन गरी आफ्नो कलम र स्वरको माध्यमबाट दैशभरी छर्ने काम गरेका रहेछन । उनका कबिता र गीतहरुमा देशको माटो, हिमाल, पहाड, नदीनाला, ताल तलैया, तराईको समथर भूमि अनि बिकट बस्ति, डाँडाकाँडामा बस्ने नेपालीहरुको भावना र मर्म झल्किने गर्दछ ।

शायद देशको भौगोलिक बनावट र बिकासमा पछि परेका कारण जनताले भोग्नु परेको रोग, भोक, अशिक्षा, गरिबि, दरिद्रता र पछौटेपनको पीडा देखेर उनको मनमा पलाएको मातृभूमि प्रतिको श्रध्दाभावबाट ओतप्रोत भएर यो नेपाल आमाप्रति समर्पित रचना सृजना गरेका होलान । जस्ले हाम्रो जनमथात नेपाल आमा अनि हामीलाइ जन्मदिने हाम्रा घर घरका आमाहरुको पीडामा सान्त्वना प्रदान गर्ने र हामी सन्त्तिहरुलाई हाम्रो दायित्वका बारेमा कर्तव्यको पाठ सिक्न प्रेरणा दिने गर्दछ ।

जतिबेला नेपालमा एकदलिय पञ्चायति ब्यवस्था थियो । त्यो ब्यवस्थालाई हामीले निरङ्कुश, अधिनायकबादी, एकतन्त्रीय शासन ब्यवस्था भएकोले देशको बिकास भएन, जनताले शुख पाएनन भनेर पञ्चायति ब्यवस्थालाई आरोपित गर्यौं ।

पञ्चायति ब्यवस्थाले गर्दा नेपाल आमा सधैं रोइरहने र हामीले आँशु पुछ्न नसक्ने भएकोले बहुदलिय ब्यवस्था चाहिएको, बहुदलिय ब्यवस्था आएपछि द्रुत गतिमा देशको बिकास हुने सपना बाँड्दै गयौं । बिकासको उज्यालो खोजिरहेका जनताले हाम्रो कुरा पत्याए, हामीलाई साथ दिए । देशको उन्नति र प्रगतिको बाधक भनिएको त्यो पञ्चायति व्यवस्थालाई उखेलेर फालियो अनि बहुदलिय प्रजातान्त्रिक ब्यवस्थाको शुरुवात भयो । यो ब्यवस्थामा पनि जनताले खोजेको र देशलाइ चाहिएको शासनशैली देखिएन ।

एकातिर पार्टी, पार्टी बीच र नेता नेता बीच स्वार्थको लडाई चल्यो भने अर्को तिर देश द्वन्दमा फस्यो । हजारौं नेपाल आमाका सन्तानहरु अनाहकमा मारिए । कैयौं मानिस घाइते र अपाङ्ग छन भने कैयौंको अवस्था अज्ञात र बेपत्ताको स्थितिमा छ । पार्टीहरु गैर जिम्मेवार भएको आरोप सहित राजाले सक्रिय शासन सत्ता चलाउन शुरु गरेपछि फेरी पार्टीहरु एकजुट भएर जनताको शरणमा पुगे । आफुहरुले गरेको गल्तिमा क्षमायाचना गर्दै अब इमान्दार बन्दछौं, जनतालाई घात गर्दैनौं भनि आत्मालोचना गरेपछि जनताले फेरी पनि बिश्वास गरेकै हुन साथ दिएकै हुन ।

ब्यापक जनताको सहयोग, समर्थन र सहभागितामा २०६२।६३ को आन्दोलन भयो । राजा सक्रिय शासन सञ्चालन गर्ने प्रकृयाबाट पछाडी हटेर फेरी जनताको नाशो जनतालाई भन्दै राजनीतिक पार्टीका हातमा शासन सत्ता शुम्पिए । बिद्रोहि नेकपा माओबादी र सरकार बीच शान्ती सम्झौता भयो । देश शान्ति प्रकृयामा आएपछि देशको कायापलट गर्न, नेपाली जनताको भाग्य निर्माण गर्न र नेपाल आमाको आशु पुछ्नका लागि शंबिधान शभाबाट शंबिधान निर्माण एकमात्र बिक्लप हो भनियो । त्यो कुरा पनि जनताले पत्याए, जनता चुनाबमा सहभागि भए, शंबिधानशभा सदस्य चयन गरी पठाए र संबिधान शभाबाट संबिधान पनि बन्यो । संसदमा ६४ प्रतिसत स्थान सहित नेपालको इतिहासमा कम्युनिष्ट पार्टीको एकमना बहुमतको सरकार पनि बन्यो । अब त नेपाल आमाको आँशु पुछ्ने नीति, कार्यक्रम आउला, देश द्रुत गतिमा बिकाश पथमा अगाडी बढ्ला, अन्याय, अत्याचार, गरिबि, अशिक्षा अन्त्य होला, रोग र भोकले जनता मर्नु पर्ने छैन, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको राम्रो प्रबन्ध होला भन्ने आशा र भरोसा गरिएको थियो । तर दुर्भाग्य जनताले पाँच बर्ष शासन चलाउन संसदको ६४ प्रतिसत बहुमत दिएको सरकारले अरुले हात समातेर काम गर्नै दिएनन भन्ने आरोप लगाएर जिम्मेवारीबाट भाग्ने कस्तो अचम्म होला ? प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री चाहिए जतिको मन्त्री मण्डल छँदै थियो । मन्त्रालय छन, बिभाग छन, कार्यालय छन, शंबैधानिक निकाय छन र ति निकायहरुमा काम गर्ने अधिकारीहरु पनि छँदै थिए ।  सरकारको नीति तथा कार्यक्रम र बजेट पारीत भएकै थियो फेरी कस्ले समात्यो त सरकारको हात ? यस्तो हावादारी बहाना बनाएर २ बर्ष अबधि बाँकी हुँदाहुँदै अल्पायुमै संसद भङ्ग गरिएको छ र फेरी चुनाब गर्ने कुरा गरिएको छ । करीब दुइतीहाइ बहुमत हुँदा काम गर्न नसक्ने सरकारले अब चुनाब गराएर कस्तो बहुमत प्राप्त गर्न र कस्तो सरकार बनाएर कस्तो काम गर्न खोजेको होला ? सबै एउटै पार्टीका सांसद मात्रै भएको सरकारले बिकास गर्ने भए त पञ्चायत छँदै थियो त होइन र ?

हामीले हेर्यौं भने २०४६ सालको परिवर्तन पछि हालसम्म ठूला राजनीतिक पार्टी र सरकारमा हालिमुहालि गर्ने ब्यक्तिहरु अधिकांस उनै छन । पञ्चायतले बिकास गरेन यसलाई ढालेर बहुदलिय ब्यवस्था ल्याउनु पर्यो भन्ने ब्यक्तिहरु, बहुदलिय ब्यवस्थामा पार्टी र सरकारको जिम्मेवारीमा बसेका मान्छेहरु, २०६२।०६३ को आन्दोलनमा सक्रिय रहने ब्यक्तिहरु, नेपालको अन्तरीम शंबिधान २०६३ बमोजिम सरकारमा र प्रतिपक्षमा बसेका ब्यक्तिहरु, शंबिधान शभामा निर्वाचित भएर आएका ब्यक्तिहरु, २०७२ सालमा नेपालको शंबिधान जारी गर्ने मुख्य ब्यक्तिहरु, नेपालको शंबिधान २०७२ जारी भएपछि हालसम्म सत्ता र प्रतिपक्षमा बस्ने ब्यक्तिहरु अनि ऐले करीब दुइतीहाइको बहुमत हुँदा सरकार चलाउन नसकि संसद भङ्ग गरेर मध्यावधि चुनाब गराउनु पर्दछ भन्ने र संसद बिघटन गर्न हुन्न भन्ने ब्यक्तिहरु अधिकांश उहि छन । राजनीतिक पार्टी र राजनितीज्ञको त एउटा निश्चित सिध्दान्त हुनुपर्ने हो । तर आफ्नो मौलिक सिद्धान्तलाई तिलाञ्जली दिएर  जे जस्तो शासन ब्यवस्था आउछ त्यसैमा समाहित भएर भाग खाने र लाभ लिने नेताहरुको प्रबृत्तिलाई पार्टीको सिध्दान्तमा रुपान्तरण गर्न खोजिएको देखिन्छ ।

नेताहरुमा राज्यसञ्चालनका लागि पाएको पदिय जिम्मेवारीलाई आफ्नो बपौती जस्तै आफु र आफ्नाका लागि कमाइखाने भाँडोको रुपमा प्रयोग गर्ने अनि त्यसको बिरोध भयो वा टिकाटिप्पणी भयो भने प्रतिशोध साँध्ने संस्कार बिकाश भएको छ । सामान्य जीवन शैली अपनाउदै आएको ब्यक्ति एकपटक मन्त्री हुनासाथ आफन्त र भाइभतिजा रहेको सचिवालय बनाउनु पर्ने, श्रीमती, शसुराली, शालासालीका लागि सरकारी गाडी र इन्धन सुबिधा चाहिने, दोहोरो सुरक्षा चाहिने, बाहिर निस्किंदा अघिपछि गाडीका लावालस्कर र माला बोकेर चाकडी बजाउने हुल चाहिने कस्तो अचम्म ?  सर्वसाधारण र जनताले भेट पनि गर्न नपाउने, कुनै काम गराउनु पर्यो भने बिचौलिया समाउनु पर्ने,नियुक्ति, रोजगारी दिनु पर्यो भने बिचौलिया, दलाल र पैशावाललाई मौका दिने अनि योग्य, सक्षम, शहिद तथा घाइते र बेपत्ता परिवारलाई उधारो आश्वासन मात्र दिने नेताहरुको संस्कार नै बनिसकेको छ । अब चुनाब भए पनि टीकट पाउने, जित्ने, प्रधानमन्त्री, मन्त्री हुने यिनीहरु नै हुन । चुनाब भएर कुनै पनि पार्टीले सरकार बनाउन सकेन भने वा सरकार बनाए पनि कुनै प्रधानमन्त्रीलाई चर्चित हुन र रमाईलो गर्न मन लागेर फेरी  संसद भङ्ग गरेर मध्यावधि चुनाब घोषणा नगर्ला भन्ने कुनै ग्यारेन्टी छ त ? छैन । यहि पारा हो भने देश सधैं गरिब, जनता सधैं दुखि भैरहनु पर्नेछ । हामी बिदेशी ऋणको भारले थिचिएर उठ्न सक्ने छैनौं । धर्मराज थापाको अब “धुरु धुरु नरोउ आमा, तिम्रो आँशु पुछेर छाडौंला” भन्ने गीतलाई नेपालका नेताहरुले  “धुरु धुरु रोइ बस आमा, तिम्लाई कहाँ हासन दिऊँला र ” भन्ने अवस्थामा पुर्याई छोडे । अब नेताहरु ऐलेसम्म गरेका गल्तिको पश्च्यताप गरी साँच्चै नसुध्रिने हो भने हाम्रो राष्ट्र र राष्ट्रियता संकटमा पर्ने र हामी माथि बिदेशिले राज गर्ने दिन नआउला भन्न सकिन्न । अझै पनि धेरै बिग्रेको छैन । नेकपाका अग्रज नेताहरुलाई देश र जनताको माया छ भने “टेष्टेड नेताहरु” अग्रपङ्तिबाट हटेर नया नेतृत्वलाइ देश हाँक्न देउ स्थिति सम्हालिन सक्दछ । होइन भने तिमीहरुलाई इतिहासले सधै सरापिरहनेछ । नेताहरुका कारणले सधैं गरीब हुनुपर्ने कस्तो दुर्भाग्य हाम्रो देश नेपालको , सधैं अभाव  र दुःखमा बाँच्नु पर्ने कस्तो अभागि कर्म हामी नेपालीको ? बिन्ति छ नेताजीहरु कृपया एकपटक देशका लागि त्याग गरिदिनुहोस । देश र जनताका लागि राजनीति गरेका हौं भन्ने तपाईहरुबाट देश र जनताले यहि खोजेका छन, यहि मागेका छन । समयले तपाईहरुको निधारमा लागेको कलंक पखाल्ने शुवर्ण अवसर प्रदान गरेको छ यो अवसर नगुमाउनुहोस । तपाईको बर्तमान उज्जवल हुनेछ,  इतिहासले तपाइको सम्मान गर्नेछ । यदि यस्तो अवस्था आयो भने एउटा नया जोश, जाँगर, उत्साहका साथ देश अगाडी बढ्नेछ अनि हामी पनि “धुरु धुरु नरोउ आमा, तिम्रो आँशु पुछेर छाडौंला” भन्दै देश निर्माणको अभियानमा हातेमालो गरौंला ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय