अग्रगमनका पक्षमा लाग्न प्रवासी स्रष्टाको आह्वान
बिहिबार, माघ २९, २०७७ मा प्रकाशित

काठमाडौं, माघ २९ : ६९ जना प्रवासी स्रष्टाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गरेका छन्।

नागरिकद्वारा आयोजना गरिँदै आएका शान्तिपूर्ण प्रदर्शनहरूमाथि भइरहेका निर्मम दमन र धरपकडले वर्तमान सरकारको निरङ्कुश चरित्रलाई नङ्ग्याएको भन्दै स्रष्टाहरूले बिहीबार एक विज्ञप्ती जारी गर्दै कोभिड-१९ ले विश्व नै आक्रान्त भइरहेको बेला सरकारको सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्य र सुरक्षामा केन्द्रित हुनुपर्नेमा आफ्नो कार्यकालको अधिकांश समय आफ्नो दलभित्रको खिचातानी र आन्तरिक कलहमा व्यतित गरिरहेका प्रधानमन्त्रीबाट एकपछि अर्को निरङ्कुश एवं गैरजिम्मेवारपूर्ण कदम चालिनु खेदजनक रहेको बताएका छन्।

‘दश वर्षको सशस्त्र द्वन्द्व, दोस्रो जनआन्दोलन हुँदै करिब दशक लामो संक्रमणकाल पार गरेर ऐतिहासिक संविधानसभामार्फत बनेको नेपालको संविधान २०७२ को मर्म र भावना विपरीत प्रधानमन्त्री ओलीले २०७७ पुस ५ मा गरेको असंवैधानिक संसद विघटनपछि नागरिकको ठूलो त्याग र बलिदानपश्चात् हासिल भएका हालसम्मका सामाजिक-राजनैतिक उपलब्धिहरूसमेत खतरामा परेको छ’, जारी विज्ञप्तीमा भनिएको छ, ‘नयाँ संविधानपछि ऐतिहासिक बहुमतको सरकार गठन भएपछि राजनीतिक स्थायित्वसँगै मुलुक विकास र समृद्धितर्फ अघि बढ्ने जनअपेक्षाको ठीक विपरीत चालिएको स्वेच्छाचारी कदमले जनमतको ठाडो अपमान गरेको मात्र नभएर देशलाई नै गम्भीर राजनीतिक संकटमा पुर्‍याएको छ।’

नागरिकले चुनेका जनप्रतिनिधिहरूको कार्यकाल बाँकी छँदाछँदै संसद विघटन गरेर चुनावको बेमौसमी बाजा बजाइनु, संवैधानिक निकायहरूमा असंवैधानिक नियुक्तिहरू गरिनु, सरकारको महत्वपूर्ण समय र राज्यकोषको दोहन गर्दै प्रधानमन्त्री नै असान्दर्भिक देश दौडाहामा लाग्नुबाट सरकारको स्थायित्व, सुशासन र समृद्धिको नारा फगत रहेको विज्ञप्तिमा भनिएको छ।

स्रस्टाहरूले भ्रष्टाचार, बेथिति र राजनैतिक सङ्कट व्याप्त वर्तमान परिस्थितिमा मुलुकका विभिन्न स्थानहरूबाट सबै किसिमका राजनैतिक बेथिति, निरङ्कुशता र संसद विघटन जस्तो प्रतिगामी कदमको विरोधमा नागरिक तहबाट सुरू गरिएका हरेक स्वरूपका शान्तिपूर्ण आन्दोलनहरूप्रति ऐक्यबद्धता रहेको बताएका छन्।थाहाखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय